1. स्वर्गको राज्यलाई दश कन्याहरूसँग तुलना गर्न सकिन्छ, जो आ-आफ्ना बत्ती लिएर दुलहालाई भेट्न गए।
2. तिनीहरूमा पाँच जना निर्बुद्धिहरू थिए र पाँच जना बुद्धिमतीहरू थिए।
3. पाँच निर्बुद्धि कन्याहरूले आफूसँग जगेडा तेल बोकेका थिएनन्।
4. तर अरु पाँच बुद्धिमती कन्याहरूले जगेडा तेल आफूसँगै लगेका थिए।
5. दुलहा आउन ढीला भएको थियो, ती सबै ढल्किए र निदाइहाले।
6. मध्यराततिर तिनीहरूले यसो भनेर बोलाएको सुने,‘हेर,दुलहा आउँदैछन्। आओ र उनको स्वागत गर ।’
7. सबै कन्याहरू उठे र आ-आफ्ना बत्ती ठीक पार्नलागे ।
8. तर पाँच निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने,‘तिमीहरूको तेल अलिकति हामीलाई पनि देओ, हाम्रा बत्तीहरू त निभ्नलागे।’
9. तर बाँकी पाँच बुद्धिमतीहरूले जवाफ दिए, ‘हामीसँगै पर्याप्त तेल छैन, बरु पसलमा गएर आफ्नालागि तेल किन।’
10. तर, जब तिनीहरू तेल किन्न पसलतिर लागे, दुलहा आइपुगे र तिनको प्रतीक्षा गरिरहेका पाँच कन्याहरू उनीसँगै विवाह-भोजमा सामेल हुन भित्र पसे र ढोका बन्द भइहाल्यो।
11. त्यसपछि, बाँकी पाँच आए र ढोका बाहिर उभिएर यसो भन्दै ढोका घचघच्याउन थाले,‘महाशय, हाम्रानिम्ति ढोका उघार्नुहोस् !’
12. तर उनले भित्रबाट जवाफ दिए, ‘म तिमीहरूलाई चिन्दिनँ।’
13. त्यसकारण जागा रहो र तयार भई बस, किनभने म कुन दिन, कुन बेला फर्किआउँछु, तिमीहरू जान्दैनौ।
14. त्यसैगरी, स्वर्गर्को राज्य टाढा देशमा जाने एक जना मानिसजस्तो हो, जसले आफ्ना नोकरहरूलाई बोलाएर आफ्नो सम्पत्ति तिनीहरूलाई जिम्मा दियो।
15. उसले तिनीहरूको क्षमताअनुसार एक जनालाई पाँच, अर्कोलाई दुई र अर्कोलाई एक तोडा दियो अनि आफ्नो बाटो लाग्यो।
16. पाँच तोडा पाउनेले लगानी गरिहाल्यो र दोबर कमायो।
17. दुई तोडा पाउनेले पनि लगानी गर्यो र दोबर कमायो।
18. तर एक तोडा पाउनेले मालिकको त्यो तोडा लगेर भुइँ खनेर लुकाइराख्यो।
19. धेरै समय बितेपछि मालिक फर्कियो र ती नोकरहरूसँग आफ्नो रुपियाँको हिसाब माग्यो।
20. पाँच तोडा पाउनेले भन्यो,‘हजूर तपाईंले मलाई पाँच तोडा लगानी गर्न भनेर दिनुभएको थियो। हेर्नुहोस्, मैले त्यसलाई दोबर बनाएँ।’
21. उसको मालिकले त्यसलाई भन्यो, ‘स्याबास, तिमी मेरो असल र विश्वसनीय नोकर ! तिमीलाई मैले दिएको थोरै रकममा विश्वसनीय भयौ, त्यसैले अब म तिमीलाई धेरै जिम्मेवारीहरू दिनेछु। आऊ, मसँगै तिमी आनन्द मनाऊ।’
22. दुई तोडा पाउनेले पनि आएर भन्यो,‘हजूर, तपाईंले मलाई दुई तोडा दिनुभएको थियो। मैले त्यसलाई दोबर बनाएको छु।’
23. मालिकले भन्यो, ‘स्याबास, तिमी असल र विश्वसनीय नोकर ! तिमीलाई मैले दिएको थोरै रकममा विश्वसनीय भयौ, त्यसैले अब म तिमीलाई धेरै जिम्मेवारीहरू दिनेछु। आऊ, मसँगै तिमी आनन्द मनाऊ।’
24. त्यसपछि एउटै मात्र तोडा पाउने आयो र भन्यो, ‘हजूर, तपाईं कति निर्दयी हुनुहुन्छ भन्ने कुरा मलाई थाहा छ। तपाईं आफूले नछरेको ठाउँमा बटुल्ने र नरोपेको ठाउँमा कटनी गर्ने व्यक्ति हुनुहुन्छ।
25. त्यसकारण तपाईंको तोडा हराउला भनेर मलाई डर लाग्यो र मैले यसलाई जमीनमा गाडेर राखेँ। यी, तपाईंको तोडा जस्ताको त्यस्तै छ, लिनुहोस्।’
26. तर मालिकले त्यसलाई जवाफ दियो, ‘तँ अल्छे र दुष्ट नोकर, म त्यस्तो नछरेको ठाउँमा बटुल्ने र नरोपेको ठाउँमा कटनी गर्ने निर्दयी छु भन्ने कुरा तँलाई थाहा थियो भने त
27. तैंले त्यसलाई ब्याजमा लगाउँथिस् र कम्तीमा पनि अहिले मलाई ब्याजसहित फिर्ता गर्न ल्याउँथिस्।
28. यो नोकरबाट त्यो तोडा खोसेर दश तोडा हुनेलाई दिइहाल।
29. जसले आफूले पाएको कुराको ठीक सदुपयोग गर्छ, उसलाई अझै बढ्ता दिइनेछ र ऊसँग प्रशस्त हुनेछ । तर थोरै कुरामा विश्वसनीय नहुनेबाट भएको पनि खोसिनेछ र जससँग धेरै छ, उसैलाई दिइनेछ ।
30. यस बेकम्मा नोकरलाई बाहिरको अन्धकारमा फालिदेओ, जहाँ दाह्रा किटाइ र रुवाबासी हुनेछ।’
31. तर जब मानिसको पुत्र स्वर्गदूतहरूको साथमा आफ्नो महिमामा आउनेछ, तब ऊ आफ्नो महिमित सिंहासनमा बस्नेछ।
32. सबै जातिहरू उसको सामुन्ने खडा हुनेछन् र उसले तिनीहरूलाई गोठालोले बाख्राहरूबाट भेडाहरूलाई छुट्टयाएजस्तै छुट्टयाउनेछ।
33. उसले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि र बाख्राहरूलाई आफ्नो देब्रेपट्टि राख्नेछ।
34. त्यसपछि दाहिनेतिरकाहरूलाई राजाले भन्नेछ, ‘मेरा पिताद्वारा आशिष् पाउनेहरू हो ! संसारको जग बसालिएकै बेलादेखि तिमीहरूको निम्ति तयार पारिएको राज्य अधिकार गर।
35. किनभने, म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दियौ। म तिर्खाएको थिएँ र तिमीहरूले मलाई पिउन दियौ। म परदेशी थिएँ र तिमीहरूले मलाई आफ्नै घरमा निम्त्यायौ।
36. म नाङ्गो थिएँ र तिमीहरूले मलाई कपडा पहिर्यायौ। म बिमारी थिएँ र तिमीहरूले मेरो वास्ता गर्यौ। म झ्यालखानमा परेको थिएँ र तिमीहरू त्यहाँ मलाई भेट्न आयौ।’
37. तब ती धर्मीहरूले सोध्नेछन्, ‘प्रभु, हामीले तपाईंलाई कहिले भोको देख्यौं र खान दियौं? अथवा कहिले तिर्खाएको देख्यौं र पिउन दियौं?
38. अथवा तपाईं कहिले परदेशी हुनुभएको थियो र हामीले तपाईंलाई पाहुना बनायौं? वा कहिले नाङ्गो देख्यौं र लुगा लगाइदियौं?
39. तपाईं कहिले बिरामी वा झ्यालखानमा पर्नुभएको थियो र हामी तपाईंलाई हेर्न आयौं?’
40. राजाले तिनीहरूलाई जवाफ दिनेछ, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, मेरा दाजुभाइ र दिदी-बहिनीहरूमध्ये सबैभन्दा सानोलाई जे गर्यौ, त्यो तिमीहरूले मलाई नै गरेका थियौ।’
41. त्यसपछि राजाले आफ्नो देब्रे हातपट्टिकाहरूतर्फ फर्किएर भन्नेछ, ‘ए श्रापितहरू हो ! मबाट टाढा भइजाओ। शैतान र त्यसका भूतात्माहरूको निम्ति तयार पारिएको अनन्त आगोको खाँदमा तिमीहरू पनि जाकिओ।
42. किनभने, म भोकाएको थिएँ, तिमीहरूले मलाई खान दिएनौ। म तिर्खाएको थिएँ र तिमीहरूले मलाई केही पनि पिउन दिएनौ।
43. म परदेशी थिएँ, तिमीहरूले मलाई बास बस्न दिएनौ। म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिर्याइदिएनौ, म बिरामी परेको र झ्यालखानमा थुनिएको थिएँ र तिमीहरू मलाई हेर्न पनि आएनौ।’
44. तब तिनीहरूले उहाँलाई सोध्नेछन्, ‘प्रभु, हामीले तपाईंलाई कहिले भोकाएको वा तिर्खाएको, परदेशी, नाङ्गो वा बिरामी परेको कि झ्यालखानमा थुनिएको देख्यौं र?’
45. अनि उसले जवाफ दिनेछ, ‘साँच्चै, म तिमीहरूलाई भन्दछु, मेरा दाजुभाइ र दिदीबहिनीहरूमध्ये सबैभन्दा सानोलाई तिमीहरूले सहायता गर्न इन्कार गर्यौ, त्यो तिमीहरूले मलाई नै गर्यौ।’
46. तब तिनीहरू अनन्तको दण्डमा पर्नेछन्, तर धर्मीहरू अनन्त जीवनमा सहभागी हुनेछन्।’’
|