1. ग्रीष्मऋतुको हिउँ र कटनीको बेलामा झरी परेझैँ मूर्खलाई दिएको मानमर्यादा कदापि सुहाउँदैन।
2. भुर्र उड्ने भँगेरा अथवा तेजले उड्ने गौंथलीझैँ बिनाकारण दिएको श्राप लाग्दैन।
3. घोडाको लागि कोर्रा, गधाको लागि लगाम र मूर्खहरूका पिठयुँको लागि लट्ठी !
4. मूर्खलाई उसको मूर्खताअनुसार जवाफ नदे; नत्र त तँ पनि त्यो जस्तै हुनेछस्।
5. मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ दे, नत्र त त्यो आफ्नै नजरमा बुद्धिमानी हुनेछ।
6. मूर्खको हातमा समाचार पठाउनु आफैले आफ्नै खुट्टामा बन्चरो हान्नु अथवा हिंसाको पीडा भोग्नुजस्तै हो।
7. लुलालङ्गडा मानिसहरूका झुन्डिएका दुर्बल खुट्टाहरू र मूर्खका मुखमा भएका अर्तीका कुरा एकै हुन्।
8. मूर्खलाई आदर गर्नु, घुयेँत्रोमा ढुङ्गा बाँधेझैँ हो।
9. जँडयाहाको हातमा भएको घोच्ने काँडाजस्तै मूर्खको मुखको अर्ती हुन्छ।
10. मूर्ख वा कुनै बटुवालाई ज्यालामा काम लगाउनु, एउटा धनुर्धारीले जथाभाबी काँड हानेर चोटैचोट पार्नुझैँ हो।
11. जसरी कुकुर आफ्नो बान्ता खान फर्किन्छ, त्यसरी नै मूर्खले आफ्नो मूर्खता दोहोर्याउँछ।
12. आफ्नो दृष्टिमा आफैलाई बुद्धिमान् ठान्ने मानिस देखेको छस्? त्योभन्दा त बरु मूर्खको लागि धेरै आशा हुन्छ।
13. अल्छेको बहाना यस्तो हुन्छ, ‘‘सडकमा सिंह छ, डरलाग्दो सिंह गल्लीहरूमा डुलिरहेको छ !’’
14. ढोका आफ्नो कब्जामा यताउति फर्केझैँ, अल्छे आफ्नो खाटमा ओल्टयाङपल्टयाङ गर्दछ।
15. अल्छेले आफ्नो हात थालमा राखिरहन्छ र उठाएर आफ्नो मुखसम्म पुर्याउनसमेत त्यसलाई अल्छी लाग्छ।
16. कुशल जवाफ दिनसक्ने सात जना मानिसभन्दा पनि अल्छे आफ्नै दृष्टिमा बुद्धिमान् बन्छ।
17. अरूको झगडामा सरोकार राख्ने बटुवा, हिँड्दै गरेको कुकुरको कान पक्रन पुग्ने व्यक्तिजस्तै हो।
18. त्यो अगुल्टो वा घातक काँड हान्ने बौलाहाजस्तै हो,
19. जसले आफ्नो छिमेकीलाई छल गरिसकेपछि भन्छ, ‘‘ए, मैले त ठट्टा पो गरेको थिएँ।’’
20. दाउराबिना आगो निभ्छ, कुराउटेबिना खिचलो शान्त हुन्छ।
21. भुङ्ग्राको लागि कोइला र आगोको लागि दाउराझैँ, कलह उत्पन्न गराउने झगडालु मानिस हुन्छ।
22. कुराउटेका चुक्लीपूर्ण शब्द मीठो गाँसजस्तै हुन्छ, त्यो मानिसको भित्री भागसम्मै पुग्छ।
23. माटोको भाँडोमा चाँदीको जलप लाएझैँ दुष्ट हृदय भएको मानिसको चिप्लो ओठ हुन्छ।
24. द्वेषपूर्ण मानिसले आफूलाई आफ्नै कुराले ढाकछोप गर्छ, अनि आफ्नो हृदयमा त्यसले छली कुरालाई आश्रय दिन्छ।
25. त्यसको बोली मीठो भए तापनि त्यसमाथि विश्वास नगर्, किनभने त्यसको हृदय सातओटा द्वेषले भरिएको हुन्छ।
26. त्यसले आफ्नो द्वेष छल गरेर छिपाएको हुन्छ, तर त्यसको दुष्टता समुदायमा प्रकट हुनेछ।
27. जसले अर्काको निम्ति खाडल खन्छ, त्यसमा ऊ आफै जाकिन्छ, मानिसले गुडाएको ढुङ्गा ऊ आफैतिर फर्कन्छ।
28. झुटो जिब्रोले पीडामा परेकाहरूलाई घृणा गर्छ र चाप्लुसी घस्ने मूर्खले सर्वनाश गराउँछ।
|