1. जब तँ शासकसँग खान बस्छस्, तेरो अघि जे छ, त्यसको ख्याल गर्।
2. यदि तँ खन्चुवा छस् भने, आफैलाई वशमा राखेर खा।
3. तिनका स्वादिष्ठ खानेकुराको लालसा नगर; किनकि त्यो धोकापूर्ण भोजन हो।
4. धनी बन्न कठोर परिश्रम नगर्; विवेकी मानिस बन् र त्यसो गर्न छोडिदे।
5. तैँले हेर्दाहेर्दै त्यो त्यसै उडिजान्छ, चिल आकाशतिर उडेझैँ त्यसको पखेटा लाग्छ।
6. लोभी मानिसकहाँ भोजन खान नजा, त्यसले दिएको स्वादिष्ठ खानेकुराको लोभ नगर्।
7. किनभने त्यो त्यस्तो मानिस हो, जसले सधैँ त्यसको दाम सोचिरहेको हुन्छ, त्यसले तँलाई ‘‘खानुहोस्, पिउनुहोस्’’ भन्छ, तर त्यसको मन तँसित हुँदैन।
8. तैँले जति खाएको छस्, त्यो उकेल्नेछस्; अनि त्यसलाई तैँले गरेको अभिवादन त्यसै खेर जानेछ।
9. मूर्खसँग कुरै नगर्; किनभने त्यसले तेरो बुद्धिका वचनलाई तुच्छ ठान्नेछ।
10. प्राचीन साँधसिमाना नहटा; अनि टुहुरा-टुहुरीको जग्गा-जमिन नमिच्।
11. किनकि तिनीहरूका उद्धारक सामर्थी हुनुहुन्छ; उहाँले तँसित तिनीहरूको मुद्दा लड्नुहुनेछ।
12. तेरो मन अर्तीमा लगा र तेरा कान ज्ञानका वचनतिर लगा।
13. बालकलाई अनुशासन गर्न नछोड्; किनकि तैँले लौरो लगाइस् भने पनि त्यो मर्नेछैन।
14. लौरो लगाएर त्यसलाई सजाय दे, अनि तैँले त्यसको आत्मा मृत्युदेखि बचाउनेछस्।
15. हे मेरो छोरा, यदि तेरो हृदय बुद्धिमान् छ भने, मेरो हृदय पनि आनन्दित हुनेछ।
16. जब तेरो ओठले असल कुरा गर्दछ, तब मेरो अन्तस्करण आनन्दले गदगद हुनेछ।
17. पापीहरूको अनुसरण गर्ने चेष्टा नगर्; तर निरन्तर परमप्रभुको भय मान्।
18. त्यसो गरिस् भने तेरो भविष्य उज्ज्वल हुनेछ, अनि तेरो आशा व्यर्थ हुनेछैन।
19. हे मेरो छोरा, सुन् र बुद्धिमान् बन्, अनि तेरो हृदय ठीक मार्गतिर लगा।
20. बेसरी अङ्गुरमद्य पिउने र मासु हसुर्नेहरूसँग सङ्गत नगर्।
21. किनकि पियक्कड र खन्चुवा कङ्गाल हुनेछन्; अनि लट्ठयाइले तिनीहरू झुत्रेझाम्रे हुनेछन्।
22. तँलाई जन्म दिने बाबुको कुरा सुन्, अनि आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्।
23. सत्य किन् र त्यसलाई नबेच्, बुद्धि, अर्ती र समझशक्ति प्राप्त गर्।
24. धर्मीजनको बाबु खुबै रमाउनेछन्, बुद्धिमान् छोरादेखि तिनी प्रसन्न हुनेछन्।
25. तेरा बाबु-आमा आनन्दित हुनेछन्; अनि तँलाई जन्म दिने आमा हर्षित हुनेछिन्।
26. हे मेरो छोरा, मेरा कुरा ध्यानसित सुन्, अनि तेरो दृष्टिले मेरो मार्ग पालन गर्।
27. किनकि वेश्या गहिरो भड्खालोझैँ हो, अनि व्यभिचारिणी स्त्री साँघुरो कुवाझैँ हो।
28. निश्चय त्यो शिकारको खोजीमा झैँ ढुकेर बस्छे, अनि मानिसहरूका बीचमा अपराधीहरूको संख्या बढाउँछे।
29. कष्ट कसलाई हुन्छ? शोक कसले गर्छ? कलह कसले गर्छ? कसले गुनासो गर्छ? कसलाई व्यर्थैमा चोटपटक लाग्छ? कसको आँखा रगतजस्तो रातो हुन्छ?
30. जो अबेरसम्म अङ्गुरमद्य पिइरहन्छ, जो सधैँ मिश्रित मद्यमा भुलिरहन्छ।
31. रातो अङ्गुरमद्यमा एकटक लगाएर नहेर्, जब त्यो कचौरामा खन्याउँदा फिँज उठ्छ, अनि त्यो सहजै उँधो जान्छ।
32. किनभने अन्तमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ।
33. तब तेरा आँखाले पराई स्त्रीलाई हेर्नेछ, अनि तेरो मनले नचाहिँने कुरा विचार गर्नेछ।
34. तँलाई महासमुद्रमा सुतिरहेझैँ हुनेछ, मस्तुलको डोरीको टुप्पामाझुन्डिरहनेजस्तै तँ हुनेछस्।
35. तैँले भन्छस्, ‘‘तिनीहरूले मलाई हिर्काए तापनि चोट लाग्दैन, तिनीहरूले मलाई पिटे तापनि थाहै हुँदैन। कहिले म बिउँझुँला र म अझ पिउन सकुँला?’’
|