1. अन्त्यमा प्रिय भाइ हो, प्रभुमा आनन्दित होओ, तिमीहरूलाई त्यही कुरा फेरि लेख्न मलाई झर्को लाग्दैन किनकि त्यो तिमीहरूका निम्ति सुरक्षा हो।
2. कुकुरहरूदेखि होशियार बस, दुष्ट काम गर्नेहरूदेखि होशियार बस, झूटो खतनादेखि होशियार बस।
3. किनभने हामी आत्मामा परमेश्वरको उपासना गर्नेहरू, ख्रीष्ट येशूमा आनन्द मनाउनेहरू र शरीरमा भरोसा नराख्नेहरू नै साँचो खतना हौं।
4. तरै पनि म त शरीरमा पनि भरोसा राख्न सक्थेँ। यदि कसैले शरीरमा भरोसा राख्ने कारण छ भन्ने सोच्छ भने मेरो त झन् बढी कारण छ।
5. आठौं दिनमा मेरो खतना भएको हो, म इस्राएल जातिको बेन्यामीन कुलको, हिब्रूहरूको हिब्रू, व्यवस्थाको विषयमा हो भने एक फरिसी,
6. जोशको विषयमा हो भने मण्डलीलाई सताउने, व्यवस्थाअनुसारको धार्मिकताको विषयमा हो भने निर्दोष ठहरिएको हुँ।
7. तर जुन कुरा मेरोनिम्ति फाइदा थिए, तिनलाई मैले ख्रीष्टको खातिर हानि सम्झेको छु।
8. साँच्चै ख्रीष्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रीष्टलाई प्राप्त गर्नसकूँ भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु र ती सबैलाई फोहोर-मैला समान म गन्दछु।
9. म उहाँमा भएको पाइनसकूँ, व्यवस्थामा आधारित मेरो आफ्नै धार्मिकता होइन तर मेरो धार्मिकता ख्रीष्टमाथि राखिएको विश्वासमा निर्भर छ, यो धार्मिकता विश्वासको आधारमापरमेश्वरबाट आउँछ।
10. म उहाँलाई र उहाँको पुनरुत्थानको शक्तिलाई जान्नसकूँ र उहाँको मृत्युमा उहाँजस्तै भई उहाँका दु: खभोगमा सहभागी हुनसकूँ;
11. यसैले कि जसरी भए पनि मैले मृतकबाट पुनर्जीवन प्राप्त गर्नसकूँ।
12. मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेको होइन। तर जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो, त्यसलाई हात पार्नको निम्ति म अघि बढिरहेको छु।
13. ए भाइ हो, मैले यी सबै पक्रिसकेको छु भनी म ठान्दिनँ तर म एउटा काम गर्दछु कि पछाडिका कुरा बिर्सेर अगाडिका कुरातिर लम्कँदै,
14. ख्रीष्ट येशूमा परमेश्वरको माथिको बोलावटमा पाइने पुरस्कारको निम्ति निसानातिर म अघि बढ्दछु।
15. यसैकारण, हामीमा परिपक्व भएकाहरूको जस्तो मन होस् तर यदि कुनै कुरामा तिमीहरूको फरक विचार छ भने परमेश्वरले तिमीहरूलाई त्यो पनि प्रकट गरदिनुहुनेछ।
16. तैपनि हामीले जे प्राप्त गरिसकेका छौं, त्यसमा स्थिर भई बसौं।
17. भाइ हो, तिमीहरू मेरो देखासिकी गर्नेहरू होओ, हामीमा तिमीहरूले देखेका नमुनाअनुसार जिउनेहरूलाई हेर।
18. किनकि जसका विषयमा मैले तिमीहरूलाई बारम्बार भनेथेँ र फेरि पनि म तिमीहरूलाई रुँदै भन्दछु कि तिनीहरू साँच्चै ख्रीष्टका क्रूसका शत्रुहरूजस्तै जीवन बिताउँछन्।
19. जसको अन्त्य विनाश हो, जसको ईश्वर पेटै हो, तिनीहरू आफ्ना शर्ममा घमण्ड गर्दछन् र तिनीहरूको मन सांसारिक कुरामा लागिरहन्छ।
20. तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट प्रभु येशू ख्रीष्ट हाम्रो मुक्तिदाता आउनुहुन्छ, जसको बाटो हामी हेर्दछौं।
21. उहाँले जुन शक्तिद्वारा सबै ठाउँका सबै कुरालाई आफ्नो अधीनमा ल्याउन सक्नुहुन्छ र हाम्रो हीन शरीरलाई आफ्नै महिमित शरीरजस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ।
|