1. ती दिनमा बप्तिस्मा दिने यूहन्नाले यहूदियाको उजाड-स्थानमा प्रचार गर्नथाले। उनी यसो भन्दै प्रचार गर्दथे,
2. ‘‘तिमीहरूका पापकर्मबाट फर्केर परमेश्वरकहाँ आओ, किनभने स्वर्गको राज्य नजिकै छ।’’
3. यशैयाले यूहन्नाको विषयमा यसो भनेका थिए : ‘‘उजाड-स्थानमा कराउनेको एउटा आवाज, ‘परमप्रभुको बाटो तयार पार, उहाँ आउँदै हुनुहुन्छ। उहाँको बाटो सोझो बनाओ’।’’
4. यूहन्नाले ऊँटको रौंबाट बुनेको वस्त्र लगाएका र कम्मरमा छालाको पेटी बाँधेका थिए। उनको भोजन सलह र वन - मह थियो।
5. यरूशलेम, यहूदियाका सबै क्षेत्रहरू र यर्दन उपत्यकाका सबै बासिन्दाहरू यूहन्नाको प्रचार सुन्न उजाड-स्थानमा आए।
6. जब तिनीहरूले आ-आफ्ना पाप स्वीकार गरे तब यूहन्नाले तिनीहरूलाई यर्दन नदीमा बप्तिस्मा दिए।
7. तर धेरै जना फरिसीहरू र सदुकीहरू पनि बप्तिस्मा लिन आएको देखेर उनले तिनीहरूलाई हप्काए, ‘‘ए सर्पका सन्तानहरू हो, आउनलागेको परमेश्वरको दण्डबाट उम्किने चेताउनी तिमीहरूलाई कसले दियो ?
8. तिमीहरू आफ्नै चालचलनबाट साँच्चै फर्किएर परमेश्वरतिर मन फिराएका हौं भन्ने कुरा पक्का गराओ।
9. ‘हामी सुरक्षित छौं, हामी अब्राहामका सन्तान हौं’ मात्रै नभन। तिमीहरूले त्यसो भन्दैमा केही हुनेछैन। परमेश्वरले यहाँ भएका यी ढुङ्गाहरूलाई अब्राहामका सन्तान बनाउन सक्नुहुन्छ।
10. अहिले नै परमेश्वरको न्यायको बन्चरो रूखको फेदमा परिसकेको छ। तिमीहरू जरैसमेत ढल्नलागेका छौ। हो, असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा मिल्काइनेछ।
11. आफ्ना पापबाट परमेश्वरतर्फ फर्किनेहरूलाई म पानीले बप्तिस्मा दिन्छु। तर मभन्दापछि एक जना चाँडै आउँदै हुनुहुन्छ, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ। म त उहाँको जुत्ता बोक्ने दासजस्तो पनि छैनँ। उहाँले नै तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुन्छ।
12. उहाँ भुसलाई गहुँबाट छुट्टयाउनलाई नाङ्लो लिएर तयार हुनुहुन्छ । उहाँले खला सफा गर्नुहुनेछ, गहुँजतिलाई बटुलेर आफ्नो भकारीमा थन्क्याउनुहुनेछ र भुसलाई कहिल्यै ननिभ्ने आगोको भट्टीमा फालिदिनुहुनेछ।’’
13. त्यसपछि येशू यूहन्नाद्वारा बप्तिस्मा लिनका लागि गालीलबाट यर्दन नदीमा आउनुभयो।
14. तर यूहन्नाले उहाँलाई बप्तिस्मा दिन मानेनन्। उनले भने, ‘‘मैले पो तपाईंबाट बप्तिस्मा लिनुपर्ने, तपाईं किन मकहाँ आउनुभएको ?’’
15. तर येशूले भन्नुभयो,‘‘अहिलेलाई यसै हुनदेऊ, किनभने हामीले यसरी नै धार्मिकता पूरा गर्दै जानुपर्छ।’’ अनि यूहन्नाले उहाँलाई बप्तिस्मा दिए।
16. येशू बप्तिस्मा लिएर पानीबाट निस्किनु हुँदा आकाश उघ्रियो। परमेश्वरको आत्मा ढुकुरझैँ ओर्लनुभएको र उहाँमाथि बस्नुभएको उनले देखे।
17. अनि स्वर्गबाट यस्तो वाणी आयो, ‘‘यिनी मेरा प्यारो पुत्र हुन्, म यिनीसँग अति नै प्रसन्न छु।’’
|