1. यहूदियाको बेथलेहेम शहरमा हेरोद राजाको शासनकालमा येशू जन्मनुभयो। त्यसैबेला पूर्वका ज्योतिषीहरू यरूशलेममा यसो भनेर सोद्धै-खोज्दै आइपुगे,
2. ‘‘यहूदीहरूका राजा भएर जन्मिनुभएका कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा उदाएको देख्यौं र हामी उहाँलाई दर्शनभेट गर्न आएका हौं।’’
3. तिनीहरूको कुरा सुनेर हेरोद अत्यन्तै बेचैन भए र उनीसँगै सारा यरूशलेमका मानिसहरू पनि बेचैन भए।
4. उनले मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका सबै शिक्षकहरूको सभा बोलाए र उनले तिनीहरूलाई सोधे, ‘‘अगमवक्ताहरूले ख्रीष्ट कहाँ जन्मिन्छन् भनी अगमवाणी गरेका छन्?’’
5. तिनीहरूले जवाफ दिए, ‘‘यहूदियाको बेथलेहेममा, किनभने अगमवक्ताले यस्तो लेखेका छन् :
6. ‘ए, यहूदाको बेथलेहेम, तँ यहूदाको सानो गाउँ मात्रै हुनेछैनस्। तँबाटै एक जना शासक निस्केर आउनुहुनेछ, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नुहुनेछ’।’’
7. तब हेरोदले ज्योतिषीहरूलाई गुप्तमा बोलाएर भेटे। तिनीहरूसँगको त्यस भेटमा उनले तारा उदाएको ठीक समय कुन थियो, सो पत्ता लगाए।
8. त्यसपछि उनले तिनीहरूलाई भने, ‘‘बेथलेहेममा जाओ र सावधानीपूर्वक बालकको खोजी गर। जब तिमीहरू बालकलाई भेट्टाउँछौ, मकहाँ आएर खबर देओ किनकि म पनि गएर उहाँलाई दण्डवत् गर्नसकूँ।’’
9. त्यस कुराकानीपश्चात् ज्योतिषीहरू आफ्नो बाटो लागे। फे रि पनि तिनीहरूको सामुन्ने तारा देखा पर्यो र तिनीहरूलाई बेथलेहेमतिर डोर्यायो। तारा तिनीहरूको अगिअगि गयो र बालक भएको ठाउँमाथि अडियो।
10. जब तिनीहरूले त्यो तारा देखे, तिनीहरू अति नै आनन्दित भए।
11. तिनीहरू बालक र उहाँकी आमा भएको घरभित्र पसे। तिनीहरूले उहाँको सामु भुइँमा निहुरिएर दर्शनभेट गरे । तिनीहरूले आफूसँग ल्याएका कन्तुर उघारेर सुन, सुगन्धित अत्तर र मूर्रको भेटी चढाए।
12. तर त्यहाँबाट फर्किदा, तिनीहरू अर्कै बाटो भएर गए, किनभने परमेश्वरले तिनीहरूलाई सपनामा हेरोदकहाँ नजानू भनी चेताउनी दिनुभएको थियो।
13. ती ज्योतिषीहरू त्यहाँबाट गइसकेपछि यूसुफको सपनामा प्रभुका स्वर्गदूत देखा परे। ‘‘उठ, बालक र उहाँकी आमालाई लिएर मिश्रदेशतिर भागिहाल। मैले फर्क नभनेसम्म तिमी मिश्रदेशमा नै बस्नू, किनभने हेरोदले बालकलाई मार्न खोज्दैछ।’’
14. त्यही राती यूसुफ बालक र उहाँकी आमा मरियमलाई लिएर मिश्रदेशतिर लागे।
15. हेरोदको मृत्यु नभएसम्म उनीहरू त्यहीँ बसे। यसरी प्रभुले अगमवक्ताद्वारा भन्नुभएको कुरा पूरा भयो : ‘‘मैले मेरो छोरोलाई मिश्रदेशबाट बोलाएँ।’’
16. जब ज्योतिषीहरूले आफूलाई छक्क्याएको चाल पाए तब हेरोद क्रोधित भए र उनले ज्योतिषीहरूद्वारा पत्तो लगाइएको ठीक समयअनुसार बेथलेहेम र त्यसका वरपर भएका दुई वर्ष र त्यस मुनिका बालकहरूलाई मार्ने आदेश दिए।
17. हेरोदको यस्तो क्रूर व्यवहारद्वारा यर्मिया अगमवक्ताको अगमवाणी पूरा भयो :
18. ‘‘रामामा डाँको छोडी-छोडी रोएको र विलाप गरेको आवाज सुनियो । राहेल आफ्ना बालकहरूका निम्ति रोइरहेकी, सान्त्वना तिनले अस्वीकार गरिन्, किनकि तिनका बालकहरू मारिए।’’
19. हेरोदको मृत्यु भएपछि प्रभुका स्वर्गदूत मिश्रमा यूसुफसित सपनामा देखा परे र उनलाई भने,
20. ‘‘उठ, बालक र उहाँकी आमालाई लिएर इस्राएलमा फर्क, किनभने बालकलाई मार्न खोज्नेहरू मरिसकेका छन्।’’
21. त्यसकारण यूसुफ तुरुन्तै बालक र उहाँकी आमालाई लिएर इस्राएलमा फर्किए।
22. तर हेरोदकै छोरो अर्खिलाउस यहाँको राजा भएको छ भन्ने कुरा थाहा पाएर उनी निकै डराए । तब अर्को सपनामा, उनलाई गालीलतिर जाने चेताउनी दिइयो ।
23. तसर्थ उनीहरू नासरत भनिने नगरमा गएर बस्नथाले। यसरी अगमवक्ताले ख्रीष्टको विषयमा भनेको कुरा पूरा हुन आयो : ‘‘उहाँलाई नासरी भनिनेछ।’’
|