1. हे मेरो छोरा, यदि तँ आफै कसैको जमानी बसेको छस्, र कसैसँग वाचा बाँधेको छस् भने,
2. आफ्नो प्रतिज्ञाको वचनले तँ फँसेको छस्, र आफ्नै मुखको प्रतिज्ञाले बाँधिएको छस् भने,
3. हे मेरो छोरा, अब जे भन्दै छु, त्यही गर् र तैँले आफैलाई स्वतन्त्र पार्, किनकि तँ आफ्नो छिमेकीको पन्जामा परेको छस्, जा आफूलाई नम्र तुल्या र छिमेकीसँग खुरन्धार विन्ती गर्।
4. तेरा आँखामा निद्रा पर्न नदे, र पटल बन्द हुन नदे।
5. शिकारीको पासोबाट मृग उम्केझैँ, शिकारीको हातबाट चरा फुत्केझैँ, तैँले आफूलाई स्वतन्त्र पार्।
6. ए अल्छे, कमिलाकहाँ गएर त्यसकोचालढाल हेर र बुद्धिमान् बन्;
7. त्यसको अगुवा हुँदैन, संरक्षक वा शासक हुँदैन;
8. तर ग्रीष्मऋतुमा त्यसले आफ्नो अन्नको भण्डार तयार गर्छ, र कटनीको समयमा खानेकुरा बटुल्छ।
9. ए अल्छे, तँ कहिलेसम्म सुतिरहन्छस्? तँ कहिले आफ्नो निद्राबाट बिउँझन्छस्?
10. एकछिनको सुताइ र एकछिनको उँघाइले, आरामको निम्ति एकछिनको हात बधाइँले,
11. दरिद्रता तँमाथि डाँकुझैँ र अभाव हतियार भिरेको मानिसझैँ आइलाग्नेछ।
12. बदमास र दुष्ट मानिस त्यही हो, जो खराब कुरा बोलिहिँड्छ।
13. आँखा झिम्क्याउँछ, खुट्टाले चाल गर्छ, औंलाले पनि इसारा गर्छ।
14. त्यसले हृदयमा दुष्ट कुरा रच्दछ, त्यसले सधैँ विवाद उत्पन्न गराउँदछ।
15. त्यसर्थ, त्यसमाथि अचानक विपत्ति आइपर्छ;उपायबिना नै त्यो एक्कासि नष्ट हुन्छ।
16. परमप्रभुले यी छ वटा कुरालाई घृणा गर्नुहुन्छ; सात वटा कुरादेखि उहाँ घिनाउनुहुन्छ
17. अहङ्कारी आँखा, झुट बोल्ने जिब्रो,निर्दोषको रगत बगाउने हात,
18. दुष्ट युक्ति रच्ने मन, खराबीतिर लम्कने पाइला,
19. असत्य बोल्ने झुटो साक्षी र दाजुभाइका माझमा झगडा उत्पन्न गर्ने मानिस। व्यभिचारको विरुद्धमा चेताउनी
20. हे मेरो छोरा, आफ्ना पिताको आज्ञापालन गर्,र आफ्नी आमाको अर्तीलाई इन्कारनगर्।
21. ती तेरो हृदयमा सधैँ राखिराख्, र तिनलाई तेरो गलामा नै बाँधिराख्।
22. जब तँ हिँड्छस्, त्यसले तँलाई डोर्याउनेछ; जब तँ सुत्छस्, त्यसले तँलाई रक्षा गर्नेछ; जब तँ जागा हुन्छस्, त्यसले तँसित बातचित गर्नेछ।
23. किनकि आज्ञा एउटा बत्ती हो, र अर्ती एउटा ज्योति हो, अनुशासनको निम्ति गरिने हप्काइ जीवनको मार्ग हो;
24. यसले अर्काकी पत्नीबाट, खराब स्त्रीको लोभ्याउने जिब्रोबाट तँलाई जोगाउनेछ।
25. तैँले तेरो मनमा त्यसको सुन्दरताको लालसा नगर्; त्यसको आँखाले तँलाई नफसाओस्।
26. किनकि वेश्याले तँलाई दरिद्रतामा पुर्याउँछे र व्यभिचारिणी स्त्रीले तँलाई नाशमा पुर्याउँछे।
27. के मानिसले छात्तीमा आगो राख्दा पनि त्यसको लुगा डढ्दैन र?
28. के आगोका भुङ्ग्रामा हिँड्नेको पैताला जल्दैन र?
29. त्यसैले, अर्काकी पत्नीसित सुत्ने त्यस्तै हुन्छ, त्यसलाई छुने जो कोही दण्डबिना उम्कँदैन।
30. आफ्नो भोक मार्न चोरी गर्दा पनि के चोर दोषी ठहरिँदैन र?
31. यदि त्यो पक्राउ पर्यो भने के त्यसले सात गुणा बढी दिनुपर्दैन र? त्यसको घरमा भएका सबै थोक त्यसले दिनुपर्दैन र?
32. व्यभिचार गर्ने मानिस विवेकहीन मूर्ख हो; त्यस मानिसले आफ्नो प्राण आफै नष्ट गर्छ।
33. त्यसले मुक्का र अपमान पाउनेछ; त्यसको निन्दा कहिल्यै मेटिनेछैन।
34. किनभने ईर्ष्याले लोग्नेको क्रोधलाई बढाउँछ; बदला लिने दिनमा त्यसले दया नै देखाउँदैन।
35. त्यसले क्षतिपूर्तिको कुनै वास्ता गर्नेछैन; जतिसुकै घुस दिए तापनि त्यो सन्तुष्ट हुनेछैन।
|