1. सोलोमनका यी हितोपदेश यहूदाका राजा हिजकियाहका मानिसहरूले उतारेका हुन्;
2. कुनै कुरा गोप्य राख्नुमा परमेश्वरको महिमा हुन्छ, कुनै कुराको खोजी निकाल्नुमा राजाहरूको महिमा हुन्छ।
3. जसरी स्वर्ग उच्च र पृथ्वी गहिरो छ, त्यसरी नै राजाहरूका हृदय जान्न नसकिने हुन्छ।
4. चाँदीको कस निकालिदे, अनि मात्र सुनारको निम्ति काम लाग्ने वस्तु निस्कन्छ।
5. राजाको उपस्थितिबाट दुष्टलाई हटाइदे, अनि मात्र तिनको सिंहासन धार्मिकतामा स्थापित हुनेछ।
6. राजाको उपस्थितिमा आफैलाई ठूलो नबना र महापुरुषहरूका माझमा बस्ने दाबी नगर्।
7. ठूलाबडाका अगि तँलाई तिनले होच्याउनुभन्दा, तिनी आफैले तँलाई ‘‘यहाँ माथि आऊ’’ भनेको बेस हुनेछ।
8. तेरो आँखाले देखेको कुरा हत्तपत्त अदालतमा नलैजा, यदि अन्तमा तेरो छिमेकीले तँलाई लाजमा पार्यो भने के गर्छस्?
9. तेरो छिमेकीको मुद्दामा तैँले बहस गर्दा उसको विश्वासघात नगर्।
10. जसले त्यो सुन्छ, त्यसले तँलाई लाजमर्दो पार्ला र तेरो बदनाम कसै गरेर पनि मेटिनेछैन।
11. उचित समयमा बोलिएका ठीक कुरा चाँदीका भाँडोमा राखिएका सुनका स्याउहरू जस्ता हुन्।
12. बुद्धिमान् मानिसको अर्ती सुन्ने कानका लागि सुनको कुण्डल वा निखुर सुनको गहनाझैँ हुन्छ।
13. विश्वसनीय दूत त्यसलाई पठाउनेको निम्ति कटनीको समयमा हिउँको शीतलताजस्तै हुन्छ, किनकि उसले मालिकको आत्मालाई ताजा बनाउँछ।
14. आफूले नदिएको दानमा धाक लगाउने मानिस झरीबिनाको बादल र बतासझैँ हुन्छ।
15. धैर्य गर्नाले शासकलाई मनाउन सकिन्छ, र विनम्र जिब्रोले हड्डी पनि गलाउन सक्छ।
16. मह पाउँदा, आफूले पचाउनसक्ने मात्र खा; यो धेरै खाइस् भने तैँले बान्ता गर्नेछस्।
17. आफ्नो छिमेकीको घरमा कहिलेकहीँ मात्र जाने गर्, धेरै जाने बानी गरिस् भने उसलाई दिक्क लागेर तँलाई घृणा गर्नेछ।
18. आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही दिने मानिस लौरो, तरवार वा तिखो वाणझैँ हो।
19. सङ्कष्टको बेलामा विश्वासहीन व्यक्तिमा भर पर्नु दुखेको दाँत वा लङ्गडो खुट्टामा भर परेझैँ हो।
20. दु:खित मन भएकोलाई सुमधुर गीत गाउनु, जाडोको दिनमा वस्त्र फुकालिदिनु वा काटेको घाउमा नुनचुक लगाउनुजस्तै हो। हितोपदेश
21. तेरो शत्रु भोकाएको छ भने त्यसलाई खान दे, त्यो तिर्खाएको छ भने त्यसलाई पिउन दे।
22. यसो गर्नाले तैँले त्यसको टाउकोमा आगोको कोइला खन्याउनेछस्; र परमप्रभुले तँलाई इनाम दिनुहुनेछ।
23. उत्तरी बतासले वृष्टि ल्याएझैँ धूर्त जिब्रोले क्रुद्ध अनुहार ल्याउँछ।
24. कचकचे पत्नीसँग महलमा बस्नुभन्दा कौसीको कुनामा बस्नु उत्तम हो।
25. टाढाबाट आएको शुभसमाचार तिर्खाएको प्राणको लागि चिसो पानीझैँ हो।
26. दुष्टको सामु झुक्ने धर्मीजन हिले जरुवा पानी वा दूषित कुवाझैँ हो।
27. धेरै मह खानु उचित हुँदैन, न त आफ्नै मान खोज्नु कसैलाई आदरणीय हुन्छ।
28. आत्मसंयम नभएको मानिस पर्खालबिनाको शहरझैँ हो।
|