1. नम्र जवाफले क्रोधलाई शान्त पार्छ; तर कठोरवचनले रिस उठाउँछ।
2. बुद्धिमान्को जिब्रोले ज्ञानलाई ठीकसँग प्रयोग गर्छ; तर मूर्ख मानिसले मूर्खै कुरा उकेल्छ।
3. परमप्रभुको दृष्टि सर्वत्र रहन्छ, उहाँले असल र खराब दुवैमाथि दृष्टि राख्नुहुन्छ।
4. स्वस्थ जिब्रोजीवनको रूख हो; तर छली जिब्रो आत्माको निम्ति आघात हो।
5. मूर्खले आफ्नो बाबुको अनुशासनलाई तुच्छ ठान्छ; तर अर्तीलाई शिरोपर गर्ने मानिस समझदार हुन्छ।
6. धर्मीजनको घरमा प्रशस्त धन हुन्छ; तर दुष्ट मानिसको कमाइले दु:ख ल्याउँछ।
7. बुद्धिमान् मानिसको मुखले ज्ञान फैलाउँछ; तर मूर्खहरूका हृदय भने त्यस्तो हुँदैन।
8. दुष्ट मानिसको बलिदान परमप्रभुको निम्ति घृणित कुरा हो; तर असल मानिसको प्रार्थना उहाँको निम्ति आनन्द हो।
9. दुष्ट मानिसको चालचलन परमप्रभुको दृष्टिमा घृणित हुन्छ; तर धार्मिकताको पछि लाग्नेलाई उहाँले प्रेम गर्नुहुन्छ।
10. धर्मभ्रष्ट मानिसको निम्ति अनुशासन कष्टदायक हुन्छ; हप्कीलाई घृणा गर्ने मानिस मर्नेछ।
11. मृत्यु र विनाश परमप्रभुको सामुन्ने खुलस्त छन् भने, झन् कति धेरै मानिसको हृदय खुलस्त होला !
12. हठी मानिसले अर्ती रुचाउँदैन; त्यसले बुद्धिमान् मानिसको सल्लाह लिँदैन।
13. आनन्दित हृदयले अनुहार उज्यालो पार्छ; दु:खित हृदयले आत्मालाई आघात पुर्याउँछ।
14. समझशक्ति भएको हृदयले ज्ञानको खोजी गर्छ; तर मूर्ख मानिसले मूर्खता नै रुचाउँछ।
15. अपहेलितको जीवन दिनहुँ दु:खको हुन्छ, तर आनन्दित हृदय निरन्तर प्रसन्न हुन्छ।
16. अशान्तिसँग कमाएको धनभन्दा परमप्रभुको भयसित थोरै धन राख्नु असल हो।
17. डाहसित खाएको मोटो पशुभन्दा प्रेमसित खाएको सागपात असल हो।
18. रिसाहा मानिसले झगडा उत्पन्न गराउँछ; तर सहनशील मानिसले झगडालाई शान्त पार्छ।
19. अल्छेको बाटोमा काँडैकाँडा हुन्छ; धर्मीजनको बाटो समतल हुन्छ।
20. बुद्धिमान् छोराले बाबुलाई आनन्दित तुल्याउँछ; तर मूर्ख छोराले आमाको अनादर गर्छ।
21. समझ नभएको मानिस मूर्खतामा प्रसन्न हुन्छ; तर समझशक्ति भएको मानिस सीधा चालमा चल्छ।
22. परामर्शबिनाको योजना विफल हुन्छ; तर धेरै परामर्श लिएर गरेको योजना सफल हुन्छ।
23. आफ्नो मुखको जवाफद्वारा मानिस आनन्दित हुन्छ; झन् ठीक समयमा बोलेको वचन कति असल हुन्छ !
24. जीवनको मार्गले बुद्धिमान्लाई माथितिर डोर्याउँछ; र त्यसलाई पातालदेखि जोगाउँछ।
25. घमन्डीहरूको घरलाई परमप्रभुले भत्काउनुहुनेछ; तर विधवाको साँधसिमाना उहाँले स्थिर पार्नुहुनेछ।
26. दुष्टका विचारलाई परमप्रभुले घृणा गर्नुहुन्छ; तर शुद्ध मानिसका विचारले उहाँलाई प्रसन्न तुल्याउँछ।
27. लोभी मानिसले आफ्नो परिवारमा सङ्कष्ट ल्याउँछ; तर घुसलाई घृणा गर्ने मानिसको जीवन सुखी हुन्छ।
28. धर्मीजनको हृदयले जवाफ दिनअघि सोच्दछ; तर दुष्ट मानिसको मुखले खराब कुरा उकेलिहाल्छ।
29. दुष्टदेखि परमप्रभु टाढै रहनुहुन्छ; तर धर्मीजनको प्रार्थना उहाँले सुन्नुहुन्छ।
30. हँसिलो अनुहारले मनलाई आनन्द दिन्छ; अनि शुभसामाचारले हड्डीहरूलाई पोषण दिन्छ।
31. जसले जीवन दिने हप्कीलाई सुन्छ; त्यो बुद्धिमान् मानिसहरूको सङ्गतमा रहन्छ।
32. अर्ती अस्वीकार गर्नेले आफ्नै प्राणलाई तुच्छ ठान्छ; तर हप्की सुन्नेले समझशक्ति पाउँछ।
33. परमप्रभुको भयले मानिसलाई बुद्धिका कुरा सिकाउँछ; अनि आदर आउनअघि नम्रता आउँछ।
|