1. मानिसको हृदयले आफ्नो योजना बनाउँछ; तर जिब्रोको जवाफ भने परमप्रभुबाट आउँछ।
2. मानिसका सारा मार्ग आफ्नो दृष्टिमा असल होला; तर मानिसको इच्छा जाँच गर्ने परमप्रभु नै हुनुहुन्छ।
3. आफूले गर्ने सबै काम परमप्रभुलाई सुम्पिदेऊ; अनि तिम्रो योजना सफल हुनेछ।
4. परमप्रभुले सबै थोक आफ्नो उद्देश्यको निम्ति बनाउनुभएको छ; हो, दुष्टलाई पनि विनाशको दिनको निम्ति बनाउनुभएको छ।
5. हृदयमा घमन्ड भएका सबैलाई परमप्रभुले घृणा गर्नुहुन्छ; निश्चय नै तिनीहरू दण्ड नपाई उम्कनेछैनन्।
6. प्रेम र सत्यताद्वारा पाप ढाकिनेछ; परमप्रभुको भयद्वारा मानिस खराबीदेखि अलग बस्छ।
7. जब मानिसका चालले परमप्रभुलाई प्रसन्न तुल्याउँछ; तब उहाँले त्यसका शत्रुहरूलाई त्यससित मिलापमा राख्नुहुन्छ।
8. इमानदारिसित कमाएको थोरै धन, अन्यायसित कमाएको धेरै धनभन्दा असल हो।
9. मानिसले आफ्नो हृदयमा योजना बनाउँछ; तर परमप्रभुले नै उसको पाइलालाई निर्धारण गर्नुहुन्छ।
10. राजाको मुखबाट दिव्यवचन निस्कन्छ; न्याय गर्दा उनको मुखले उचित न्याय गर्दछ ।
11. ठीक नापतौल परमप्रभुबाटै आउँछ; थैलीका सबै ढक उहाँकै काम हुन्।
12. राजाहरूले दुष्ट कामलाई तिरस्कार गर्छन्; किनकि धार्मिकताद्वारा नै सिंहासन स्थापित हुन्छ।
13. राजाहरू इमानदार ओठसँग हर्षित हुन्छन्; सत्य बोल्ने मानिसलाई तिनीहरू कदर गर्छन्।
14. राजाको क्रोध मृत्युको दूत हो; तर बुद्धिमान् मानिसले त्यो शान्त गराउँछ।
15. राजाको मुहारको उज्यालोमा जीवन हुन्छ; तिनको निगाह वसन्तऋतुका बादलको झरीजस्तै हुन्छ।
16. बुद्धि प्राप्त गर्नु सुनभन्दा पनि असल हो; अनि समझशक्ति छान्नु निखुर चाँदीभन्दा असल हो।
17. खराबीबाट हट्नु सोझाहरूको मूलबाटो हो; जसले आफ्नो मार्गको सुरक्षा गर्छ; उसले आफ्नो जीवनलाई जोगाउँछ।
18. नाशको अघि अहङ्कार आउँछ; पतनको अघि अभिमान आउँछ।
19. घमन्डीहरूसँग लुटका माल बाँड्नुभन्दा खाँचोमा परेकाहरूसित नम्रपूर्वक बस्नु असल हो।
20. वचन ध्यानपूर्वक सुन्ने मानिस सुखी हुन्छ; परमप्रभुमा भरोसा राख्ने मानिस आशिषित हुन्छ।
21. हृदयमा बुद्धिमान् हुनेहरूलाई विवेकशील भनिन्छ; अनि मीठो वचनले शिक्षाको वृद्धि गराउँछ।
22. समझशक्ति हुनेसँग जीवनको स्रोत हुन्छ; तर मूर्खहरूको मूर्खताले दण्ड ल्याउँछ। हितोपदेश
23. बुद्धिमान्को हृदयले आफ्नो मुख सम्हाल्छ; अनि त्यसका वचनले शिक्षाको वृद्धि गराउँछ।
24. मधुर वचन महको चाकाझैँ हुन्छ; जसले प्राणलाई मिठास दिन्छ र हड्डीहरू निको पार्छ।
25. कुनै बाटो मानिसको दृष्टिमा ठीकै झैँ देखिन्छ; तापनि यसले अन्तमा मृत्युमा पुर्याउँछ।
26. परिश्रमीको पेटले त्यसलाई परिश्रमी बनाउँछ; किनकि त्यसको मुखले त्यसलाई करमा पार्छ।
27. भक्तिहीन मानिसले खराबीलाई खोतल्छ; अनि त्यसको बोलीवचन आगोको भुङ्ग्रोझैँ हुन्छ।
28. छली मानिसले झगडा उत्पन्न गराउँछ; चुक्लीखोरले मित्रहरूमा फाटो गराउँछ।
29. विद्रोही मानिसले आफ्नो छिमेकीलाई फसाउँछ; त्यसले उसलाई खराब बाटोतिर डोर्याउँछ।
30. आँखा झिम्क्याउनेले षडयन्त्र रच्दछ; ओठ लेब्र्याउनेले खराब विचार गर्दछ।
31. फुलेको केश शोभाको मुकुट हो; धर्मी जीवनबाट यो प्राप्त हुन्छ।
32. धैर्यवान् मानिस वीर योद्धाभन्दा महान् हो; शहरलाई कब्जा गर्नुभन्दा आफ्नो क्रोधलाई दमन गर्नु उत्तम हो।
33. चिट्ठा त हालिन्छ; तर त्यसको निर्णायक परमप्रभु नै हुनुहुन्छ।
|