1. हेरोद एन्टिपासले जब येशूको विषयमा सुने,
2. उनले आफ्ना सल्लाहकारहरूसँग भने,‘‘यो त बप्तिस्मा दिने यूहन्ना मृतकबाट जीवित भएको हुनुपर्छ । त्यसैले त उसले यति अचम्मका कामहरू गर्नसक्छ।’’
3. किनभने यूहन्ना पक्राउ परेका थिए, हेरोदले, हेरोदियास(हेरोदको भाइ फिलिपकी पत्नी)को आग्रहअनुसार यूहन्नालाई झ्यालखानमा हालेका थिए।
4. यूहन्नाले हेरोदलाई यसो भन्ने गर्थे, ‘‘तपाईंले उनलाई पत्नीको रूपमा राख्नु उचित हुँदैन।’’
5. हेरोदले उसैबेला यूहन्नालाई मृत्युदण्ड दिनसक्थे तर तिनी अगमवक्ता हुन् भनी सबैले विश्वास गरेका हुनाले उनलाई हूलदङ्गा होला भन्ने डर भयो।
6. तर हेरोदको जन्मदिनको भोजमा उनलाई हेरोदियासकी छोरीले नाचेर ज्यादै खुशी बनाई।
7. त्यसकारण तिनलाई ‘जेसुकै मागे पनि दिनेछु’ भनी उनले शपथ खाए।
8. आफ्नी आमाको सल्लाहअनुसार तिनले हेरोदलाई भनिन्,‘‘मलाई यूहन्नाको टाउको थालमा राखेर दिनुहोस् ।’’
9. राजा निकै दु:खित भए तर उनले अघि नै शपथ हालेको हुनाले आफू पाहुनाहरूको अगाडि लज्जित हुन चाहेनन् र उनले त्यसो गर्ने आज्ञा दिए।
10. त्यसैले झ्यालखानमा यूहन्नाको टाउको काटियो,
11. तिनको टाउको एउटा थालमा राखेर ल्याइयो र त्यस केटीलाई दिइयो। त्यसले त्यो आफ्नी आमालाई दिई।
12. यूहन्नाका चेलाहरू आएर तिनको शरीर चिहानमा गाडे अनि येशूकहाँ गएर तिनीहरूले त्यहाँ भएका सबै कुरा सुनाए।
13. त्यो खबर सुनेर येशू एकलै एकान्ततिर जानलाई डुङ्गामा चढ्नुभयो। तर उहाँ कता जाँदै हुनुहुन्छ भन्ने कुरा थाहा पाएर गाउँ-गाउँदेखि आएका मानिसहरूको ठूलो भीडले पैदलै उहाँलाई पछयाए।
14. डुङ्गाबाट निस्केर बाहिर आउँदा उहाँले त्यहाँ ठूलो भीड जम्मा भएको देख्नुभयो, उहाँले ती मानिसहरूलाई टिठाउनुभयो र रोगी-बिमारीहरूलाई निको पार्नुभयो।
15. त्यही साँझ उहाँका चेलाहरूले नजिक आएर उहाँलाई भने,‘‘हामी निर्जन ठाउँमा छौं र रात पर्नलागेको छ। यी मानिसहरूलाई यहाँबाट पठाइदिनुहोस् र उनीहरूले गाउँतिर गएर खानेकुरा किनेर खाऊन्।’’
16. तर येशूले जवाफ दिएर भन्नुभयो, ‘‘त्यसो गर्नु हुँदैन, बरु तिमीहरूले नै खानेकुराको बन्दोबस्त गर।’’
17. तिनीहरूले भने,‘‘असम्भव ! हामीसँग त पाँचवटा रोटी र दुईटा माछाबाहेक अरु केही पनि छैन।’’
18. उहाँले ती माछा र रोटी माग्दै भन्नुभयो, ‘‘ती यहाँ ल्याओ।’’
19. अनि उहाँले ती सबै मानिसहरूलाई चउरमा मिलेर बस्न लगाउनुभयो । तब उहाँले पाँच रोटी र दुई माछा हातमा लिएर स्वर्गतिर हेर्नुभयो र त्यस खानेकुरामा परमेश्वरको आशिष् माग्नुभयो। उहाँले ती रोटी र माछाहरू भाँच्नुभयो र चेलाहरूलाई दिँदै सबैलाई बाँड्न लगाउनुभयो।
20. तिनीहरू सबैले अघाउन्जेल खाए। तिनीहरूले खाएर उब्रिएका टुक्राटाक्रीहरू बाह्र डाला बटुले।
21. यसरी पाँच हजारजति पुरुषहरू लगायत स्त्री र केटाकेटीहरूले पनि अघाउन्जेल खाएका थिए।
22. त्यसपछि येशूले ती मानिसहरूलाई बिदा गर्दै, उहाँले चेलाहरूलाई लगत्तै डुङ्गामा चढेर पारिपट्टि जान अह्राउनुभयो।
23. त्यसपछि उहाँ एकलै प्रार्थना गर्न डाँडातिर उक्लनुभयो। साँझ पर्दासम्म उहाँ त्यस ठाउँमा एकलै हुनुहुन्थ्यो।
24. त्यसैबेला जोडले बतास चलिरहेको हुनाले चेलाहरू आपतमा परेका थिए, पानीका छालले विपरीत दिशाबाट डुङ्गालाई हुत्त्याइरहेको हुनाले तिनीहरू डरले थुरथुर भएका थिए।
25. बिहानको तीन बजेको हुँदो हो, येशू पानीमाथि हिँड्दै तिनीहरू भएतिर जानुभयो।
26. जब चेलाहरूले उहाँलाई देखे, तब भूत हो कि भनी ठानेर तिनीहरू डरले चिच्च्याए।
27. त्यसैबेला उहाँ तिनीहरूसित बोल्नुभयो, ‘‘साहस गर, नडराओ, म नै हुँ ।’’
28. तब पत्रुसले उहाँलाई भने,‘‘प्रभु, यदि तपाईं हुनुहुन्छ भने मलाई पनि पानीमाथि हिँडेर तपाईंकहाँ आउने आज्ञा दिनुहोस्। ’’
29. उहाँले भन्नुभयो, ‘‘हुन्छ, आऊ।’’ तब पत्रुस डुङ्गाबाट उत्रिएर पानीमाथि हिँड्दै येशू भएतिर गए।
30. तर जब पत्रुसका आँखा उर्लिंदै गरेको पानीका छालमा परे, तब उनी डराए र डुब्न लागे । उनी चिच्च्याए र भने, ‘‘प्रभु, मलाई बचाउनुहोस्।’’
31. येशूले तुरुन्तै हात पसारेर उनलाई समात्नुभयो र भन्नुभयो, ‘‘ए अल्पविश्वासी, तिमीले किन शंका गर्यौ?’’
32. अनि उहाँहरू डुङ्गामा चढेपछि बतास थामियो र छाल शान्त भइहाल्यो।
33. तब चेलाहरूले उहाँलाई दण्डवत् गर्दै भने, ‘‘साँच्चै, तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ।’’
34. उहाँहरू झील पार गरेपछि गनेसरेततिर लाग्नुभयो।
35. उहाँहरू त्यहाँ आउनुभएको छ भन्ने कुरा त्यस क्षेत्रभरि फैलिहाल्यो र तत्कालै मानिसहरूले रोगी-बिमारीहरूलाई उहाँकहाँ ल्याए।
36. अनि रोगी-बिमारीहरूले उहाँको वस्त्रको फेरो मात्र छुन दिनुहोस् भनी उहाँलाई विन्ती गरे र उहाँलाई छुनेजति सबै निको भए।
|