1. हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान दे; र मेरो अर्तीलाई ध्यानसित सुन्।
2. यसरी तैँले विवेकलाई जोगाइराख्नेछस्, र तेरो ओठले ज्ञानको रक्षा गर्नेछ।
3. किनकि व्यभिचारिणी स्त्रीको ओठबाट मह चुहुन्छ, र त्यसको बोली तेलभन्दा चिप्लो हुन्छ।
4. तापनि अन्तमा त्यो स्त्री तीतेपातीजस्तै तीतो र दुईधारे तरवारझैँ धारिलो हुन्छे।
5. त्यसका खुट्टाहरू मृत्युतिर ओरालो लाग्छन्, र त्यसका पाइलाहरू पातालतिर लम्कन्छन्।
6. त्यसले जीवनको बाटोलाई ध्यानसित विचार गर्दिनँ, त्यसका चाल अस्थिर छन्, तर त्यसले यसबारे केही जान्दिनँ।
7. अब हे मेरा छोरा हो, मेरो कुरा सुन, मैले भनेका कुराबाट तर्केर नजाओ।
8. त्यस्ती स्त्रीदेखि टाढा बस् र त्यसको घरको ढोकाको नजिक नजाओ।
9. नत्र त तिमीहरूले आफ्नो बल अरूलाई दिनेछौ र तिमीहरूको आयु दुष्टको हातमा पर्नेछ।
10. अरूले तिम्रा धनसम्पत्तिमा चैन गर्नेछन् र तिमीहरूले दु:खसित कमाएको धन अरू मानिसको घरमा जानेछ।
11. जीवनको आखिरी समयमा तिमीहरूले बिलौना गर्नेछौ, जुन बेला तिमीहरूको शरीर हाड र छाला मात्र हुनेछ।
12. तब तिमीहरूले भन्नेछौ, ‘‘हाय ! मैले अनुशासनलाई किन घृणा गरेँ र कसरी सुधारका कुरालाई मेरो हृदयले तुच्छ ठान्यो !
13. न त मैले मेरा गुरुहरूको आज्ञापालन गरेँ, न मलाई सिकाउनेका अर्तीलाई नै ध्यान दिएँ।
14. म सर्वनाशको खाडल छेउ आइपुगेँ, र सारा समुदायको माझमा झन्डै निन्दित भएँ।’’
15. आफ्नै कुण्डको पानी र आफ्नै कुवाबाट बगेको पानी पी।
16. के तेरो कुवाको पानी सडकतिर र तेरो खोलाको पानी बाटोतिर बग्न दिन्छस्?
17. त्यो तेरै निम्ति मात्रै होस्। अरूले यसको उपभोग नगरून्।
18. तेरो फुहारा आशिषित हुनसकोस्, र तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित हो।
19. मायालु मृगी र राम्री हरिणीझैँ त्यसकै स्तनमा तँ सन्तुष्ट बन्, तँ सधैँ त्यसको प्रेममा मग्न भइरह।
20. हे मेरो छोरा, तँ किन वेश्याको मोहमा फस्छस्? तँ किन अर्काकी पत्नीलाई अँगालो हाल्छस्?
21. किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्टिमा रहिरहन्छ, त्यो हिँड्ने हरेक मार्गलाई उहाँले जाँच्नुहुन्छ।
22. दुष्ट मानिस आफ्नै अधर्ममा पक्राउ पर्छ, र आफ्नै पापको पासोमा जेलिन्छ।
23. अनुशासनको अभावले त्यो नाश हुनेछ, उसको आफ्नै मूर्खताले त्यसलाई भर्माउनेछ।
|