1. किनभने स्वर्गको राज्य एउटा धनी किसानजस्तो हो, जो एकाबिहानै अङ्गुरबारीमा काम गर्ने खेतालाको खोजी गर्न निस्कियो।
2. उसले एक दिनको ज्याला दिने अठोट गरेर अङ्गुरबारीमा काम गर्न केही खेताला पठायो।
3. बिहान नौ बजेतिर ऊ बजारको बाटो भएर जाँदै गर्दा त्यहाँ उसले विनाकाम उभिरहेका केही मानिसहरूलाई देख्यो।
4. उसले तिनीहरूलाई दिनको अन्त्यमा उचित ज्याला दिने वचन दिएर काम गर्न पठायो।
5. त्यसैगरी मध्यान्हमा र अपराह्न तीन बजेतिर पनि उसले त्यसै गर्यो।
6. बेलुकी पाँच बजेतिर ऊ बजारमा गयो र फेरि पनि उसले विनाकाम अलमलिरहेका मानिसहरूलाई देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘तिमीहरूले आज किन केही काम नगरेका?’
7. तिनीहरूले जवाफ दिए, ‘किनभने हामीलाई कसैले काम गर्न बोलाएन।’ उसले तिनीहरूलाई भन्यो, ‘त्यसो भए जाओ र मेरो अङ्गुरबारीमा काम गर्ने खेतालासँग सामेल होओ।’
8. त्यसै साँझ उसले खेतालालाई बोलाउन कामदारलाई अह्रायो र आखिरमा आउने खेतालाबाट शुरु गरेर ज्याला दिनथाल्यो।
9. बेलुकी पाँच बजेदेखि काम गर्न थालेकाहरूले दिनभरिको ज्याला पाए।
10. बिहान सबेरैदेखि काम गर्नेहरूले तिनीहरूको भन्दा बढ्ता पाउने आशा गरेका थिए तर तिनीहरूलाई पनि एक दिनभरिको ज्याला मात्रै दिइयो।
11. जब तिनीहरूले आफ्नो ज्याला पाए, तब तिनीहरूले यसो भन्दै विरोध जनाए,
12. ‘ती मानिसहरूले खेतमा आएर एक घण्टा मात्रै काम गरे तापनि तपाईंले तिनीहरूलाई हामीलाई जति नै ज्याला दिनुभयो, हामीले त दिनभरि चर्को घाममा काम गरेका थियौं नि।’
13. तिनीहरूमध्ये एउटालाई जवाफ दिँदै उसले भन्यो, ‘साथी, म तिमीहरूप्रति अन्यायी भएको छैनँ। के तिमीहरू यति नै ज्यालामा काम गर्न राजी भएका थिएनौ र?
14. यो ज्याला लिएर जाओ । मैले तिमीहरूलाई जति नै आखिरमा आउनेलाई पनि दिने विचार गरेँ।
15. के मैले आफ्नो खुशीमा यसो गर्नु व्यवस्था विपरीत हुन्छ र ? के तिमीहरू म दयालु हुँदा रिसाउनुपर्छ?’
16. त्यसैगरी जो अहिले पहिला छन्, तिनीहरू त्यसबेला पछिल्ला हुनेछन् अनि जो अहिले पछिल्ला छन्, तिनीहरू त्यसबेला पहिला हुनेछन्।’’
17. यरूशलेमतिर जाँदै गर्नुहुँदा, उहाँले आफ्ना बाह्र जना चेलाहरूलाई एकातिर लगेर आफूमाथि के के हुन गइरहेको छ भनी बताउनुभयो,
18. ‘‘हामी जब यरूशलेम पुग्छौं, मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र धार्मिक व्यवस्थाका शिक्षकहरूको हातमा सुम्पिइनेछ । तिनीहरूले उसलाई मृत्युदण्डको आज्ञा गर्नेछन्।
19. तिनीहरूले त्यसपछि मानिसको पुत्रलाई गिल्ला गर्न, कोर्रा लगाउन र क्रूसमा टाँग्न अयहूदीहरूको हातमा सुम्पिदिनेछन्। तर त्यसको तीन दिनमा ऊ मृतकबाट उठाइनेछ।’’
20. त्यसबेला जब्दियाका छोराहरू, याकूब र यूहन्नाकी आमा आफ्ना छोराहरूलाई लिएर येशूकहाँ आइन्। तिनले उहाँको कृपा पाउन आदरपूर्वक घुँडा टेकिन्।
21. येशूले सोध्नुभयो, ‘‘तिमी के चाहन्छौ?’’ तिनले जवाफ दिइन्, ‘‘तपाईंको राज्यमा मेरा यी छोराहरूलाई तपाईंको दायाँ र बायाँतिरको आदरको स्थानमा बस्न दिनुहुन्छ कि?’’
22. तर येशूले तिनीहरूलाई जवाफ दिँदै भन्नुभयो, ‘‘तिमीहरूले के मागिरहेका छौ, त्यो बुझेका छैनौ। के मैले पिउन लागेको कष्टको तीतो कचौराबाट तिमीहरू पिउन सक्छौ?’’ तिनीहरूले जवाफ दिए, ‘‘हजूर, हामी पिउन सक्छौं।’’
23. उहाँले भन्नुभयो, ‘‘साँच्चै, तिमीहरूले त्यो पिउने छौ। तर मेरो सिंहासनको दायाँ र बायाँपट्टि को बस्नेछ भन्ने अधिकार मसँग छैन। ती ठाउँ मेरा पिताले चुन्नुभएकाहरूका निम्ति तयार पारिएका हुन्।’’
24. जब बाँकी दश जना चेलाहरूले याकूब र यूहन्नाले भनेका कुरा सुने, तब तिनीहरू रुष्ट भए।
25. तर येशूले ती सबैलाई बोलाएर भन्नुभयो,‘‘तिमीहरूलाई थाहा छ, यस संसारका राजाहरू निरङ्कुश छन् र शासन गर्ने अधिकारीहरूले जनतामाथि आफ्नो प्रभुत्व जमाउँछन्।
26. तर तिमीहरूको माझमा यस्तो हुनुहुँदैन, तिमीहरूमध्ये जो अगुवा बन्ने इच्छा गर्दछ, ऊ तिमीहरूको सेवक हुनुपर्छ,
27. अनि जो पहिलो हुने इच्छा गर्छ, ऊ तिमीहरूको दास हुनुपर्छ।
28. किनभने म, मानिसको पुत्र, आफै पनि अरुबाट सेवा पाउन आएको होइनँ तर अरुको सेवा गर्न र धेरैको निम्ति छुटकाराको मोलको रूपमा आफ्नो जीवन अर्पण गर्न आएको हुँ।’’
29. येशू र उहाँका चेलाहरू यरीहो शहरबाट निस्किँदै गर्दा एउटा ठूलो भीडले उहाँलाई पछयायो।
30. बाटो किनारमा दुई जना अन्धा बसिरहेका थिए। त्यही बाटो भएर येशू आउँदै हुनुहुन्छ भन्ने कुरा चाल पाएर तिनीहरू कराउन लागे, ‘‘हे प्रभु, दाऊदको पुत्र, हामीमाथि दया गर्नुहोस्।’’
31. भीडले तिनीहरूलाई चुप लगाउन खोजे, तर तिनीहरू अझै जोडसित कराउन लागे, ‘‘हे प्रभु, दाऊदको पुत्र, हामीमाथि दया गर्नुहोस्।’’
32. येशू टक्क अडिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो, ‘‘मैले तिमीहरूको निम्ति के गरिदिऊँ भन्ने चाहन्छौ?’’
33. तिनीहरूले भने, ‘‘प्रभु, हामी देख्न चाहन्छौं।’’
34. येशूले तिनीहरूलाई टिठाउनुभयो र तिनीहरूका आँखा छुनुभयो। तिनीहरू तत्कालै देख्नसक्ने भए। त्यसपछि तिनीहरूले उहाँलाई पछयाए।
|