1. त्यसैबेला चेलाहरू आएर येशूलाई सोधे,‘‘स्वर्गको राज्यमा हामीमध्ये को सबैभन्दा ठूलो हुन्छ?’’
2. येशूले एउटा सानो बालकलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूको बीचमा त्यस बालकलाई राख्नुभयो।
3. तब उहाँले भन्नुभयो, ‘‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना पापबाट फर्किएर यस बालकजस्ता भएनौ भने स्वर्गको राज्यमा कदापि पस्न पाउनेछैनौ।
4. त्यसकारण जो यस बालकजस्तो विनम्र हुन्छ, त्यही स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुन्छ।
5. जसले मेरो नाउँमा सानो बालकलाई स्वीकार गर्छ, उसले मलाई नै स्वीकार गर्दछ।
6. तर यदि कसैले ममाथि भरोसा गर्ने यी सानाहरूमध्ये एउटाको विश्वासमा ठेस पुर्याउँछ भने त्यसको घिच्रोमा एउटा गह्रौं जाँतो बाँधिदिएर त्यसलाई समुद्रको गहिराइमा फालिदिनु बेश हुन्छ।
7. पाप गर्न लगाउने कुराको लागि यस संसारलाई धिक्कार ! गल्ती गर्न लगाउने परीक्षाहरू त आउँछन् नै तर परीक्षा ल्याउनेको हालत कति डरलाग्दो होला !
8. तसर्थ यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर मिल्काऊ, किनभने दुवै हातखुट्टासहित नरकमा फालिनुभन्दा त बरु डुँडो वा लङ्गडो भएर स्वर्ग जानु उत्तम हुन्छ।
9. तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई झिकेर मिल्काऊ, किनभने दुवै आँखासहित नरकमा फालिनुभन्दा त बरु अन्धो भएर स्वर्ग जानु उत्तम हुन्छ।
10. होशियार रहो, यी सानाहरूमध्येका एक जनालाई पनि तुच्छ नठान, किनभने म तिमीहरूलाई भन्दछु, स्वर्गमा मेरा पिताको सामुन्ने तिनीहरूका स्वर्गदूत सधैँ हाजिर छन्। [
11. किनभने मानिसको पुत्र हराएकालाई बचाउन आएको हो।]
12. एउटा गोठालोको एक सय भेडा छन्। तीमध्ये एउटा अलमलिएर हरायो भने उसले के गर्नेछ? के उसले ती उनान्सयलाई छोडेर हराएकोलाई खोजी गर्न डाँडाहरूमा जाँदैन र?
13. साँच्चै म तिमीहरूलाई भन्दछु, उसले त्यसलाई भेट्टाएपछि ती नहराएको उनान्सय भेडाहरूभन्दा बढ्ता भेटिएको त्यस एउटा भेडाको निम्ति ऊ रमाउनेछ।
14. त्यसैगरी यी सानाहरूमध्ये एउटै पनि नष्ट नहोस् भन्ने मेरो स्वर्गका पिताको इच्छा छ।
15. यदि कुनै भाइले तिम्रो विरोधमा पाप गर्यो भने उसलाई एकलै पारेर उसको गल्ती देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्यो र पश्चात्ताप गर्यो भने तिमीले उसलाई फर्काउन सक्यौ।
16. तर उसले तिम्रो कुरा सुनेन भने तिम्रोसाथमा एक वा दुई जनालाई लिएर फे रि उसकहाँ जाऊ र तिमीले भनेका कुरा दुई वा तीन जना साक्षीको सामुन्ने पक्का होस्।
17. यदि उसले अझै पनि सुनेन भने त्यो कुरा मण्डलीको अगाडि राखिदेऊ। मण्डलीले तिम्रो कुरा ठीक मान्यो तर उसले तिमीलाई अझै इन्कार गर्यो भने त्यसलाई एउटा अयहूदी वा महसुल उठाउने भ्रष्ट व्यक्तिसँग झैँ व्यवहार गर।
18. साँच्चै म तिमीहरूलाई यो कुरा भन्दछु, तिमीहरू यस पृथ्वीमा जे कुरा मनाही गर्छौ, त्यो स्वर्गमा पनि मनाही गरिनेछ र जे कुरा तिमीहरू यस पृथ्वीमा मानिलिन्छौ, त्यो स्वर्गमा पनि स्वीकारिनेछ।
19. म तिमीहरूलाई यो पनि भन्दछु, यदि तिमीहरूमध्ये दुई जना एउटै कुरामा सहमत भएर स्वर्गमा हुनुहुने मेरा पितासँग माग्यौ भने त्यो तिमीहरूका निम्ति गरिदिनुहुनेछ।
20. यसकारण जहाँ मेरो नाउँमा दुई कि तीन जना भेला हुन्छौ, म त्यहाँ तिमीहरूका बीचमा हुन्छु।’’
21. त्यसपछि पत्रुसले उहाँको नजिक आएर भने,‘‘प्रभु, मेरो विरोधमा पाप गर्नेलाई मैले कतिपल्ट क्षमा गर्नुपर्छ? के सातपल्टसम्म?’’
22. येशूले जवाफ दिनुभयो, ‘‘होइन, सत्तरी गुणा सातपल्ट क्षमा गर्नुपर्छ।
23. यसैकारणले गर्दा स्वर्गको राज्यलाई एउटा राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना ऋणीहरूसँगको हिसाबकिताब मिलाउने विचार गरे।
24. त्यस क्रममा दश हजार तोडा ऋण लिने नोकरलाई उनको अगाडि ल्याइयो।
25. त्यसले उनको सबै ऋण चुक्ता गर्न सकेन, तसर्थ राजाले त्यसलाई आफू लगायत आफ्नी स्वास्नी र छोराछोरी साथै त्यससँग भएका सबै कुरा बेचेर ऋण चुक्ता गर्ने आदेश दिए।
26. तर त्यसले राजाको पाउमा घोप्टो परेर विन्ती गर्यो, ‘हे मेरा मालिक, मप्रति धैर्य गर्नुहोस्। म सबै ऋण तिर्नेछु।’
27. त्यो सुनेर राजालाई दया लाग्यो र उनले सबै ऋण माफ गरी त्यसलाई छोडिदिए।
28. तर जब त्यो मानिस राजाकहाँबाट मुक्त भई हिँडयो, ऊ सोझै एक जना सहकर्मीकहाँ गयो, जसले त्यसबाट सय दिनार ऋण लिएको थियो। त्यसले उसको गर्दनमा समात्यो र तुरुन्तै तिरिहाल् भनी माग्यो।
29. उसको त्यो सहकर्मी त्यसको पाउमा घोप्टो पर्यो र केही समय अझै पर्खिदिनुहोस् भन्दै विन्ती गर्यो, ‘ममाथि धैर्य गर्नुहोस्, म सबै तिर्नेछु।’
30. त्यो ऋण दिनेले पर्खिन मानेन । त्यसले मानिस लगाएर उसलाई पक्रायो र एक-एक पैसा चुक्ता नगरेसम्म झ्यालखानमा हालिदियो।
31. जब त्यसले त्यसो गरेको अरु नोकरहरूले देखे, तिनीहरू त्योप्रति ज्यादै दु:खी भए। तिनीहरू राजाकहाँ गए र त्यसले गरेको सबै कुरा बताइदिए।
32. तब राजाले क्षमा दिइसकेको त्यस व्यक्तिलाई बोलाएर भने,‘तँ दुष्ट नोकर, तैँले विन्ती गरेको हुनाले मैले त्यति धेरै ऋण माफ गरिदिएँ।
33. मैले तँमाथि कृपा देखाएझैँ के तैँले पनि तेरो ऋणीलाई दया गर्नुपर्ने थिएन र?’
34. तब राजाले रिसाएर त्यसलाई एक-एक पैसा चुक्ता नगरेसम्म झ्यालखानमा थुनिदिए।
35. हो, आफ्नो दाजुभाइ वा दिदीबहिनीलाई हृदयदेखि नै क्षमा नगर्नेलाई पनि मेरा स्वर्गका पिताले त्यस्तै गर्नुहुनेछ।’’
|