Bible Study: FrontPage




 

मत्ती, Chapter 21

Bible Study - मत्ती 21 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. येशू र उहाँका चेलाहरू यरूशलेमतिर आउँदै गर्नुहुँदा उहाँहरू जैतुन डाँडाको बेथफागे शहरमा आइपुग्‍‌नुभयो।
  
2. येशूले दुई जनालाई अघि पठाउनुभयो र भन्‍‌नुभयो, ‘‘सामुन्‍‌नेको गाउँमा जाओ, तिमीहरूले त्यहाँ एउटा गधालाई त्यसको बछेडासहित बाँधिराखेको भेट्टाउनेछौ। त्यसलाई बछेडासहित फुकाएर यहाँ लिएर आओ।
  
3. कसैले तिमीहरूलाई ‘यो के गरिरहेका छौ’ भनी सोध्यो भने उसलाई भन्‍‌नू, ‘हाम्रो प्रभुलाई यी चाहिएका छन् र उहाँले तुरुन्तै पठाउनुहुनेछ’।’’
  
4. यो अगमवाणी पूरा होस् भनेर त्यसो गरिएको थियो :
  
5. ‘‘सियोनकी छोरीलाई भन,‘हेर तिम्रा राजा तिमीकहाँ आउँदै हुनुहुन्छ। उहाँ नम्र र विनयी हुनुहुन्छ, उहाँ गधाको बछेडामा चढेर आउँदै हुनुहुन्छ।’’
  
6. येशूले अह्राउनुभएको काम दुई जना चेलाहरूले गरे।
  
7. उनीहरूले ती गधाहरूलाई उहाँकहाँ ल्याए, तब उनीहरूले आफ्‍‌ना वस्त्र फुकाले र त्यस बछेडाको पिठ‍यूँमा राखिदिए अनि उहाँ त्यसमाथि चढ्‍‌नुभयो।
  
8. भीडका मानिसहरूले आ-आफ्‍‌ना खास्टोहरू येशूको अघि बाटोमा ओछ‍याए, अरुले रूखका स्याउलाहरू काटेर उहाँ जाने बाटोमा फिँजाए।
  
9. उहाँ ठूलो भीडको बीचमा हुनुहुन्थ्यो । उहाँको वरिपरिका मानिसहरूले चर्को सोरमा यसो भनिरहेका थिए: ‘‘परमेश्वरलाई स्तुति होस् ! दाऊदका पुत्रको जयजयकार ! परमप्रभुको नाउँमा आउने धन्यको हुनुहुन्छ ! सर्वोच्चमा हुनुहुने परमेश्वरलाई स्तुति होस् !’’
  
10. उहाँ यरूशलेम प्रवेश गर्नुहुँदा सारा शहरभरि हलचल मच्चियो। तिनीहरूले सोध्‍‌न लागे, ‘‘यिनी को हुन्?’’
  
11. भीडले जवाफ दियो, ‘‘यिनी गालीलको नासरतबाट आएका अगमवक्ता, येशू हुन्।’’
  
12. येशू मन्दिरभित्र पस्‍‌नुभयो र त्यहाँ भएका व्यापारी र तिनका ग्राहकहरूलाई त्यहाँबाट धपाउन लाग्‍‌नुभयो । पैसा साट्‍‌ने र ढुकुर बेच्‍‌नेहरूले थापेका टेबुलहरू उहाँले धकेलेर पल्टाइदिनुभयो ।
  
13. उहाँले भन्‍‌नुभयो, ‘‘धर्मशास्त्रमा भनिएको छ, ‘मेरो मन्दिर प्रार्थनाको ठाउँ कहलाइनेछ।’ तर तिमीहरूले त यसलाई चोर-डाँकाहरूको ओडार तुल्यायौ ।’’
  
14. उहाँको छेउमा अन्धा र लङ्गडाहरू आए अनि उहाँले मन्दिरमा नै तिनीहरूलाई निको पार्नुभयो ।
  
15. उहाँले गर्नुभएका यी आश्चर्यकर्महरू मुख्य पूजाहारीहरू र शास्त्रीहरूले देखे र भीडका ससाना केटाकेटीहरूले समेत ‘‘परमेश्वरलाई स्तुति होस्, दाऊदका पुत्रको जयजयकार !’’ भन्दै चर्को सोरले कराइरहेका सुनेर तिनीहरू साह्रै रिसाए।
  
16. अनि तिनीहरूले येशूलाई सोधे, ‘‘यी केटाकेटीहरूले के भनिरहेका छन् तिमीले सुन्दैछौ?’’ येशूले जवाफ दिनुभयो, ‘‘सुन्दैछु, के तिमीहरूले धर्मशास्त्र कहिल्यै पढेका छैनौ? जसले भन्दछ,‘शिशुहरू र दूधेबालकहरूका ओठबाट तपाईंले पूर्ण प्रशंसा निकाल्‍‌नुभएको छ’।’’
  
17. तब उहाँ बेथानीतिर फर्किनुभयो र त्यहाँ रात बिताउनुभयो।
  
18. बिहानै येशू यरूशलेमतिर फर्किरहनुभएको बेला उहाँ भोकाउनुभयो।
  
19. उहाँले बाटोको छेउमा नेभारोको रूख देख्‍‌नुभयो। त्यसमा केही फलेको छ कि भनेर हेर्नलाई उहाँ त्यस रूखतिर जानुभयो तर त्यसमा पातबाहेक केही थिएन । तब उहाँले त्यसलाई भन्‍‌नुभयो,‘‘अब तैँले कहिल्यै फल फलाउने छैनस्।’’ तब तत्कालै त्यो रूख ओइलाइहाल्यो।
  
20. त्यो देखेर चेलाहरू चकित भए र उहाँसँग सोधे, ‘‘यो नेभारोको रूख कसरी यति चाँडै ओइलाइहाल्यो?’’
  
21. तब येशूले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘साँच्चै, म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूसँग विश्वास छ र शंका गरेनौ भने नेभारोको रूखलाई जे गरियो त्यति मात्र होइन तर यस पहाडलाई ‘त्यहाँबाट उखेलिएर समुद्रमा खस्’ भन्यौ भने पनि त्यस्तै हुनेछ।
  
22. तिमीहरूले विश्वाससाथ प्रार्थनामा जे माग्छौ सो पाउनेछौ।’’
  
23. जब येशू मन्दिरमा फर्किनुभयो र उहाँले सिकाइरहनुभएको बेला मुख्य पूजाहारीहरू र अन्य अगुवाहरू उहाँकहाँ आए र सोधे, ‘‘मन्दिरबाट व्यापारीहरूलाई हटाउने अधिकार तिमीले कसबाट पायौ? तिमीलाई यो अधिकार कसले दियो?’’
  
24. येशूले जवाफ दिनुभयो, ‘‘यदि तिमीहरूले मेरो एउटा प्रश्‍‌नको जवाफ दियौ भने मलाई यी कुरा गर्ने अधिकार कसले दियो, सो बताउनेछु।
  
25. यूहन्‍‌नाको बप्तिस्मा स्वर्गबाटको थियो कि मानिसबाटको ?’’ उनीहरूले आपसमा यस विषयमा यसरी छलफल गरे, ‘‘यदि हामीले स्वर्गबाटको भन्यौं भने ‘तिमीहरूले किन उनलाई विश्वास गरेनौ त’ भन्लान्।
  
26. तर मानिसबाटको हो भन्यौं भने हामीलाई यी मानिसहरूको भीडले विरोध गर्लान्, किनकि यिनीहरू ‘यूहन्‍‌ना, अगमवक्ता थिए’ भनी विश्वास गर्छन्।’’
  
27. त्यसैले उनीहरूले अन्त्यमा जवाफ दिए, ‘‘हामी जान्दैनौं।’’ येशूले पनि त्यसैगरी जवाफ दिनुभयो, ‘‘म पनि तिमीहरूले सोधेको प्रश्‍‌नको जवाफ दिन्‍‌नँ।’’
  
28. तिमीहरू यस विषयमा के सोच्छौ? एक जना मानिसका दुई भाइ छोरा थिए, उनले जेठोलाई भने, ‘छोरा, आज अङ्गुरबारीमा गएर काम गर है।’
  
29. छोराले जवाफ दियो, ‘अहँ, म जाँदिनँ।’ तर पछि उसले मन परिवर्तन गर्‍यो र गयो।
  
30. त्यसपछि कान्छो छोरालाई बुबाले सोधे, ‘तँ जान्छस्?’ त्यसले भन्यो, ‘हुन्छ, म जान्छु।’ तर ऊ गएन।
  
31. ती दुई जना छोरामध्ये कसले आफ्‍‌नो बुबाको आज्ञापालन गर्‍यो?’’ उनीहरूले जवाफ दिए, ‘‘जेठोले।’’ तब उहाँले त्यसको व्याख्या गर्दै भन्‍‌नुभयो, ‘‘साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले महसुल उठाउने भ्रष्ट मानिसहरू र वेश्याहरूले परमेश्वरको राज्यमा प्रवेश पाउनेछन्।
  
32. किनभने बप्तिस्मा दिने यूहन्‍‌नाले तिमीहरूलाई धार्मिकताको बाटो देखाए, तापनि तिमीहरूले उनलाई विश्वास गरेनौ तर महसुल उठाउनेहरू र वेश्याहरूले विश्वास गरे। अझै यतिका कुराहरू देखेर पनि आफ्‍‌ना पापबाट फर्किन र उनमाथि विश्वास गर्न तिमीहरूले इन्कार गर्‍यौ।’’
  
33. अब यो दृष्टान्त सुन । एउटा धनी किसानले आफ्‍‌नो जमीनमा अङ्गुर लगायो र त्यसको वरिपरि पर्खाल बनायो। त्यहाँ उसले अङ्गुर पेल्‍‌ने कोल राख्यो र मचान पनि बनायो। त्यसपछि उसले मोहीहरूलाई आफ्‍‌नो अङ्गुरबारी हेरचाह गर्ने जिम्मा लगायो र अर्कै मुलुकमा गएर बस्यो।
  
34. अङ्गुर पाक्‍‌ने बेला आयो, तब उसले फसलबाट आफ्‍‌नो भाग उठाउन भनेर नोकरहरूलाई मोहीहरूकहाँ पठायो।
  
35. तर मोहीहरूले उसका नोकरहरूमध्ये एउटालाई पिटे, अर्कोलाई मारे र अर्को एउटालाई ढुङ्गाले हाने।
  
36. फेरि त्यस जमीनको मालिकले अझै ठूलो संख्यामा नोकरहरू पठाएर आफ्‍‌नो भाग उठाउन खोज्यो । तर ती मोहीहरूले तिनीहरूलाई पनि त्यसै गरे।
  
37. आखिरमा उसले विचार गर्‍यो, ‘मैले आफ्‍‌नै छोरालाई पठाएँ भने तिनीहरूले आदर गर्लान्।’ तब उसले आफ्‍‌नो छोरोलाई पठायो।
  
38. जब ती मोहीहरूले मालिकको छोरोलाई आउँदैगरेको देखे र आपसमा सल्लाह गरे,‘यस जमीनको हकवाला आउँदै छ। लौ त्यसलाई मारौं, त्यसपछि त यो सबै सम्पत्ति हाम्रो हुनेछ।
  
39. यसरी तिनीहरूले उसलाई पक्रेर घिसार्दै अङ्गुरबारीबाट बाहिर लगे र मारे।’’
  
40. तब येशूले प्रश्‍‌न गर्नुभयो, ‘‘अङ्गुरबारीको मालिक फर्केर आउँदा उसले ती मोहीहरूलाई के गर्छ होला?’’
  
41. धार्मिक अगुवाहरूले जवाफ दिए, ‘‘उसले ती दुष्ट मोहीहरूलाई भयानक दण्ड दिएर मार्नेछ र त्यो अङ्गुरबारी वर्षैपिच्छे फसलको समयमा उसको भाग छुट्ट‍याउने अर्कै मोहीहरूलाई कमाउन दिनेछ।’’
  
42. त्यसपछि येशूले तिनीहरूलाई सोध्‍‌नुभयो, ‘‘के तिमीहरूले धर्मशास्त्रमा यो कहिल्यै पढेका छैनौ : ‘डकर्मीहरूले रद्द गरेको ढुङ्गो नै कुनाको शिरढुङ्गो बन्यो। यो परमप्रभुको काम हो, यो हाम्रो दृष्टिमा अचम्मको छ।’
  
43. मैले भन्‍‌न खोजेको के हो भने परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ र अर्कै जातिलाई दिइनेछ, जसले त्यसको फल फलाउनेछ।
  
44. त्यस ढुङ्गामा ठोक्किने जोसुकै टुक्राटुक्रा हुन्छ र जसमाथि त्यो ढुङ्गो बज्रिन्छ, ऊ पनि धूलोपीठो हुन्छ।’’
  
45. मुख्य पूजाहारीहरू र फरिसीहरूले येशूको यो दृष्टान्त सुनेपछि तिनीहरूकै विषयमा उहाँ बोल्‍‌नुभएको हो भनी बुझे।
  
46. तर उहाँलाई पक्रन खोज्दा तिनीहरू भीडसँग डराए, किनकि उनीहरूले उहाँलाई भविष्यवक्ता भनी मानेका थिए।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES