1. त्यसको छ दिनपछि येशूले पत्रुस, यूहन्ना र याकूबलाई अग्लो डाँडामा लिएर जानुभयो।
2. उनीहरूले हेर्दाहेर्दै येशूको रूप परिवर्तन भयो, उहाँको मुहार घामजस्तै चम्किलो भयो र उहाँका वस्त्र पनि चहकिला सेता भए।
3. त्यसैबेला अचानक मोशा र एलिया देखा परे अनि उहाँसँग बातचित गर्नथाले।
4. पत्रुसले झट्टै भने, ‘‘प्रभु यो कस्तो अचम्म ! यदि तपाईं चाहनुहुन्छ भने म यहाँनेर तीनवटा तम्बु हाल्नेछु, एउटा तपाईंको लागि, एउटा मोशा र अर्को एलियाको लागि।’’
5. तर उनले त्यसो भन्दै गर्दा चम्किलो बादल आयो र त्यसले उनीहरूलाई ढाक्यो । तब बादलभित्रबाट एउटा आवाज आयो, ‘‘यिनी मेरा प्यारो पुत्र हुन्, म यिनीसँग अति नै प्रसन्न छु। तिमीहरूले यिनको कुरा सुन्नू।’’
6. त्यो सुनेर चेलाहरू भयभीत भए र सबै भुइँमा घोप्टो परे।
7. येशू उनीहरूको छेउमा आउनुभयो र उनीहरूलाई छोएर भन्नुभयो, ‘‘उठ, नडराओ।’’
8. उनीहरूले हेर्दा त त्यहाँ येशू मात्रै उनीहरूसँग हुनुहुन्थ्यो।
9. डाँडाबाट ओर्लंदै गर्दा येशूले तिनीहरूलाई आज्ञा दिनुभयो, ‘‘म, मानिसको पुत्र मृत्युबाट पुनर्जीवित नभएसम्म तिमीहरूले देखेका यी कुरा कसैलाई नभन्नू।’’
10. उहाँका चेलाहरूले सोधे,‘‘मसीहभन्दा पहिले एलिया आउनुपर्छ भनी धार्मिक व्यवस्थाका शिक्षकहरूले किन जोड दिन्छन्?’’
11. येशूले जवाफ दिनुभयो,‘‘सबै थोक पहिल्यै ठीक पार्न एलिया साँच्चै आइरहेका छन्।
12. तर म तिमीहरूलाई भन्दछु, उनी अघि नै आइसकेका छन्, मानिसहरूले उनलाई चिनेनन्, तर उनीमाथि नराम्रो व्यवहार गरे। मानिसको पुत्रलाई पनि तिनीहरूले अब चाँडै त्यस्तै व्यवहार गर्नेछन्।’’
13. उहाँले बप्तिस्मा दिने यूहन्नाको विषयमा कुरा गर्नुभएको हो भनी चेलाहरूले बुझे।
14. उहाँहरू डाँडाको फेदमा आइपुग्नुहुँदा एउटा ठूलो भीडले उहाँहरूलाई पर्खिरहेको थियो। एउटा मानिस येशूको अगाडि आयो र घुँडा टेकेर विन्ती गर्यो,
15. ‘‘प्रभु, मेरो छोरोमाथि कृपा गर्नुहोस्, उसलाई छोप्ने रोग छ, ऊ मूर्छा पर्छ, ऊ आगो र पानीमा घरीघरी पर्छ।
16. त्यसकारण मैले उसलाई तपाईंका चेलाहरूको अगाडि ल्याएँ तर तिनीहरूले उसलाई निको पार्न सकेनन्।’’
17. येशूले जवाफ दिनुभयो, ‘‘ए हठी, अविश्वसनीय मानिसहरू, म कहिलेसम्म तिमीहरूको साथमा रहूँला र तिमीहरूले विश्वास गरौला? कहिलेसम्म तिमीहरूलाई पर्खने? त्यस केटोलाई यहाँ ल्याओ।’’
18. त्यस केटामा रहेको भूतात्मालाई येशूले हप्काउनुभयो, त्यो निस्केर गयो। त्यसैबेला केटो निको भइहाल्यो।
19. केही बेरपछि चेलाहरूले एकान्तमा येशूसँग सोधे, ‘‘किन हामीले त्यस भूतात्मालाई निकाल्न सकेनौं?’’
20. येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘तिमीहरूसँग पर्याप्त विश्वास थिएन। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूसँग रायोको दानाजति मात्रै विश्वास हुन्थ्यो भने तिमीहरूले त्यस डाँडालाई ‘त्यहाँबाट हटिजा’ भने पनि त्यो हट्ने थियो र कुनै कुरा पनि असम्भव हुनेथिएन।
21. [तापनि यस किसिमको भूतात्मा प्रार्थना र उपवासविना निस्किँदैन।]’’
22. गालीलमा फर्किएपछि एक दिन येशूले तिनीहरूलाई भन्नुभयो, ‘‘मानिसको पुत्रलाई धोका दिइनेछ।
23. उसलाई मारिनेछ। तर तेस्रो दिनमा ऊ मृत्युबाट जीवित हुनेछ।’’ उहाँको कुरा सुनेर चेलाहरू दु:खित भए।
24. उहाँहरू कफर्नहुम आइपुग्नुहुँदा, मन्दिरको कर उठाउनेहरू पत्रुसकहाँ आए र उनीसँग कर मागे,‘‘के तिमीहरूका गुरुले मन्दिरको कर तिर्नुहुन्न?’’
25. पत्रुसले जवाफ दिँदै भने, ‘‘किन नतिर्नु, तिर्नुहुन्छ।’’ तब पत्रुस त्यस विषयमा कुरा गर्न येशूकहाँ गए। तर उनले बोल्नुभन्दा पहिल्यै येशूले उनलाई सोध्नुभयो, ‘‘पत्रुस तिमी के सोच्छौ ? राजाहरूले आफ्नै जनताबाट कर उठाउँछन् कि तिनीहरूले जितेका विदेशीहरूबाट?’’
26. पत्रुसले जवाफ दिए, ‘‘विदेशीहरूबाट।’’ उनको जवाफ सुनेर येशूले भन्नुभयो,‘‘त्यसो भए, उनका आफ्नै जनताले कर तिर्नु पर्दैन ।
27. तैपनि हामी तिनीहरूलाई चिढाउन चाहँदैनौं। त्यसकारण तिमी झीलमा जाऊ र जाल हान। तिमीले एउटा माछो पक्रिनेछौ। त्यसको मुखमा एउटा सिक्का भेट्नेछौ र त्यही सिक्का निकालेर हामी दुवैको कर तिर।’’
|