1. हे मेरो छोरा, मेरो वचन पालन गर्, मेरा आज्ञा तेरो मनमा राखिछोड।
2. मेरा आज्ञा पालन गरिस् भने तँ जिउनेछस्, र मेरो अर्तीलाई तेरो आँखाको नानीझैँ जोगाइराख्।
3. त्यसलाई तेरो औंलीमा बाँधिराख्, तेरो हृदयको पाटीमा ती लेखिराख्।
4. बुद्धिलाई भन्, ‘‘तिमी मेरी बहिनी हौं।’’ र समझशक्तिलाई भन्,‘‘तिमी मेरो आफन्त हौ।’’
5. तब तिनले तँलाई वेश्याबाट, र व्यभिचारिणी पत्नीका मोहित गराउने कुराबाट जोगाइराख्नेछन्।
6. मेरो घरमा भएको झ्यालको आँखीझ्यालद्वारा चियाएर हेरेँ,
7. सीधासादाहरूका माझमा मैले विचार गरेँ, त्यहाँ जवानहरूको बीचमा एक विवेकहीन ठिटो रहेछ।
8. त्यस स्त्रीको घरको कुनानेरको बाटो हुँदै त्यो गइरहेथ्यो; र त्यसले आफ्नो पाइला त्यस स्त्रीको घरतिर बढाइरहेको थियो।
9. जब दिन ढल्किँदै जान्छ, तब रात अँध्यारो हुँदै जान्छ।
10. अचानक हेर, वेश्याकी वस्त्र लगाएकी र धूर्त हृदय भएकी एक स्त्री देखा परी; र त्यस स्त्रीले त्यसलाई भेटी।
11. चञ्चली र जिद्दी गर्ने स्त्री, त्यसका खुट्टा कहिल्यै आफ्नो घरमा अडिँदैनन्;
12. कहिले त्यो बाहिर हुन्छे, कहिले गल्लीतिर; कुनाकाप्चाहुँदी त्यो ढुकेर बस्छे।
13. त्यसले उसलाई च्याप्प समाती र चुम्बन गरी, लाजै नमानी त्यसले त्यसलाई अनुरोध गरी,
14. ‘‘मैले घरमा मेलबलि चढाउनुपर्ने थियो, त्यो भाकल आज पूरा भएको छ।
15. त्यसर्थ, म तपाईंलाई भेट्न बाहिर आएकी छु, मैले तपाईंलाई हेरिरहेकी थिएँ र अहिले भेट्टाएकी छु !
16. मैले मेरो ओछयानमा मिश्रबाट ल्याएकी रङ्गीबिरङ्गी मलमलको तन्ना ओछयाएकी छु।
17. मैले मेरो बिछयौनामा मूर्र छर्केकी छु, मेरा वस्त्रमा एलवा र दालचिनीको अत्तर छर्केर सुगन्धिततुल्याएकी छु।
18. आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौं, हामी प्रेममा मग्न होऔं।
19. मेरो पति घरमा हुनुहुन्न, उहाँ त टाढा यात्रामा जानुभएको छ।
20. उहाँले आफूसित भएको रुपियाँको थैली लानुभएको छ, र पूर्णिमासम्म उहाँ घर फर्कनुहुन्न।’’
21. फकाइफुस्ल्याईकन त्यसले उसलाई विवश पारी, मोहित कुरा गरेर त्यसले उसलाई फँसाई।
22. लाटो मूर्खझैँ ऊ त्यसको पछि लाग्यो, कसाईखानातिर लागेको पशुझैँ, पासोतिर लागेको मृगझैँ,
23. जबसम्म वाणले त्यसको मुटु छेँड्दैन, पासोतिर वेगले उडेको चराझैँ, आफ्नो ज्यान नै गुमाउँछु भन्ने कुरा उसलाई थाहा नै हुँदैन।
24. हे मेरा छोराहरू हो, अब मेरा कुरा सुन, मैले भनेको वचनमा ध्यान देओ।
25. तेरो मन त्यसको चालतिर नलगा, त्यसका मार्गतिर बरालिएर नजा।
26. धेरै जनालाई त्यसले घाइते बनाएकी छे, त्यसको शिकार बन्नेहरू असङ्ख्य छन्।
27. त्यसको घर पाताल जाने बाटो हो, जसले मृत्यु-स्थलतिर पुर्याउँछ।
|