1. भोलिको धाक नलगा, किनभने त्यस दिनमा के आइपर्नेछ, तँलाई थाहा हुँदैन।
2. तेरो प्रशंसा तेरो आफ्नै मुखले होइन, अरूले गरून्, तेरो आफ्नै ओठले होइन तर अरू कसैले गरून्।
3. ढुङ्गा गह्रौं हुन्छ र बालुवा वजनदार, तर मूर्खको क्रोध ती दुवैभन्दा अझ गह्रौं हुन्छ।
4. क्रोध निर्दयी र झोंक अत्यधिक हुन्छ, तर डाहको सामु को खडा हुनसक्छ?
5. गुप्त प्रेमभन्दा खुला हप्की उत्तम हुन्छ।
6. मित्रबाट पाएको चोट विश्वसनीय हुन्छ, तर शत्रुको चुम्बन कपटपूर्ण हुन्छ।
7. अघाएको व्यक्तिलाई मह अमन हुन्छ, तर भोकाएको व्यक्तिलाई तीतो पनि मीठो लाग्छ।
8. जस्तो गुँड छोडी बरालिएको चरा हुन्छ, त्यस्तै आफ्नो घर छाडी निस्किने मानिस हुन्छ।
9. जसरी अत्तर र धूपले मनलाई हर्षित पार्छ, त्यसरी नै मित्रबाटको साँचो सल्लाह मिठासपूर्ण हुन्छ।
10. आफ्नै र आफ्नो बाबुको मित्रलाई नत्याग् र आफ्नो विपत्तिको दिनमा दाजुभाइको घरमा नजा; किनकि टाढाको दाजुभाइभन्दा नजिकको छिमेकी नै उत्तम हो।
11. हे मेरो छोरा, बुद्धिमान् बन् र मेरो हृदयलाई आनन्दित बना, तब म, मेरो आलोचना गर्नेहरूलाई जवाफ दिनसकूँ ।
12. बुद्धिमान्ले खतरा आएको देखेर शरण लिन्छ, तर निर्बुद्धि मानिस त्यतैतिर जान्छ र दु:ख भोग्छ।
13. अपरिचितको जमानी बस्नेको लुगासमेत खोस्, स्वेच्छाचारी स्त्रीको निम्ति जमानी बस्नेबाट धरौटी लिइराख्।
14. यदि कसैले आफ्नो छिमेकीलाई एकाबिहानै चर्को स्वरले आशिष् दिन्छ भने, त्यो त श्रापजस्तै हुनेछ।
15. कचकचे पत्नी नटुङ्गिने पानीको तप्ातप्ा गर्ने थोपाझैँ हो।
16. त्यसलाई अधीन गर्नु बतासलाई अधीन गर्नु बराबर हो, अथवा औंलाले तेल टिप्नुजस्तै हो।
17. फलामले फलामलाई उध्याएजस्तै एउटाले अर्को मानिसलाई उध्याउँछ।
18. अञ्जीरको रूखको रेखदेख गर्नेले त्यसको फल खानेछ, र आफ्नो मालिकको हेरचाह गर्ने व्यक्ति सम्मानित हुनेछ।
19. पानीमा आफ्नो अनुहार प्रतिविम्बित भएझैँ, मानिसको हृदयमा मानिस प्रतिविम्बित हुन्छ।
20. जसरी मृत्यु र विनाश कहिल्यै तृप्त हुँदैन, त्यसरी नै मानिसका आँखा पनि कहिल्यै सन्तुष्ट हुँदैन।
21. चाँदी पगाल्ने भाँडो हुन्छ, र सुन खार्ने आरन हुन्छ, र आफूले पाउने प्रशंसाबाट मानिस जाँचिएको हुन्छ।
22. मूर्खलाई ओखलमा हालेर कुटे पनि, त्यसलाई जाँतोमा राखेर अन्नझैँ पिँधे तापनि, तैँले त्यसको मूर्खता त्यसबाट हटाउनेछैनस्।
23. आफ्ना भेडाहरूको अवस्थाबारे निश्चित होओ, आफ्ना बगालप्रति होसियारिपूर्वक ध्यान दे,
24. किनभने धनसम्पत्ति सधैँका लागि रहँदैन र मुकुट पनि सबै पुस्ताका लागि सुरक्षित रहँदैन।
25. जब पात झर्छ र नयाँ पालुवा देखा पर्छ, तब पाखापखेरोबाट घाँस बटुलिन्छ,
26. भेडाद्वारा तेरो निम्ति लुगा जुट्छ, र बाख्राद्वारा जग्गा-जमिन किन्न रकम जुट्छ।
27. बाख्राको दूध तँ र तेरो परिवारको निम्ति प्रशस्त हुनेछ र तेरा दासीहरूका निम्ति पोषण हुनेछ।
|