1. हे मेरा छोराहरू हो, बाबुको अर्ती ध्यानसित सुन र समझशक्ति प्राप्त गर्न ध्यान देओ।
2. किनभने म तिमीहरूलाई उत्तम शिक्षा दिन्छु, यसर्थ मेरो अर्तीलाई नत्याग।
3. जब म बाबुको एक छोरा थिएँ, मेरी आमाको दृष्टिमा एकमात्र कोमल र प्रिय थिएँ।
4. उहाँले मलाई शिक्षा दिनुभयो र भन्नुभयो, ‘‘तेरो पूरा हृदयले मेरो वचन पक्रिराख्, मेरा आज्ञाहरू पालन गर् र तँ जिउनेछस्।
5. बुद्धि प्राप्त गर्, समझशक्ति प्राप्त गर्; तिनलाई नबिर्सी र तिनीहरूबाट तर्किएर नजा।
6. बुद्धिलाई नत्याग् र त्यसले तँलाई सुरक्षित राख्नेछ, त्यसलाई प्रेम गर् र त्यसले तेरो रक्षा गर्नेछ।
7. बुद्धि मुख्य कुरा हो; यसैले त्यसलाई प्राप्त गर्; तैँले मूल्य चुकाउनुपरे तापनि समझशक्ति प्राप्त गर्।
8. त्यसलाई तैँले कदर गर् र त्यसले तँलाई उच्च पार्नेछ। त्यसलाई तैँले अँगालिस् भने त्यसले तेरो आदर गर्नेछ।
9. त्यसले तेरो शिरमा शोभाको मुकुट पहिराइदिनेछ र महिमाको शिरपेच प्रदान गर्नेछ।’’
10. हे मेरो छोरा, सुन्; मेरा कुरा ग्रहण गर्; र तेरो जीवन दीर्घायु हुनेछ।
11. म तँलाई बुद्धिको बाटोमा डोर्याउनेछु र सोझो बाटोमा हिँडाउनेछु।
12. तँ हिँड्दा तेरा पाइलाहरू लरबरिनेछैनन्; तँ दगुरिस् भने पनि ठेस खानेछैनस्।
13. अर्तीलाई समातिराख्, त्यसलाई उम्कन नदे, त्यसलाई राम्ररी पालन गर् किनकि त्यो तेरो निम्ति जीवन हो।
14. दुष्टको मार्गमा हिँड्दै नहिँड्, र खराबीको चालमा चल्दै नचल्।
15. त्योदेखि परै बस्; त्योसँग यात्रा नगर्; त्यसबाट तर्केर आफ्नै बाटो लाग्।
16. किनभने दुष्टहरू खराब काम नगरेसम्म सुत्नै सक्तैनन्; र कसैको हानि नगरेसम्म तिनीहरूलाई निद्रै लाग्दैन।
17. दुष्टता तिनीहरूको भोजन हो, र उपद्रव तिनीहरूको पेय पदार्थ हो।
18. धर्मीको चाल प्रभातको प्रथम किरणजस्तै हो, त्यो मध्यदिन नभएसम्म झन्झन् चहकिलो हुँदै जान्छ।
19. तर दुष्टको चाल घोर अन्धकारजस्तै हो, कसरी आफ्नो पतन हुँदै छ, सो तिनीहरू जान्दैनन्।
20. हे मेरो छोरा, मेरो वचनमा ध्यान दे, मेरा कुरामा कान थाप्।
21. ती तेरो दृष्टिबाट उम्केर जान नदे, ती तेरो हृदयभित्र राखिछोड्।
22. किनकि त्यसलाई प्राप्त गर्नु जीवन हो, र त्यसको सारा शरीरको लागि स्वास्थ्य हो।
23. मूल्यवान् वस्तुलाई भन्दा आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको श्रोत हो।
24. तेरो मुखबाट कुवाक्य ननिकाल्, तेरो ओठ छली कुरा गर्नदेखि टाढै राख्।
25. तेरो आँखाले सीधा हेरोस्, अगाडि के छ सो तेरो आँखाले एकटक लाएर हेरोस्,
26. पैतालाको निम्ति तैँले ठीक मार्गको खोजी गर्, जुन मार्ग स्थिर छ, त्यही मार्गमा लागिराख्।
27. दाहिने र देब्रेतिर नलाग्, सबै दुष्टताबाट तेरो पाइला अलग राख्।
|