1. दुष्ट मानिसहरूको डाह नगर्, तिनीहरूसँग सङ्गत गर्ने इच्छा नगर्,
2. किनभने तिनीहरूको हृदयले उपद्रव रच्दछ र तिनीहरूका ओठले झमेला ल्याउने कुरा गर्दछ।
3. बुद्धिद्वारा घर बनाइन्छ; र समझशक्तिले त्यो स्थापित हुन्छ;
4. ज्ञानद्वारा त्यसका कोठाहरू बहुमूल्य र सुन्दर थोकले भरिभराउ हुन्छन्।
5. बुद्धिमान् मानिस बलवान् हुन्छ; र ज्ञानी मानिसको सामर्थ्य बढ्छ।
6. युद्ध गर्नका निम्ति दक्ष अगुवाइ चाहिन्छ, विजय पाउनलाई धेरै सल्लाहकार चाहिन्छ।
7. मूर्खको निम्ति बुद्धि साह्रै उच्च हुन्छ; ढोकामा जम्मा भएका समुदायको अघि त्योसित बताउने कुरा हुँदैन।
8. जसले खराबी रच्दछ, त्यो षडयन्त्रकारीको नाउँले चिनिन्छ।
9. मूर्खपूर्ण षडयन्त्र पाप हो; अर्काको खिल्ली उडाउने मानिस घृणित हुन्छ।
10. यदि सङ्कष्टको दिनमा तँ लर्खराइस् भने तेरो बल कति थोरै रहेछ !
11. मार्न लगिएकाहरूलाई बचा, अनि काटमार गर्न डोर्याइएकाहरूलाई रोक् ।
12. अनि ‘‘हामीलाई त यसबारे केही थाहै थिएन’’ भनिस् भने के हृदय जाँच गर्नुहुनेले यो कुराको ख्याल राख्नुहुन्न र? जसले तेरो जीवनको रक्षा गर्नुहुन्छ, उहाँलाई यो कुरा थाहा छैन र? अनि के उहाँले हरेक मानिसलाई उसको कामअनुसारको इनाम दिनुहुन्न र?
13. हे मेरो छोरा, मह खा, किनभने त्यो असल छ, अनि चाकाको महको स्वाद तँलाई स्वादिष्ठ लाग्छ।
14. यो पनि याद राख् कि बुद्धि तेरो प्राणको लागि गुलियो हुनेछ, यदि यसलाई तैँले प्राप्त गरिस् भने तेरो भविष्यको लागि आशा छ र तेरो आशा व्यर्थ हुनेछैन।
15. हे दुष्ट मानिस, धर्मीजनको घरको विरुद्ध दुष्टले ढुकेझैँ ढुकी नबस्; त्यसको वासस्थान नलुट्;
16. किनभने धर्मीजन सातपटकसम्म लोटयो भने पनि उठ्छ; तर दुष्ट मानिस विपत्तिमा जाकिनेछ।
17. तेरो शत्रुको पतन हुँदा तँ नरमा, त्यसले ठेस खाँदा तेरो हृदय हर्षित नहोस्,
18. नत्र भने परमप्रभुले त्यो देख्नुहुनेछ, र असहमति जनाउनुहुनेछ, अनि त्यसदेखि आफ्नो क्रोध हटाउनुहुनेछ।
19. दुष्ट मानिसहरूको कारण पिर नमान् वा दुष्टप्रति डाह नगर;
20. किनभने दुष्ट मानिसको भविष्यको आशा हुँदैन; दुष्टको बत्ती निभाइनेछ।
21. हे मेरो छोरा, परमप्रभु र राजाको भय मान् र विद्रोहीहरूसँग सङ्गत नगर्;
22. किनभने उहाँहरू दुवैले तिनीहरूमाथि एक्कासि विनाश पठाउनुहुनेछ, अनि कस्ता विपत्ति उहाँहरूले पठाउनुहुनेछ भनी कसलाई के थाहा छ र? बुद्धिमान्का अरू उखान
23. यी पनि बुद्धिमान्का उखान हुन्: न्याय गर्दा पक्षपात गर्नु असल होइन।
24. दोषीलाई जसले ‘तिमी निर्दोष छौ’ भन्छ, मानिसहरूले त्यसलाई सराप्नेछन् र जाति-जातिले त्यसको निन्दा गर्नेछन्।
25. तर जसले दोषीको अपराध साबित गर्छ, तिनीहरूको भलो हुनेछ। तिनीहरूमाथि प्रशस्त आशिष् बर्सनेछ।
26. इमानदार जवाफ ओठको चुम्बनजस्तै हो।
27. बाहिरको काम पूरा गर्, र आफ्नो खेतबारी तयार पार्, अनि त्यसपछि आफ्नो घर बना।
28. बिनाकारण आफ्नो छिमेकीको विरुद्धमा कुनै गवाही नदे, अनि आफ्ना ओठलाई झुट कामको लागि प्रयोग नगर्।
29. ‘‘त्यसले मलाई गरेझैँ म पनि त्यसलाई त्यसै गर्नेछु, म त्यसलाई त्यसले गरेझैँ बदला लिनेछु’’ भनी नभन्।
30. म एउटा अल्छेको खेतबारी, र एउटा समझशक्ति नभएको मानिसको अङ्गुरबारीबाट भएर गएँ;
31. अनि हेर, जताततै काँडा उम्रेको थियो, झारैझारले खेत ढाकिएको थियो, अनि ढुङ्गाको पर्खाल भताभुङ्ग भएको थियो।
32. मैले अवलोकन गरेका कुरालाई हृदयमा विचार गरेँ, र मैले देखेका कुराबाट एउटा पाठ सिकेँ।
33. क्षणभरको सुताइ र क्षणभरको उँघाइ, हात बाँधेर क्षणभरको आराम गराइले,
34. दरिद्रता तँमाथि डाँकुझैँ र अभाव सशस्त्र मानिसझैँ आइलाग्नेछ।
|