1. बुद्धिमान् छोराले बाबुको अर्तीमा ध्यान दिन्छ; तर गिल्ला गर्नेले हप्कीलाई बेवास्ता गर्छ।
2. असल मानिसले आफ्नो मुखको फलबाट असल कुराको भोग गर्छ; तर छलीले हिंसाको लालसा गर्छ ।
3. जसले आफ्नो मुख सम्हाल्छ, उसले आफ्नो जीवनको रक्षा गर्छ; तर जसले आफ्नो मुख बजाउँछ, त्यो नाश हुनेछ।
4. अल्छेले लालसा गर्छ तर केही पनि पाउँदैन; तर परिश्रमीको इच्छा तृप्त हुनेछ।
5. धर्मीजनले झुटलाई घृणा गर्छ, तर दुष्ट मानिसले घिनलाग्दो काम गर्छ र लाजमा पार्छ।
6. धार्मिकताले इमानदार मानिसको रक्षा गर्छ, तर दुष्टताले पापीको संहार गर्छ।
7. कोही मानिस धनको धाक लगाउँछ, तापनि त्यससँग केही हुँदैन, कोही मानिस निर्धनझैँ देखिन्छ, तापनि त्यससँग प्रशस्तै धन हुन्छ।
8. धनीले धन दिएर आफ्नो प्राण बचाउँछ; तर गरिब धम्कीबाट सुरक्षित रहन्छ।
9. धर्मीजनको ज्योति चहकिलो भएर चम्कन्छ; तर दुष्टको बत्ती निभाइन्छ।
10. घमन्डले झगडा उत्पन्न गराउँछ; सरसल्लाह लिनेहरूबाट बुद्धि पाइन्छ।
11. बेइमानीसँग कमाएको धन घट्दै जान्छ, तर इमानदारिसाथ कमाएको धन बढ्दै जान्छ।
12. आशा साकार नहुँदा मन मर्छ, तर इच्छा पूरा हुनु जीवनको रूख हो।
13. अर्तीलाई तुच्छ ठान्नेमाथि दु:ख आइपर्छ; तर आज्ञालाई आदर गर्नेले इनाम पाउँछ।
14. बुद्धिमान् मानिसको अर्ती जीवनको मूल हुन्छ; जसद्वारा मृत्युको पासोबाट मानिस उम्कन्छ।
15. असल समझले अनुग्रह दिन्छ; तर बेइमानको मार्गले नाशमा पुर्याउँछ।
16. समझदार मानिसले बुद्धि पुर्याएर काम गर्छ; तर मूर्खले आफ्नो मूर्खता देखाउँछ।
17. दुष्टसन्देशवाहकले फुट ल्याउँछ; तर विश्वासयोग्य सन्देशवाहकले निको तुल्याउँछ।
18. अनुशासनलाई अपमान गर्नेमाथि दरिद्रता र लाज आइपर्छ; तर आज्ञालाई आदर गर्नेले इनाम पाउँछ।
19. इच्छा पूरा हुँदा आत्मसन्तुष्टि हुन्छ, तर खराबीबाट हट्नु मूर्खहरूका निम्ति घृणित हुन्छ।
20. बुद्धिमान्को सङ्गत गर्ने मानिस बुद्धिमान् हुन्छ; मूर्खको सङ्गत गर्ने मानिस जोखिममा पर्छ।
21. पापीलाई खराबीले पछयाउँछ; तर धर्मीको इनाम समृद्धि हुन्छ।
22. असल मानिसले आफ्ना सन्तानको निम्ति पैतृकि सम्पत्ति छोडिराख्छ; तर पापीले धर्मीजनको निम्ति धनसम्पत्ति थुपार्छ।
23. गरिबहरूको जमिनले प्रशस्त अन्नपात उब्जाउँछ; तर अन्यायले गर्दा त्यो खोसिन्छ।
24. छडी नचलाउने बाबुले छोरालाई घृणा गर्छ; तर प्रेम गर्ने बाबुले त्यसलाई अनुशासनमा राख्छ।
25. धर्मी मानिसले पेटभरि खान्छ, तर दुष्ट मानिस भोकभोकै हिँड्नुपर्छ।
|