1. कसैले नखेदे पनि दुष्ट मानिस भाग्छ, तर धर्मीजन सिंहजस्तै आँटिलो हुन्छ।
2. जब देशमा विद्रोह बढ्छ, त्यहाँ धेरै शासक खडा हुन्छन्, तर समझशक्ति भएको मानिसले अमनचैन कायम राख्छ।
3. गरिबमाथि थिचोमिचो गर्ने शासक बालीनाली नष्ट पार्ने मुसलधारे वर्षाजस्तै हो।
4. व्यवस्थालाई तिरस्कार गर्नेहरूले दुष्टको प्रशंसा गर्छन्, तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्।
5. दुष्ट मानिसहरूले न्यायलाई बुझ्दैनन्, तर परमप्रभुलाई खोज्नेहरूले यसलाई पूर्ण रूपमा बुझ्दछन्।
6. छली कुरा गर्ने धनी मानिसभन्दा गरिब भएर निष्कलङ्क रहनु उत्तम हो।
7. विवेकी छोराले व्यवस्था पालन गर्छ, तर खन्चुवाको सङ्गत गर्नेले आफ्नो बाबुमाथि बेइज्जत ल्याउँछ।
8. जसले रुपियाँ बढी ब्याजमा लगाएर धन कमाउँछ, त्यसको धन गरिबमाथि उदारता देखाउने मानिसको लागि हुनेछ।
9. जसले व्यवस्थाप्रति आफ्नो कान बन्द गर्छ, त्यसको प्रार्थना पनि घृणित हुन्छ।
10. जसले इमानसँग चल्नेलाई खराब बाटोतिर लैजान्छ, त्यो आफ्नै पासोमा फस्नेछ, तर निर्दोष मानिसले प्रशस्त अंश पाउनेछ।
11. धनी मानिस आफ्नै दृष्टिमा बुद्धिमान् ठहरिन्छ, तर समझशक्ति भएको गरिब मानिसले त्यसलाई जाँचेर हेर्छ।
12. धर्मीको विजय हुँदा ठूलो खुसियाली हुन्छ, तर जब दुष्ट सत्तामा पुग्छ, तब अरूलाई थिचोमिचो हुन्छ।
13. आफ्नो पाप लुकाउनेको उन्नति हुँदैन, तर जसले त्यो स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ।
14. सधैँ परमप्रभुसँग डराउने मानिस आशिषित हुन्छ, तर हृदय कठोर भएको मानिस सङ्कष्टमा पर्छ।
15. असहाय मानिसहरूमाथि शासन गर्ने दुष्ट मानिस गर्जने सिंह र जाइलाग्ने भालुजस्तै हुन्छ।
16. निर्दयी तानासाही शासकमा बुद्धिको अभाव हुन्छ, तर भ्रष्टाचारको धनलाई घृणा गर्ने मानिस दीर्घायु हुन्छ।
17. हत्याको अभियोग लागेको मानिस मृत्युसम्मै फरार रहनेछ,कसैले पनि त्यसको समर्थन नगरोस्।
18. जसको चाल निर्दोष छ, त्यो सुरक्षित रहन्छ, तर जसको मार्ग छलपूर्ण छ, त्यो पतित हुनेछ।
19. आफ्नो जमिन खनजोत गर्नेसित प्रशस्त भोजन हुनेछ, तर कल्पनाको पछि दौडने दरिद्रताले भरिनेछ।
20. विश्वासयोग्य मानिसले प्रशस्त आशिष् पाउनेछ, तर धनी हुन प्रगाढ इच्छा राख्नेले दण्ड पाउनेछ।
21. पक्षपात गर्नु राम्रो होइन, किनकि एक टुक्रा रोटीको लागि मानिसले अपराध गर्नेछ।
22. धनी हुन आतुर गर्ने मानिसका आँखा लोभी हुन्छ, र दरिद्रताले प्रतीक्षा गरिराखेको छ भन्ने त्यसलाई थाहै हुँदैन।
23. फु र्क्याउनेभन्दा हप्काउने मानिसले नै आखिरमा धेरै निगाह प्राप्त गर्नेछ।
24. आफ्नो बाबु-आमालाई लुटेर ‘‘यो गल्ती होइन’’ भन्ने मानिस नाश गर्नेको मित्र हो।
25. लोभी मानिसले कलह मच्चाउँछ, तर परमप्रभुमा भरोसा राख्ने मानिसको फलिफाप हुन्छ।
26. आफैमा भरोसा राख्ने मानिस मूर्ख हुन्छ, तर बुद्धिको मार्गमा हिँड्ने मानिस सुरक्षित रहन्छ। हितोपदेश
27. जसले गरिबलाई दिन्छ, उसलाई अभाव हुनेछैन, तर त्यसलाई वास्ता नगर्नेले श्राप पाउनेछ।
28. दुष्ट सत्तामा पुग्दा अरूलाई थिचोमिचो हुन्छ, तर जब त्यो नाश हुन्छ, तब धर्मीजन मौलाउँछ।
|