1. कलहले भरिएको घरमा भोज खानुभन्दा शान्तिको साथमा निस्तो गाँस खानु नै उत्तम हो।
2. बुद्धिमान् दासले लाजमा पार्ने छोरामाथि शासन गर्नेछ र दाजुभाइसरह पैतृक सम्पत्तिको हकदार हुनेछ।
3. चाँदी पगाल्ने भाँडो हुन्छ र सुन खार्ने आरन हुन्छ, तर मानिसको हृदय जाँच गर्ने परमप्रभु नै हुनुहुन्छ।
4. कुकर्मीले झुट बोल्ने ओठतिर ध्यान दिन्छ; र झुट बोल्नेले चुक्ली कुरातिर ध्यान दिन्छ।
5. गरिबलाई खिसी गर्नेले सृष्टिकर्ताको अपमान गर्छ, जो अरूका विपत्तिमा रमाउँछ, त्यो दण्ड नपाई उम्कनेछैन।
6. नातिनातिना वृद्धहरूका मुकुट हुन्; अनि आमा-बाबु आफ्ना छोराछोरीका गर्व हुन्।
7. मूर्खलाई मीठो कुरा सुहाउँदैन; शासकलाई झुट बोल्ने ओठ त झन् सुहाउँदैन !
8. घुस दिने मानिसका आँखामा घुस बहुमूल्य मोतीझैँ हुन्छ; जता त्यो फर्कन्छ, त्यतै त्यो सफल हुन्छ।
9. अर्काको दोष ढाकछोप गर्नेले त्यसबाट प्रेमभावको आशा गर्छ; तर जसले त्यही कुरा दोहोर्याइरहन्छ, त्यसले मित्रता तोड्छ।
10. मूर्खलाई सय कोर्रा लगाउँदा जति प्रभाव पार्छ, समझशक्ति भएको मानिसलाई एउटै हप्कीले झन् बढी प्रभाव पार्छ।
11. दुष्ट मानिसले विद्रोही कुरा मात्र सोच्दछ; यसकारण त्यसको विरुद्धमा निर्दयी शासक पठाइनेछ।
12. मूर्ख मानिसलाई मूर्खतामा भेट्नुभन्दा त बरु बच्चा खोसिएको भालुलाई भेट्नु उचित हो।
13. यदि मानिसले भलाइको साटो खराबी गर्छ भने खराबीले उसको घरलाई कहिल्यै छोड्नेछैन।
14. झगडाको सुरु बाँध फुटेर निस्केको बाढजस्तै हो; यसकारण वादविवाद चर्किनुअघि नै त्यसलाई साम्य पार।
15. दोषीलाई निर्दोष र निर्दोषीलाई दोषी ठहर्याउने, ती दुवैलाई परमप्रभुले घृणा गर्नुहुन्छ।
16. बुद्धिको निम्ति मूर्खको हृदयमा ठाउँ नै छैन भने त्यसको हातमा भएको रुपियाँपैसाको के काम?
17. मित्रले हरसमय प्रेम गर्छ, तर दाजुभाइ दु:खमा सहभागी हुन जन्मेको हुन्छ।
18. समझशक्ति नभएको मानिसले वाचाबन्धन गर्छ; र आफ्नो छिमेकीको निम्ति जमानी बस्छ।
19. झगडालाई प्रेम गर्नेले पापलाई रुचाउँछ, अहङ्कारी वचनले विनाशलाईनिम्त्याउँछ।
20. कुटिल हृदय भएको मानिसको उन्नति हुँदैन, छली जिब्रो भएको मानिसले सत्यानाश निम्त्याउँछ।
21. मूर्ख छोराले अफसोस ल्याउँछ, र मूर्खको बाबुलाई पछुतो हुन्छ।
22. प्रसन्नहृदय उत्तम औषधी हो; तर विचलित आत्माले हड्डीलाई सुकाउँछ।
23. दुष्ट मानिसले न्याय बिगार्न गुप्तमा घुस लिन्छ। 2
24. समझशक्ति भएको मानिसले आफ्नो दृष्टि बुद्धितिर लगाउँछ; तर मूर्ख मानिसको दृष्टिले पृथ्वीको चारैतिर आँखा डुलाउँछ।
25. मूर्ख छोराले आफ्ना बाबुलाई पिरोल्छ; र जन्म दिनेमाथि तीतोपन ल्याउँछ।
26. धर्मीजनलाई दण्ड दिनु असल होइन, न त इमानदारी कर्मचारीलाई कोर्रा लगाउनु नै असल हो।
27. ज्ञानी मानिसले थोरै शब्द मात्र बोल्छ; र समझशक्ति भएको मानिस मिजासिलो हुन्छ।
28. चुप लागिबस्ने मूर्ख पनि ज्ञानी देखिन्छ, र जिब्रोलाई लगाम लगाउने मानिस विवेकी मानिन्छ।
|