1. अर्कालाई दोष्याउन छोड र तिमीहरू दोषी ठहरिनेछैनौ,
2. किनभने तिमीहरूले अरुसँग जस्तो व्यवहार गर्छौ, अरुले पनि तिमीहरूसँग त्यस्तै गर्छन्। जुन नापमा तिमीहरू अरुलाई दोष्याउँछौ, त्यही अनुपातमा तिमीहरू दोष्याइनेछौ।
3. जब तिम्रो आफ्नै आँखामा मूढो छ भने भाइको आँखामा भएको कसिङ्गरको किन चिन्ता गर्छौ?
4. जब तिम्रो आँखामा मूढो छ र देख्न सक्तैनौ भने तिमी ‘उसको आँखाको कसिङ्गर निकाल्छु’ भन्दै कसरी अघि सर्न सक्छौ?
5. ए कपटी पाखण्डी ! पहिले आफ्नै आँखाको मूढो निकाल् र बल्ल तैँले आफ्नो भाइको आँखामा भएको कसिङ्गर निकाल्नलाई छर्लङ्ग देख्नेछस्।
6. जे पवित्र छ, त्यो कुकुरहरूलाई नदेऊ। सुँगुरहरूको अगाडि मोती नफाल। त्यसले त्यो मोती कुल्चीमिल्ची पार्नेछ र त्यसपछि तिमीलाई नै झम्टनेछ।
7. माग्न नछोड र तिमीहरूलाई मागेको कुरा दिइनेछ। खोजिरहो, तिमीहरूले भेट्टाउनेछौ। ढोका ढकढक्याइरहो र त्यो तिम्रो निम्ति उघारिनेछ।
8. किनभने माग्नेले पाउँछ, खोज्नेले भेट्टाउँछ र ढकढक्याउनेको निम्ति ढोका उघारिनेछ।
9. तिमी आमा-बुबाहरू, तिम्रा छोराछोरीले तिमीहरूसँग रोटी माग्दा के तिनीहरूलाई ढुङ्गा दिन्छौ र?
10. अथवा तिनीहरूले माछा माग्दा के सर्प दिन्छौ र ?
11. तिमीहरू पापी मानिस भएर पनि आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले माग्नेहरूलाई कति धेरै असल थोक दिनुहुन्छ।
12. अरुले तिमीसित जस्तो व्यवहार गरून् भन्ने तिमी इच्छा गर्छौ, तिमी पनि उनीहरूसित त्यस्तै गर। यो नै सबै व्यवस्था र अगमवक्ताहरूले दिएको शिक्षाको सार हो।
13. तिमी साँघुरो ढोकाबाट मात्रै परमेश्वरको राज्यमा पस्न सक्छौ। सजिलो बाटो रोज्ने धेरैको लागि नरकतिर जाने मूल बाटो चौडा हुन्छ र त्यसको ढोका पनि फराकिलो हुन्छ।
14. तर जीवनमा पुर्याउने ढोका सानो हुन्छ र बाटो साँघुरो हुन्छ अनि थोरैले मात्र यसलाई भेट्टाउनेछन्।
15. सोझो भेडाको रूपमा भेष बद्लेर आउने झूटा अगमवक्ताहरूदेखि होशियार बस तर ती साँच्चैका ब्वाँसा हुन् र तिनीहरूले तिमीहरूलाई बगालबाट छुट्टयाउलान् ।
16. तिमीहरूले तिनीहरूका फलबाट तिनीहरूलाई चिन्नेछौ। तिमीहरू काँडाको झ्याङ्गबाट अङ्गुर टिप्दैनौ, न त सिउँडीबाट नेभारो टिप्छौ।
17. त्यसरी नै असल रूखले असलै फल फलाउँछ र बिग्रेको रूखले खराबै फल फलाउँछ।
18. असल रूखले खराब फल फलाउँदैन र बिग्रेको रूखले असल फल फलाउन सक्दैन।
19. त्यसकारण असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा मिल्काइनेछ।
20. यसरी नै फलबाट रूखलाई चिनेजस्तै फल हेरेर तिनीहरूलाई पनि चिन्नेछौ।
21. धार्मिक कुरा गर्ने सबै मानिसहरू धर्मी हुँदैनन्। तिनीहरूले मलाई ‘प्रभु’ भने तापनि ती सबै जनाले स्वर्गको राज्यमा प्रवेश पाउनेछैनन्। बरु स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने व्यक्तिले स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछ।
22. न्यायको दिनमा, धेरैले मलाई ‘प्रभु, प्रभु, हामीले तपाईंको नाउँमा अगमवाणी गर्यौं, तपाईंको नाउँमा भूतहरू धपायौं र धेरै आश्चर्यकर्महरू गर्यौं’ भन्नेछन्।
23. तर म तिनीहरूलाई यसो भनेर जवाफ दिनेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ, तिमी दुष्ट काम गर्नेहरू हो, मबाट टाढा भैजाओ।’
24. ‘‘मेरो शिक्षा ध्यान दिएर सुन्ने र पालन गर्ने जोसुकै बुद्धिमान् हो। ऊ, त्यो व्यक्तिजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनाउँछ।
25. पानी पर्छ, बाढी आउँछ, हुरी चल्छ र त्यस घरमाथि बज्रन्छ तर त्यो घर ढल्दैन, किनभने त्यो घर चट्टानमाथि बसालिएको हुन्छ।
26. तर मेरो शिक्षा सुनेर पनि त्यसको बेवास्ता गर्ने जोसुकै मूर्ख हो। ऊ, त्यो व्यक्तिजस्तो हो, जसले आफ्नो घर बालुवामा बनाउँछ।
27. जब पानी पर्छ, बाढी आउँछ, हुरी चल्छ र त्यस घरमाथि बज्रन्छ अनि त्यो घर पूर्णरूपले ध्वस्त हुन्छ।’’
28. येशूले शिक्षा दिइसक्नुभएपछि भीड उहाँको शिक्षा सुनेर छक्क पर्यो,
29. किनभने उहाँले तिनीहरूका धार्मिक शिक्षकहरूले जस्तो होइन तर साँचो अख्तियारसाथ शिक्षा दिनुहुन्थ्यो।
|