Bible Study: FrontPage




 

मत्ती, Chapter 26

Bible Study - मत्ती 26 - Nepali - Nepali Bible - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. येशूले यी कुरा भनिसकेपछि आफ्‍‌ना चेलाहरूलाई भन्‍‌नुभयो,
  
2. ‘‘तिमीहरूलाई थाहा छ, अबको दुई दिनमा निस्तार-चाड शुरु हुँदैछ। त्यसबेला मानिसको पुत्र पक्राउ पर्नेछ र उसलाई तिनीहरूले क्रूसमा टाँग्‍‌नेछन्।’’
  
3. त्यसैबेला प्रधान पूजाहारी कैयाफाको घरमा मुख्य पूजाहारीहरू र अरु यहूदी अगुवाहरू भेला भए।
  
4. तिनीहरूले येशूलाई कसरी गुप्तमा पक्रने र मार्ने भनी आपसमा छलफल गरे।
  
5. ‘‘निस्तार-चाडको समयमा उहाँलाई पक्रेर मार्ने काम गर्नु हुँदैन, नत्र हूलदङ्गा हुनसक्छ’’ भन्‍‌ने कुरामा तिनीहरू सहमत भए।
  
6. त्यसबेला येशू बेथानीमा सिमोन भन्‍‌ने एक जना कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो,
  
7. खाना खाने बेलामा एउटी स्त्री हातमा सिङ्गमरमरको एउटा शीशीमा जटामसीको बहुमूल्य अत्तर लिएर भित्र आई र त्यसले येशूको शिरमा त्यो खन्याइदिई।
  
8. त्यो देखेर चेलाहरू रिसाए। तिनीहरूले झर्को मान्दै भने, ‘‘व्यर्थमा यति महँगो अत्तर किन खेर फालेकी?
  
9. त्यो बेच्दा निकै पैसा आउनेथियो र त्यो गरीबहरूलाई दिन सकिने थियो।’’
  
10. तर येशूले जवाफ दिनुभयो, ‘‘तिमीहरू किन ऊसित झर्को मान्छौ? यिनले असलै गरेकी छिन्।
  
11. तिमीहरूसँग गरीबहरू सधैँ हुनेछन्, तर अब धेरै दिनसम्म म तिमीहरूसँग हुनेछैनँ।
  
12. यिनले मेरो शरीरमा लगाइदिएको यो अत्तर त मेरो दफनको निम्ति तयारी हो।
  
13. साँच्चै, म तिमीहरूलाई भन्दछु, संसारभरि जहाँजहाँ सुसमाचार प्रचार गरिनेछ, यिनको सम्झनास्वरूप यस कामको सधैँ चर्चा हुनेछ।’’
  
14. त्यसपछि येशूका बाह्र चेलामध्येका एउटा, यहूदा इस्करियोत मुख्य पूजाहारीहरूलाई भेट्‍‌न गयो।
  
15. त्यसले तिनीहरूलाई सोध्यो, ‘‘मैले येशूलाई तपाईंहरूको हातमा पक्राइदिएँ भने मलाई कति दिनुहुन्छ।’’ तब तिनीहरूले उसलाई तीसवटा चाँदीका सिक्का दिए।
  
16. त्यसैबेलादेखि यहूदाले येशूलाई पक्राउने उचित मौका खोज्‍‌न थाल्यो।
  
17. अखमीरी रोटीको चाडको पहिलो दिनमा चेलाहरूले येशूकहाँ आएर सोधे, ‘‘हामीले निस्तार-चाडको भोज कहाँ तयार गरौं भन्‍‌ने तपाईं चाहनुहुन्छ।’’
  
18. उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘तिमीहरू जब शहरमा जान्छौ, त्यहाँ एउटा मानिसलाई भेट्‍‌नेछौ, तब उसलाई भन्‍‌नू, हाम्रा गुरु भन्‍‌नुहुन्छ: ‘मेरो समय आएको छ, म तिम्रो घरमा मेरा चेलाहरूसँग निस्तार - चाडको भोजन गर्न चाहन्छु’।’’
  
19. चेलाहरूले, येशूले भन्‍‌नुभएझैँ गरे र तिनीहरूले निस्तार-चाडको भोज तयार पारे।
  
20. साँझ परेपछि येशू आफ्‍‌ना बाह्रै चेलाहरूसँग भोजको टेबुलमा बस्‍‌नुभयो।
  
21. खाँदै गर्दा उहाँले भन्‍‌नुभयो, ‘‘साँच्चै म तिमीहरूलाई भन्छु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।’’
  
22. तिनीहरू सबै साह्रै दु:खी भए र एक-एक गर्दै तिनीहरूले उहाँलाई सोधे, ‘‘प्रभु, तपाईंलाई धोका दिने त्यो एक जना म नै त होइनँ?’’
  
23. अनि उहाँले भन्‍‌नुभयो, ‘‘मसँगै खान बस्‍‌ने तिमीहरूमध्येको एक जनाले मलाई धोका दिनेछ,
  
24. किनकि मानिसको पुत्र त धर्मशास्त्रले धेरै अघिबाटै भनेअनुसार मर्नैपर्छ, तर धिक्कार होस् मलाई धोका दिनेलाई ! ऊ त बरु नजन्मिएको भए पनि हुन्थ्यो। ’’
  
25. उहाँलाई धोका दिन तयार रहेको यहूदाले पनि उहाँलाई सोध्यो, ‘‘गुरुज्यू, तपाईंलाई धोका दिने त्यो एक जना, म नै त होइनँ?’’ उहाँले भन्‍‌नुभयो, ‘‘तिमी आफैले भनिहाल्यौ ।’’
  
26. तिनीहरूले खाँदै गर्दा येशूले रोटी लिनुभयो र त्यसमा परमेश्वरको आशिष् माग्‍‌नुभयो। अनि उहाँले त्यो भाँच्‍‌नुभयो र यसो भन्दै चेलाहरूलाई बाँड्‍‌नुभयो,‘‘यो मेरो शरीर हो, लेओ र खाओ।’’
  
27. त्यसपछि उहाँले अङ्गुरको रस भएको कचौरा लिनुभयो र त्यसको निम्ति परमेश्वरलाई धन्यवाद दिनुभयो। त्यो कचौरा तिनीहरूलाई दिँदै भन्‍‌नुभयो,‘‘तिमीहरू सबैले यसबाट पिओ,
  
28. किनभने परमेश्वर र उहाँका मानिसहरू बीचमा बाँधिएको यो नयाँ करारको रगत हो, जुन धेरैका पाप क्षमा गर्नका निम्ति बगाइन्छ।
  
29. तर म तिमीहरूलाई भन्दछु, मेरा पिताको राज्यमा तिमीहरूसित नयाँ रीतिले नपिएसम्म म यसलाई फेरि पिउनेछैनँ।’’
  
30. त्यसपछि उहाँहरूले एउटा भजन गाउनुभयो र जैतुन डाँडातिर जानुभयो।
  
31. येशूले चेलाहरूलाई भन्‍‌नुभयो, ‘‘आज राती तिमीहरू सबैले मलाई त्याग्‍‌नेछौ, किनभने धर्मशास्त्रमा यसो भनिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु र बगालका भेडाहरू तितरबितर हुनेछन्।’
  
32. तर मृतकबाट पुनर्जीवित भएपछि म तिमीहरूभन्दा अघि नै गालीलमा जानेछु र त्यहीँ तिमीहरूलाई भेट्‍‌नेछु।’’
  
33. पत्रुसले उहाँको कुरा सुनेर भनिहाले, ‘‘सबै जनाले तपाईंलाई त्यागे तापनि म तपाईंलाई कहिल्यै त्याग्‍‌नेछैनँ।’’
  
34. येशूले उनलाई भन्‍‌नुभयो, ‘‘पत्रुस, साँचो कुरा त के हो भने आजै राती भाले बास्‍‌नुभन्दा अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।’’
  
35. पत्रुसले उहाँलाई भने, ‘‘कदापि त्यस्तो हुनेछैन। म तपाईंसँगै मर्नुपरे पनि तपाईंलाई कहिल्यै त्याग्‍‌नेछैनँ।’’ अनि अरु सबैले पनि त्यसै भने।
  
36. त्यसपछि येशूले आफ्‍‌ना चेलाहरूलाई गेतसमनी भन्‍‌ने ठाउँमा लिएर जानुभयो। तिनीहरूलाई त्यहाँ पर्खिन लगाउँदै उहाँले भन्‍‌नुभयो, ‘‘तिमीहरू यहीँ बस्दै गर, म अलिक पर गएर प्रार्थना गर्छु।’’
  
37. उहाँले पत्रुस र जब्दियाका छोरा यूहन्‍‌ना र याकूबलाई अलिक पर लैजानुभयो, उहाँ ज्यादै शोकित र व्याकुल हुन लाग्‍‌नुभयो ।
  
38. उहाँले तिनीहरूलाई भन्‍‌नुभयो, ‘‘मेरो प्राण मृत्यु नै होलाझैँ गरी अति नै शोकले भरिएको छ, तिमीहरू यहीँ बस र मसँग जागा रहो।’’
  
39. उहाँ अझै परतिर जानुभयो र घोप्टो परेर प्रार्थना गर्दै भन्‍‌नुभयो, ‘‘हे पिता, सम्भव हुन्छ भने यो दु:खको कचौरा मबाट हटाइदिनुहोस्, तैपनि मेरो इच्छाअनुसार होइन, तपाईंको इच्छाअनुसार हुन दिनुहोस्।’’
  
40. त्यसपछि उहाँ चेलाहरू भएको ठाउँमा आउनुभयो र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो। उहाँले पत्रुसलाई भन्‍‌नुभयो, ‘‘के तिमी एक घण्टा पनि मसँग जागा रहन सकेनौ?
  
41. जागा बस र प्रार्थना गर, नत्रभने परीक्षाले तिमीलाई जित्ला। आत्मा त तयार छ तर शरीर कमजोर छ।’’
  
42. फेरि उहाँले तिनीहरूलाई त्यहीँ छोडेर जानुभयो र यो प्रार्थना गर्नुभयो, ‘‘हे मेरा पिता, यदि यो कचौरा मैले नपिएसम्म हट्‍‌न सक्दैन भने तपाईंकै इच्छा पूरा होस्।’’
  
43. उहाँ फेरि तिनीहरूकहाँ फर्किनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा निद्राले लट्ठिएका थिए।
  
44. तिनीहरूलाई छोडेर उहाँ फेरि जानुभयो र तेस्रोपल्ट पनि त्यही शब्दहरू दोहोर्‍याउँदै प्रार्थना गर्नुभयो।
  
45. त्यसपछि उहाँ चेलाहरूकहाँ फर्किनुभयो र भन्‍‌नुभयो, ‘‘तिमीहरू अझै निदाइरहेका छौ? के तिमीहरू अझै आराम गरिरहेका छौ ? हेर, समय आएको छ, म, मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइएको छ।
  
46. उठ, जाऔं। हेर, मलाई धोका दिने यहीँ छ।’’
  
47. उहाँले त्यसो भन्दै गर्नुहुँदा, उहाँका बाह्र चेलाहरूमध्येको एक, यहूदा भाला र तरवार बोकेक ा सिपाहीहरूको एउटा पल्टन लिएर त्यहाँ आइपुग्यो। तिनीहरू प्रधान पूजाहारीहरू र मानिसका अरु अगुवाहरूद्वारा पठाइएका थिए।
  
48. ‘म जसलाई चुम्बन गर्छु, तिमीहरूले उसैलाई पक्रनू’ भनी यहूदाले पहिल्यै सङ्केत दिएको थियो।
  
49. त्यसकारण यहूदा सीधै येशूकहाँ आयो र ‘‘गुरु, अभिवादन !’’ भन्दै उहाँलाई चुम्बन गर्‍यो।
  
50. येशूले त्यसलाई भन्‍‌नुभयो, ‘‘मित्र, तिमी जे गर्न भनेर आएका छौ, त्यो गरिहाल।’’ ऊसँगै आएका अरु मानिसहरूले उहाँलाई पक्रे।
  
51. येशूसँग हुनेहरूमध्ये एक जनाले तरवार थुतेर प्रधान पूजाहारीको सेवकको कान च्वाट्टै पारिदियो।
  
52. येशूले उसलाई भन्‍‌नुभयो, ‘‘तिम्रो तरवार म्यानमा राख। तरवार चलाउनेहरू तरवारद्वारा नै नष्ट हुन्छन्।
  
53. के तिमीलाई थाहा छैन, मैले पितासँग गुहार मागेँ भने उहाँले अहिल्यै स्वर्गदूतहरूका बाह्र पल्टनभन्दा बढी मेरोनिम्ति पठाइदिनुहुन्‍‌न र?
  
54. तर मैले त्यसो गरेँ भने यी कुरा हुनैपर्छ भनेर धर्मशास्त्रले भनेको कसरी पूरा हुन्छ र?’’
  
55. त्यसपछि येशूले भीडतिर फर्केर भन्‍‌नुभयो, ‘‘के म त्यस्तो खतरनाक अपराधी हुँ र तिमीहरू मलाई पक्रिन यसरी भाला र तरवार बोकेर आयौ ? म मन्दिरमा हुँदा किन मलाई पक्रेनौ ? म त्यहाँ दिनहुँ शिक्षा दिइरहेको हुन्थेँ।
  
56. तर धर्मशास्त्रमा उल्लेख भएका अगमवक्ताहरूको वचन पूरा होस् भनेर यो हुनआएको हो ।’’ त्यसैबेला उहाँका सबै चेलाहरूले उहाँलाई एकलै छोडेर भागे।
  
57. पक्रनेहरूले येशूलाई प्रधान पूजाहारी कैयाफाको घरमा लगे, जहाँ यहूदी अगुवाहरू र धार्मिक व्यवस्थाका शिक्षकहरू भेला भएका थिए।
  
58. त्यसैबेला पत्रुस येशूलाई टाढैबाट पछ‍याउँदै प्रधान पूजाहारीको आँगनसम्म आइपुगे। उनी भित्र पसे र त्यहाँ येशूलाई के के गरिने हो भनी हेर्न पालेहरूसँग बसे।
  
59. त्यहाँ, प्रधान पूजाहारी र सम्पूर्ण महासभाले येशूको विरुद्धमा झूटो साक्षी दिने मानिसको खोजी गरिरहेका थिए, जसको आधारमा तिनीहरूले उहाँलाई मृत्युदण्ड दिनसक्थे।
  
60. उहाँको विरोधमा झूटो गवाही दिने धेरै जना मानिसहरू भेटिए पनि तिनीहरूले प्रयोग गर्नसक्‍‌ने कुनै गवाही थिएन। आखिरीमा दुई जना भेटिए,
  
61. तिनीहरूले भने,‘‘यस मानिसले ‘परमेश्वरको मन्दिरलाई भत्काएर तीन दिनमा बनाउनसक्छु’ भन्यो।’’
  
62. तब प्रधान पूजाहारी खडा भएर येशूलाई भने, ‘‘के तँ केही जवाफ दिँदैनस्? आफ्‍‌नो विषयमा तेरो भन्‍‌नु के छ?’’
  
63. तर येशूले मुख खोल्‍‌नुभएन। त्यो देखेर प्रधान पूजाहारीले भने,‘‘जीवित परमेश्वरको नाउँमा म तँलाई सोध्छु- हामीलाई बता, के तँ परमेश्वरको पुत्र, मसीह होस्?’’
  
64. येशूले जवाफ दिनुभयो,‘‘हो, तपाईंले भन्‍‌नुभएजस्तै हो। तपाईंले भविष्यमा म, मानिसको पुत्रलाई स्वर्गमा परमेश्वरको दाहिने बाहुलीतिर बसिरहेको र बादलमा फर्किआउँदै गरेको देख्‍‌नुहुनेछ।’’
  
65. उहाँको कुरा सुनेर प्रधान पूजाहारीले आफ्‍‌नो वस्त्र च्याते र कराउँदै भने, ‘‘यसले त ईश्वर-निन्दा गर्दैछ। अब हामीलाई अरु साक्षीको आवश्यकता नै किन पर्‍यो र? तिमीहरू सबैले यसले ईश्वर-निन्दा गरेको सुन्यौ।
  
66. अब तिमीहरू के भन्छौ?’’ तिनीहरूले एकै स्वरमा भने, ‘‘यो दोषी छ, यसलाई मार्नुपर्छ।’’
  
67. त्यसपछि तिनीहरूले येशूको मुखमा थुकेर मुक्काले हाने र कसैले यसो भन्दै थप्पड लगाए,
  
68. ‘‘ए मसीह, लौ हाम्रोलागि अगमवाणी गर् ! तँलाई कसले पिट‍यो, भन्?’’
  
69. त्यसबेला पत्रुस बाहिरपट्टि आँगनमा बसिरहेका थिए। एउटी नोकर्नी उनको नजिक आई र यसो भनी, ‘‘तिमी पनि गालीली येशूसँग हुनेहरूमध्येका एक हौ, होइनौ र?’’
  
70. तर त्यहाँ हुनेहरू सबैको अगाडि उनले त्यो कुरा अस्वीकार गर्दै भने, ‘‘तिमी के भनिरहेकी छ‍यौ, मलाई केही पनि थाहा छैन।’’
  
71. त्यसको केही बेरपछि बाहिरी ढोकामा अर्की नोकर्नीले पत्रुसलाई देखी र त्यहाँ हुनेहरूलाई भनी, ‘‘यो मानिस पनि नासरतको येशूसँगै थियो।’’
  
72. फेरि पनि पत्रुसले यसो भनेर शपथ खाँदै अस्वीकार गरे, ‘‘म त्यस मानिसलाई चिन्दै चिन्दिनँ।’’
  
73. एकैछिनपछि त्यहाँ हुनेहरूमध्ये कोही उनको नजीकै आएर भन्यो, ‘‘तिम्रो चालढाल नै गालीली देखिन्छ, यसकारण तिमी पनि तिनीहरूमध्येका एक हौ भनी हामी भन्‍‌न सक्छौं।’’
  
74. तब पत्रुसले आफैलाई धिक्कार्दै शपथ खाएर तिनीहरूलाई भने, ‘‘ म त्यस मानिसलाई चिन्दै चिन्दिनँ !’’ उनले यसो भन्‍‌नेबित्तिकै भाले बास्यो।
  
75. तब येशूले भन्‍‌नुभएको कुरा पत्रुसलाई याद भयो । उहाँले यसो भन्‍‌नुभएको थियो, ‘‘भाले बास्‍‌नभन्दा अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ।’ त्यसपछि उनी त्यहाँबाट निस्केर गए र पछुतो गर्दै रोए।


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This is to update you that I have obtained the permission to release the Nepali Bible translated by GFA Bible Society in E-Sword format after a short meeting with Bishop Narayan Sharma.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES