1. एक दिन फरिसी र सदुकीहरू येशूका दाबीहरूलाई जाँच्न स्वर्गबाटका चिन्ह देखाउनुहोस् भनी माग गर्दै आए।
2. उहाँले जवाफ दिनुभयो, ‘‘तिमीहरूलाई यो भनाइ थाहा छ,‘आज राती आकाश रातो देखिए, भोलि मौसम राम्रो हुन्छ।
3. बिहानै आकाश रातो देखिए दिनभरि धुम्मिन्छ।’ आकाश हेरेर दिन कस्तो हुन्छ, तिमीहरू भन्नसक्छौ तर तिमीहरूका अगाडि प्रस्टै देखाइएको समयको चिन्ह तिमीहरू बुझ्दैनौ।
4. दुष्ट विश्वासहीन पुस्ताले मात्रै चिन्हको माग गर्दछ। तर तिनीहरूलाई अगमवक्ता योनाको चिन्हबाहेक अरु चिन्ह दिइनेछैन।’’ अनि येशूले तिनीहरूलाई छोडेर जानुभयो।
5. झीलको पारिपट्टि पुगेपछि आफूहरूले खानेकुरा बोक्न बिर्सिएको कुरा चेलाहरूले थाहा पाए।
6. येशूले तिनीहरूलाई चेताउनी दिँदै भन्नुभयो,‘‘ सावधान ! फरिसी र सदुकीहरूको खमीरदेखि होशियार बस ।’’
7. तिनीहरूले रोटी नल्याएका कारणले येशूले त्यसो भन्नुभएको हो भनी चेलाहरूले ठाने।
8. तिनीहरूले के सोचिरहेका छन् भन्ने कुरा येशूले थाहा पाउनुभयो। तब उहाँले भन्नुभयो, ‘‘तिमीहरूको विश्वास खोई ? खानेकुरा नभएकोमा तिमीहरू किन यति चिन्ता गर्छौ?
9. के तिमीहरू कहिल्यै बुझ्दैनौ? त्यसबेला मैले पाँचवटा रोटीद्वारा पाँच हजारलाई खुवाएर कति डालो उब्रिएको थियो, के तिमीहरूलाई याद छैन?
10. के तिमीहरूलाई सम्झना छैन? मैले सातवटा रोटीबाट चार हजारलाई खुवाएर पनि कति डाला उब्रिएका थिए?
11. मैले खानेकुराको विषयमा कुरा गरिरहेको थिएँ भनी तिमीहरू कसरी सोच्न सक्छौ? त्यसकारण म फेरि तिमीहरूलाई भन्दछु, फरिसी र शास्त्रीहरूको खमीरदेखि होशियार बस ।’’
12. आखिरमा उहाँले खमीर हालेको रोटीको होइन तर फरिसी र सदुकीहरूका शिक्षाको विषयमा कुरा गरिरहनुभएको रहेछ भनेर तिनीहरूले बुझे।
13. जब येशू फिलिप्पीको कैसरिया क्षेत्रमा आउनुभयो, उहाँले चेलाहरूलाई सोध्नुभयो, ‘‘मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्दछन् ?’’
14. चेलाहरूले भने,‘‘हजूर, तपाईंलाई कतिले बप्तिस्मा दिने यूहन्ना, कतिले एलिया र अरुले यर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एक भन्दछन्।’’
15. त्यसपछि उहाँले तिनीहरूलाई सोध्नुभयो, ‘‘तिमीहरू मलाई को हो भनी भन्छौ?’’
16. सिमोन पत्रुसले जवाफ दिए, ‘‘तपाईं जीवित परमेश्वरका पुत्र मसीह हुनुहुन्छ।’’
17. येशूले जवाफ दिनुभयो, ‘‘योनाको छोरो सिमोन, तिमी धन्यका हौ, किनभने स्वर्गमा हुनुहुने मेरा पिताले तिमीलाई यो प्रकट गर्नुभयो। तिमीले यो कुरा मानिसबाट सिकेनौ।
18. म भन्दछु, तिमी पत्रुस हौ, यस चट्टानमाथि म मेरो मण्डली स्थापना गर्नेछु र नरकका कुनै पनि शक्तिहरू त्यसमाथि विजयी हुनेछैनन्।
19. म तिमीलाई स्वर्गको राज्यका साँचोहरू दिनेछु । यस पृथ्वीमा तिमी जे बन्द गर्दछौ, त्यो स्वर्गमा पनि बन्द हुनेछ, अनि तिमीले यहाँ जे खोल्छौ, त्यो स्वर्गमा पनि खोलिनेछ।’’
20. त्यति भनिसक्नुभएपछि उहाँले, उहाँ ‘मसीह हुनुहुन्छ’ भन्ने कुरा कसैलाई नभन्नू भन्ने कडा चेताउनी चेलाहरूलाई दिनुभयो।
21. त्यसैबेला देखि येशूले चेलाहरूलाई उहाँ यरूशलेम जानुपर्छ र त्यहाँका अगुवाहरू, पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरूको हातबाट धेरै कष्ट भोग्नुपर्नेछ, उहाँ मारिनुहुनेछ र तेस्रो दिनमा मृत्युबाट पुनर्जीवित हुनुहुनेछ भन्ने कुरा बताउनुभयो।
22. तर पत्रुसले उहाँलाई अलग्गै लगे र त्यस्तो हुनसक्दैन भनी हप्काए। उनले भने, ‘‘प्रभु, स्वर्गले त्यो मनाही गरोस्, तपाईंमाथि त्यस्तो कदापि हुनेछैन।’’
23. येशू पत्रुसतिर फर्किनुभयो र हप्काउँदै भन्नुभयो, ‘‘शैतान, तँ मेरो सामुन्नेबाट हटिजा ! तँ मेरोनिम्ति खतरनाक पासो होस्। तैँले त परमेश्वरको दृष्टिद्वारा होइन, मानवीय दृष्टिद्वारा मात्रै हेरिरहेको छस्।’’
24. त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो,‘‘यदि तिमीहरूमध्ये कोही मेरोपछि लाग्न चाहन्छ भने उसले आफ्नो सबै स्वार्थी इच्छाहरू त्यागोस् र आफ्नो क्रूस उठाएर मेरो अनुसरण गरोस्।
25. यदि तिमीले आफ्नैनिम्ति जीवन बचाउने कोशिश गर्यौ भने त्यो गुमाउनेछौ। तर यदि तिमीले आफ्नो जीवन मेरोनिम्ति त्याग्यौ भने साँचो जीवन पाउनेछौ।
26. तिमीले सारा संसारै हात पार्यौ तर आफ्नै प्राण गुमायौ भने तिमीलाई के फाइदा भयो? के तिम्रो प्राणभन्दा मूल्यवान् केही कुरा छ?
27. किनभने म, मानिसको पुत्र पिताको महिमामा उहाँका दूतहरूको साथमा आउनेछु र मानिसहरूले गरेका कामअनुसार म तिनीहरूको न्याय गर्नेछु।
28. साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये कोही-कोहीले मानिसको पुत्रलाई आफ्नो राज्यमा आउनुभएको नदेखेसम्म मृत्युको स्वादचाख्नेछैनौ।’’
|