1. परमप्रभुको स्तुति गर ! स्वर्गबाट परमप्रभुको स्तुति गर; उच्च स्थानहरूमा उहाँको स्तुति गर।
2. हे उहाँका सबै दूत हो, उहाँको स्तुति गर; हे उहाँका सारा सेना हो, उहाँको स्तुति गर।
3. हे सूर्य र चन्द्रमा हो, उहाँको स्तुति गर; हे सबै ज्योतिर्मय तारा हो, उहाँको स्तुति गर।
4. हे सर्वोच्च आकाश र आकाशमाथिको पानी हो, उहाँको स्तुति गर।
5. तिनीहरूले परमप्रभुको नाउँको स्तुति गरून्; किनभने उहाँले आज्ञा दिनुभयो र ती सृजिए।
6. उहाँले तिनीहरूलाई सदाकालको निम्ति स्थापित गर्नुभयो; उहाँले एउटा आदेश दिनुभयो, जो टल्नेछैन।
7. हे विशाल जलजन्तु र सबै गहिरा सागरहो, पृथ्वीबाट परमप्रभुको स्तुति गर;
8. हे आगो र असिना, हिउँ र कुइरो, उहाँकोवचन पालन गर्ने आँधी-बतास हो;
9. पहाडहरू र सबै डाँडा हो, फल फलाउने रूखहरू र सबै देवदारु हो;
10. जङ्गली जनावर र सबै गाईवस्तु हो, घस्रने जन्तु र उड्ने चराचुरुङ्गी हो;
11. पृथ्वीका राजाहरू र सबै मानिस हो, राजकुमारहरू र सबै न्यायाधीश हो;
12. जवान ठिटा र कुमारीहरू हो, वृद्ध मानिसहरू र केटाकेटी हो;
13. तिनीहरूले परमप्रभुको नाउँको स्तुति गरून्; किनभने उहाँको नाउँ मात्र सर्वोत्तम छ; उहाँको महिमा पृथ्वी र आकाशमाथि रहन्छ।
14. उहाँले आफ्नो प्रजाको सिङ उच्च पार्नुहुन्छ; उहाँका सबै पवित्रजन, उहाँको नजिकमा रहने प्रजा इस्राएलका सन्तानका निम्ति यो प्रशंसाको विषय हो। परमप्रभुको स्तुति गर !
|