1. होशियार होऊ, सबैले देखून् भनेर केही काम नगर, तिनीहरूबाट सम्मान पाउनलाई सबैले देख्ने गरी केही काम गर्यौ भने स्वर्गमा हुनुहुने पिताबाट पाइने इनाम तिमीहरूले गुमाउनेछौ।
2. यदि अभावमा परेको कुनै मानिसलाई तिमीहरू केही दिँदै छौ भने कपटीहरूले झैँ त्यस विषयमा हल्ला नगर, जसले आफ्नो दानकार्यप्रति अरुहरूको ध्यान खिँच्न सभाघर र मूल बाटोहरूमा तुरही फुक्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम अघिबाटै पाइसकेका हुन्छन्।
3. तर यदि तिमीहरू कसैलाई केही दिँदै छौ भने तिम्रो दाहिने हातले के दिँदै छ, सो देब्रे हातलाई थाहा नहोस् ।
4. तिमीहरूले दिनुपर्ने कुरा गुप्तमा देऊ र सबै गुप्त कुरा जान्नुहुने तिम्रा पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ।
5. ‘‘जब तिमीहरू प्रार्थना गर्छौ, तब कपटीहरूजस्ता नहोऊ। तिनीहरू सबैले सुनून् भनेर सडकका चोक र सभाघरहरूमा खडा भएर प्रार्थना गर्छन् । साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले पाउने इनाम त्यति नै हो।
6. तर तिमीहरूले प्रार्थना गर्दा आफ्नो कोठाभित्र पसेर ढोका लगाऊ र पितासँग गुप्तमा प्रार्थना गर। तब सबै गुप्त कुरा देख्नुहुने तिम्रा पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ।
7. प्रार्थना गर्दा अन्य धर्मावलम्बीहरूझैँ व्यर्थै नबर्बराऊ। तिनीहरू घरीघरी एउटै शब्द फलाकेर मात्रै आफ्नो प्रार्थनाको जवाफ पाइन्छ भनी विचार गर्छन्।
8. तिनीहरूजस्तो नहोऊ, किनभने तिमीहरूलाई के खाँचो छ र तिमीहरूले के माग्न लागेका छौ भन्ने कुरा तिम्रा पिताले जान्नुहुन्छ।
9. तिमीहरू यसरी प्रार्थना गर : ‘हे हाम्रा स्वर्गमा बस्नुहुने पिता, तपाईंको नाउँ पवित्र मानियोस्,
10. तपाईंको राज्य चाँडै आओस्। तपाईंको इच्छा स्वर्गमा झैँ यस पृथ्वीमा पनि पूरा होस्।
11. हामीलाई आजको भोजन दिनुहोस्,
12. हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि हाम्रा अपराधीहरूलाई क्षमा गरेका छौं।
13. हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटकारा दिनुहोस्।
14. यदि तिमीहरूले आफ्नो विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गर्यौ भने तिम्रा स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ ।
15. यदि तिमीहरूले अरुलाई क्षमा गरेनौ भने तिम्रा पिताले पनि तिम्रा पाप क्षमा गर्नुहुनेछैन।
16. जब तिमीहरू उपवास बस्छौ, कपटीहरूले झैँ नगर, जसले आफूलाई उपवास बसेकोमा मानिसहरूले प्रशंसा गरून् भनेर आफ्नो अनुहार निन्याउरो र फुस्रो बनाउँछन् । साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले पाउने इनाम त्यत्ति नै हो।
17. तर तिमीहरू, जब उपवास बस्दछौ तब कपाल कोर र मुख धोऊ।
18. तिम्रा पिताबाहेक अरु कसैले पनि तिमीहरू उपवास बसेका छौ भन्ने कुरा थाहा नपाओस्, उहाँले मात्रै तिमीहरूले गुप्तमा गरेका कुरा जान्नुहुन्छ। सबै गोप्यता जान्नुहुने तिम्रा पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ।
19. यस पृथ्वीमा धनसम्पत्ति नथुपार, जहाँ त्यसमा खिया लाग्छ र कीराले खाएर नष्ट पार्छन् अनि चोरले फोर्छन् र चोरेर लैजान्छन् ।
20. तिम्रो धनसम्पत्ति स्वर्गमा थुपार, जहाँ त्यसमा न त खिया लाग्छ, न कीराले नै नष्ट पार्दछ, अनि चोरले पनि चोर्न सक्दैन ।
21. जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन हुन्छ।
22. तिम्रो आँखा शरीरको निम्ति बत्ती हो । तिम्रो स्वच्छ आँखाले तिम्रो शरीरलाई नै उज्यालो बनाउँछ।
23. तर खराब आँखाले तिम्रो ज्योति निभाउँछ र तिमीहरूलाई अन्धकारमा पुर्याइदिन्छ। यदि तिमीहरूमा भएको ज्योति अन्धकार हो भने अन्धकार अझ कति गाढा होला।
24. कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन, किनभने तिमीहरूले एउटालाई प्रेम गर्नेछौ र अर्कोलाई घृणा गर्नेछौ, अथवा तिमीहरू एउटाप्रति समर्पित हुनेछौ र अर्कोलाई हेला गर्नेछौ। तिमीहरूले धन र परमेश्वर, दुवैको सेवा गर्न सक्दैनौ।
25. त्यसकारण म तिमीहरूलाई भन्दछु, ‘प्रशस्त खाने, पिउने र लगाउने कुरा होस्’ भनेर आफ्नो दैनिक जीवनको निम्ति फिक्री नगर। के जीवन खानेकुरा र वस्त्रभन्दा बढ्ता मूल्यवान् होइन र ?
26. चराचुरुङ्गीहरूलाई हेर । तिनीहरूले रोप्नु पर्दैन, बाली उठाउनु पर्दैन र भकारीमा खानेकुरा थन्क्याउनु पर्दैन, किनभने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। ती चराचुरुङ्गीहरूभन्दा त तिमीहरू उहाँको दृष्टिमा ज्यादै मूल्यवान् छौ।
27. तिम्रो जतिसुकै चिन्ता-फिक्रीले पनि के तिम्रो जीवनमा एक पल मात्रै आयु थप्नसक्छ र?
28. किन तिमी लाउने वस्त्रको निम्ति चिन्ता गर्छौ? मैदानका लिली फूलहरूलाई हेर, ती कसरी बढ्छन्, ती काम गर्दैनन् वा आफ्नोलागि लुगा बुन्दैनन्।
29. तर सोलोमन राजा पनि उनको सारा वैभवमा ती फूलहरूजति सुन्दर प्रकारले विभूषित थिएनन्।
30. आज देखिने र भोलि बितिजाने ती फूलहरूलाई परमेश्वरले त्यति अचम्म प्रकारले हेरचाह गर्नुहुन्छ भने के उहाँले तिमीहरूलाई त्यसभन्दा बढी वास्ता गर्नुहुन्न र ? तिमीहरू कति थोरै विश्वासका ?
31. त्यसकारण प्रशस्त खाने, पिउने र पहिरिने कुराको निम्ति फिक्री नगर ।
32. यिनै कुराको निम्ति बढ्ता चिन्ता गर्ने अरु समुदायका मानिसहरूजस्ता किन हुने? स्वर्गमा हुनुहुने तिम्रा पिताले अघिबाटै तिमीहरूका यी सबै खाँचो बुझ्नुहुन्छ।
33. तर पहिले उहाँको राज्य र धार्मिकताको खोजी गर र यी सबै कुरा तिमीहरूलाई थपिइनेछ।
34. यसकारण भोलिको निम्ति फिक्री नगर, किनभने भोलिको दिनले आफ्नै फिक्री लिएर आउनेछ। आजको समस्या आजको निम्ति यथेष्ट छ।
|