1. त्यही दिन येशू त्यस घरबाट निस्केर झीलको किनारतिर जानुभयो,
2. जहाँ तुरुन्तै एउटा ठूलो भीड जम्मा भयो। उहाँ एउटा डुङ्गामा चढ्नुभयो र त्यसमा बसेर किनारमा उभिएर सुनिरहेका मानिसहरूलाई शिक्षा दिन थाल्नुभयो।
3. उहाँले धेरैवटा दृष्टान्तहरू भन्नुभयो, तीमध्ये एउटा यो हो : ‘‘एउटा किसान बीउ छर्नको निम्ति बाहिर निस्क्यो ।
4. उसले बीउ छर्दा केही बीउ बाटोमा परे र चराचुरुङ्गीहरू आएर ती खाए।
5. अरु कति ढुङ्गेनी जमीनमा परे र ती चाँडै उम्रिए,
6. तर ढुङ्गेनी जमीन भएकोले तिनको जरा राम्ररी गाडिन पाएन र घामको रापमा परेर ती चाँडै ओइलिएर मरे।
7. अरु बीउ काँडाघारीमा परे र ती उम्रिए तापनि घारीले निसासिएर बढ्न पाएनन्।
8. तर केही बीउ मलिलो जमीनमा परे र छरिएको भन्दा तीस, साठी र सय गुणासम्म फल फलाए।
9. जसको सुन्ने इच्छा छ, त्यसले सुनोस् र बुझोस्।’’
10. उहाँका चेलाहरू उहाँकहाँ आए र सोधे, ‘‘मानिसहरूसँग कुराकानी गर्दा तपाईं किन दृष्टान्तहरूमा बोल्नुहुन्छ?’’
11. तब उहाँले तिनीहरूलाई अर्थ खोलिदिनुभयो, ‘‘तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू जान्न दिइएको छ, तर अरुहरूलाई दिइएको छैन।
12. जसले मेरो शिक्षामा ध्यान दिन्छन्, तिनीहरूलाई अझै बढी समझ दिइनेछ र तिनीहरूसित प्रशस्त ज्ञान हुनेछ। तर जसले सुन्दैनन्, तिनीहरूसँग भएको ज्ञान पनि खोसिनेछ।
13. त्यसकारण म यी दृष्टान्तहरूमा बोल्दछु : ‘किनकि मेरा काम हेरेर पनि तिनीहरूले देख्दैनन्, सुनेर पनि सुन्दैनन्, न त बुझ्छन् नै।’
14. यसरी यशैयाको यो भविष्यवाणी पूरा हुँदछ: ‘तिमीहरूले मेरो वचन सुन्नेछौ, तर बुझ्नेछैनौ, तिमीहरूले मेरा काम देख्नेछौ, तर बुझ्नेछैनौ,
15. किनभने यी मानिसहरूको हृदय कठोर भएका छन्, तिनीहरूले कान थुनेका छन् र आँखा बन्द गरेका छन् - त्यसकारण तिनीहरूका आँखाले देख्न सक्दैनन्, तिनीहरूका कानले सुन्न सक्दैनन् र तिनीहरूका हृदयले पनि बुझ्न सक्दैनन्, तिनीहरू मतिर फर्किन सक्दैनन्, नभए त म तिनीहरूलाई निको पार्ने थिएँ।’
16. तर तिमीहरूका आँखा धन्यका हुन्, किनभने तिनीहरूले देख्छन् । तिमीहरूका कान धन्यका हुन्, किनभने तिनीहरूले सुन्छन्।
17. साँच्चै, म तिमीहरूलाई भन्दछु, पहिले धेरै जना अगमवक्ताहरू र पवित्रजनले आज तिमीहरूले देखेका र सुनेका कुरा देख्न र सुन्न खूबै चाहना गरेका थिए तर पाएनन्।
18. मैले बीउ छर्ने किसानको बारेमा भनेको दृष्टान्तको अर्थ सुन :
19. बाटोमा परेको बीउले तिनीहरूलाई जनाउँछ, जसले परमेश्वरको राज्यको बारेमा सुसमाचार सुने र त्यो बुझेनन्। तब दुष्ट आउँछ र तिनीहरूका हृदयबाट त्यो वचन खोसेर लैजान्छ ।
20. ढुङ्गेनी जमीनले तिनीहरूलाई जनाउँछ, जसले वचन सुन्छन् र खुशीसाथ ग्रहण गर्छन्।
21. तर ढुङ्गेनी जमीनमा राम्ररी जरा गाडिन नपाएको कलिलो बिरुवाझैँ शुरुमा त ती ठीकै हुन्छन्, तर जब समस्या आइलाग्दछ अथवा तिनीहरूले वचनमा विश्वास गरेको कारण सतावटमा पर्छन् तब ती ओइलाउँछन्।
22. काँडाघारीले सुसमाचार सुनेर त्यसलाई स्वीकार गर्नेहरूलाई जनाउँछ तर तत्कालै तिनीहरूको आफ्नै जीवनका टन्टा र धनको लोभले त्यस वचनलाई निसासिदिन्छ र त्यसले फल फलाउन सक्दैन।
23. असल जमीनले परमेश्वरको वचन सुनेर साँचो रूपले स्वीकार गर्नेहरूका हृदयलाई जनाउँछ, तिनीहरूले प्रशस्त फसल उब्जनीगर्छन् - ती छरिएको भन्दा तीस, साठी र सय गुणासम्म फल फलाउँछन्।’’
24. येशूले अर्को पनि दृष्टान्त भन्नुभयो: ‘‘स्वर्गको राज्य एउटा किसानजस्तो हो, जसले आफ्नो खेतमा गहुँ छर्यो।
25. तर त्यसै रात सबै सुतेको बेला, उसको शत्रु आएर गहुँ छरिएको जमीनमा सामा छरिदियो।
26. जब बाली बढ्न थाल्यो र बाला लाग्ने बेलामा सामा पनि देखा पर्यो।
27. किसानका नोकरहरू आएर उसलाई भने, ‘हजूर, तपाईंले राम्रो गहुँको बीउ छर्नुभएको खेतमा त सामा पनि उम्रिएको रहेछ।’
28. किसानले छक्क पर्दै भन्यो, ‘कुनै शत्रुले यो गरेको हो !’ नोकरहरूले सोधे, ‘गोडेर सामाजति उखेलौं कि?’
29. उसले जवाफ दियो, ‘अहिले होइन, अहिले नै तिमीहरूले सामा उखेल्दा गहुँ पनि उखेलिएला ।
30. बरु दुवैलाई फसलको समयसम्म सँगसँगै बढ्न देओ। तब म खेतालालाई अह्राएर सामाजति उखेलेर जलाउन लगाउँछु र गहुँजति भेला गरेर भकारीमा थुपार्न लगाउँछु’।’’
31. येशूले भन्नुभएको अर्को दृष्टान्त यो हो, ‘‘स्वर्गको राज्य बारीमा छरिएको रायोको बीउजस्तै हो।
32. यो बीउमध्ये सबैभन्दा सानो हुन्छ, तर बारीमा रोपिएका अरु सागपातका बोटबिरुवाभन्दा यो ठूलो भएर झाँगिन्छ र चराहरू आएर यसका हाँगाहरूमा बस्न सक्छन्।’’
33. उहाँले तिनीहरूलाई अर्को पनि दृष्टान्त भन्नुभयो,‘‘स्वर्गको राज्य रोटी बनाउने पीठोमा मिसाइने खमीरजस्तै हो। रोटी बनाउने स्त्रीले धेरै पीठोमा थोरै खमीर मिसाएर राम्ररी नघोलिएसम्म गुम्स्याएर राख्दछे।’’
34. येशू भीडहरूको सामुन्ने बोल्नुपर्दा सधैँ यस्तै दृष्टान्तहरूमा बोल्नुभयो। दृष्टान्त प्रयोग नगरी उहाँले भीडलाई शिक्षा दिनुभएन।
35. यसबाट अगमवक्ताहरूले भनेको कुरा पूरा हुनआयो:‘‘म आफ्नो मुख दृष्टान्तहरूमा खोल्दछु, लुकाएका गुप्त रहस्यहरूको व्याख्या म गर्नेछु, जुन कुरा संसारको उत्पत्तिदेखि नै गुप्तमा थिए।’’
36. त्यसपछि भीडलाई बाहिर छोडेर उहाँ घरभित्र पस्नुभयो। उहाँका चेलाहरूले उहाँलाई अनुरोध गर्दै भने, ‘‘कृपया, सामाको दृष्टान्तको अर्थ के हो हामीलाई बताइदिनुहोस् ।’’
37. उहाँले भन्नुभयो,‘‘ठीक छ, सुन, म, मानिसको पुत्र, असल बीउ छर्ने किसान हुँ।
38. खेत संसार हो र असल बीउ भनेका राज्यका मानिसहरू हुन्, सामा दुष्टतर्फका मानिसहरू हुन्।
39. गहुँ छरिएको खेतमा सामा छर्ने शत्रु शैतान हो। फसलको समय भनेको युगको अन्त्य हो र खेतालाचाहिँ स्वर्गदूतहरू हुन्।
40. जसरी सामालाई बटुलेर आगोमा जलाइन्छ, त्यस्तै यो संसारको अन्त्यमा हुनेछ।
41. म, मानिसको पुत्रले मेरा दूतहरूलाई पठाउनेछु र तिनीहरूले मेरो राज्यबाट पाप उत्पन्न गराउने सबै कुरा र दुष्ट काम गर्नेहरू सबैलाई हटाउनेछन्।
42. तिनीहरूले उनीहरूलाई कहिल्यै ननिभ्ने आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ।
43. तब धर्मीजन मेरा पिताको राज्यमा सूर्यझैँ चम्किनेछन्। जसको सुन्ने इच्छा छ, त्यसले सुनोस् र बुझोस्।
44. स्वर्गको राज्य एउटा यस्तो गाडधनजस्तो हो, जुन एक जना मानिसले खेतमा लुकाइराखेको भेट्टायो र त्यो गोप्य राख्यो अनि हर्षले विभोर भई आफ्नो श्रीसम्पत्ति बेच्यो र त्यो खेत किन्यो।
45. फेरि, स्वर्गको राज्य बहुमूल्य मोती खोजी हिँड्ने व्यापारीजस्तो हो।
46. जब उसले बहुमूल्य मोती भेट्टायो, तब गएर आफ्नो श्रीसम्पत्ति बेचेर त्यो किन्यो।
47. त्यसैगरी, स्वर्गको राज्य समुद्रमा हालिएको माछा मार्ने ठूलो जालजस्तो हो, जसले विभिन्न प्रकारका माछाहरू पक्रन्छ।
48. जब जाल भरिन्छ, मछुवाहरूले त्यसलाई तानेर पाखामा ल्याउँछन्। ती सबै जना भेला हुन्छन् र बसीकन राम्रा राम्रा माछाहरू छानेर टोकरीमा राख्छन् र नराम्रा माछाहरूलाई मिल्काइदिन्छन्।
49. संसारको अन्त्यमा पनि यसरी नै हुनआउनेछ। स्वर्गदूतहरू आउनेछन् र धर्मी मानिसहरूको बीचबाट दुष्टहरूलाई अलग गर्नेछन्,
50. अनि दुष्टजति सबैलाई आगोमा मिल्काइदिनेछन् । त्यहाँ सधैँभरि रुवाबासी र दाह्रा किटाइ हुनेछ।’’
51. येशूले सोध्नुभयो, ‘‘के तिमीहरूले बुझ्यौ?’’ तिनीहरूले भने,‘‘ज्यू प्रभु, बुझ्यौं।’’
52. त्यसपछि उहाँले भन्नुभयो, ‘‘यसकारण स्वर्गका राज्यको बारेमा सिकाइएका प्रत्येक व्यवस्थाका शिक्षक, एउटा घरको मालिकजस्तो हो, जसले आफ्नो ढुकुटीबाट नयाँ र पुराना, दुवै बहुमूल्य कुरा झिक्तछ।’’
53. येशूले यी दृष्टान्तहरू भनिसक्नुभएपछि, उहाँ त्यस ठाउँबाट हिँड्नुभयो।
54. उहाँ आफ्नै गाउँ नासरत फर्किनुभयो। उहाँले त्यहाँको सभाघरमा सिकाउनुहुँदा सबै जना छक्क परे र भने,‘‘यिनले यति धेरै बुद्धि र शक्ति कहाँबाट पाए?
55. यिनी त सिकर्मीका छोरो हुन्। हामी यिनकी आमा मरियम, यिनका भाइहरू, याकूब, योसेस, सिमोन र यहूदालाई पनि चिन्छौं।
56. यिनका सबै बहिनीहरू पनि हामीसँगै त छन्। यिनलाई कुन कुराले यति धेरै महान् बनायो?’’
57. तिनीहरू उहाँसँग चिढिए। तर येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘अगमवक्तालाई उसको आफ्नै गाउँ वा आफ्नै परिवारमा बाहेक सबैतिर आदर गरिन्छ।’’
58. त्यसैले, तिनीहरूको अविश्वासको कारण उहाँले त्यहाँ धेरै आश्चर्यकर्महरू गर्नुभएन।
|