1. धेरै हप्की पाएर पनि हठी बानी नछोड्ने मानिस एक्कासि नाश हुनेछ।
2. धर्मीजन मौलाउँदा मानिसहरू रमाउँछन्, दुष्टले शासन गर्दा मानिसहरू विलाप गर्छन्।
3. जसले बुद्धिलाई प्रेम गर्छ, उसले आफ्ना बाबुलाई हर्षित तुल्याउँछ, तर जसले वेश्याहरूसँग सङ्गत गर्छ, त्यसले आफ्नो सम्पत्ति उडाउँछ।
4. राजाको न्यायसङ्गत शासनले राज्य स्थिर हुन्छ, तर घुसको लोभ गर्नेले राज्यलाई नै सर्वनाश पार्छ।
5. आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्यसका खुट्टामा जाल फिँजाएको हुन्छ।
6. दुष्ट मानिस आफ्नो पापले गर्दा पासोमा पर्छ, तर धर्मीजन गाउँछ र आनन्दित हुन्छ।
7. धर्मीजनले गरिबको न्यायबारे हेरविचार गर्छ, तर दुष्टले त्यसबारे सरोकार नै राख्दैन।
8. खिल्ली उडाउनेले शहरभरि हल्ला मच्चाउँछ, तर बुद्धिमान् मानिसले क्रोधलाई पन्साउँछ।
9. बुद्धिमान्ले मूर्खसँग वादविवाद गर्दा मूर्ख झोंकिन्छ र गिल्ला गर्छ,त्यसैले त्यहाँ शान्ति हुँदैन।
10. हत्या गर्ने मानिसले इमानदार मानिसलाई घृणा गर्छ, र इमानदारसँग चल्नेलाई मार्न खोज्छ।
11. मूर्खले आफ्नो रिस पोखाउँछ, तर बुद्धिमान् मानिसले आफूलाई वशमा राख्छ।
12. यदि शासकले झुटा कुरा सुन्छ भने, उसका सबै कर्मचारी दुष्ट बन्छन्।
13. गरिब र अत्याचारी मानिसमा यो कुरा समान हुन्छ; परमप्रभुले तिनीहरू दुवैलाई दृष्टि दिनुहुन्छ;
14. यदि राजाले ठीकसँग गरिबको न्याय गर्छन् भने तिनको सिंहासन सदैव सुरक्षित हुनेछ।
15. सुधारको लौरोले बुद्धि प्रदान गर्छ, तर छाडा छोडेको छोराले आफ्नी आमाको बेइज्जत गर्छ।
16. जब दुष्टको संख्यामा वृद्धि हुन्छ, तब अपराधको पनि वृद्धि हुन्छ, तर धर्मीजनले तिनीहरूको पतन देख्नेछ।
17. आफ्नो छोरालाई ताडना दे, र त्यसले तँलाई शान्ति दिन्छ, अनि त्यसले तेरो आत्मालाई आनन्दित तुल्याउनेछ।
18. जहाँ दर्शन छैन, त्यहाँ मानिसहरू भाँडिन्छन्, तर जसले व्यवस्था पालन गर्छ, त्यो मानिस धन्यको हो।
19. कुराले मात्रै दास सुध्रँदैन, त्यसले बुझे तापनि प्रत्युत्तर दिँदैन।
20. के तैँले बोल्नमा हतार गर्ने मानिसलाई देखेको छस्? त्यसको भन्दा त मूर्खको निम्ति बढी आशा हुन्छ।
21. जसले आफ्नो नोकरलाई पुलपुल्याउँछ, उसलाई अन्त्यमा त्यसले शोकित तुल्याउँछ।
22. रिसाहाले कलह मच्चाउँछ, र गरम मिजास भएकोले धेरै पाप गर्छ।
23. घमन्डले मानिसलाई होच्याउँछ, तर नम्रताले उसलाई सम्मान दिँदछ।
24. चोरको सङ्गत गर्ने आफै आफ्नो शत्रु बन्दछ, त्यो अपराधमा मुछिएको हुनाले त्यसले ठीक गवाही दिँदैन।
25. मानिसको डर पासोजस्तै हो, तर परमप्रभुमा भरोसा राख्ने मानिस सुरक्षित रहन्छ।
26. धेरैले शासकको कृपा पाउन खोज्छन्; तर हरेक मानिसको न्याय परमप्रभुबाट नै आउँछ।
27. न्याय गर्ने मानिसले अन्याय गर्नेलाई घृणा गर्छ; दुष्टले इमानदार मानिसलाई घृणा गर्छ।
|