1. आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ र आकाशमण्डलले उहाँको हातको काम प्रकट गर्छ।
2. तिनीहरूले दिनदिनै वार्तालाप गर्छन् र रातैपिच्छे ज्ञानको प्रदर्शन गर्छन्।
3. कुनै बोली छैन, न भाषा छ, जहाँ तिनीहरूको सोर सुनिँदैन।
4. यद्यपि, तिनीहरूको सोरले सारा पृथ्वी गुञ्जायमान भएको छ, अनि तिनीहरूका शब्द पृथ्वीको अन्तसम्म पुगेको छ। आकाशमा उहाँले सूर्यको लागिवासस्थान बनाउनुभएको छ।
5. ऊ आफ्नो कोठाबाट निस्किरहेको दुलहाजस्तो छ, अनि एक विजेताझैँ, जो आफ्नो दौड दौडन हर्षित हुन्छ।
6. आकाशको एक छेउबाट उसको उदय हुन्छ, अनि अर्को छेउसम्म उसले परिक्रमा गर्छ र त्यसको तापबाट कुनै कुरा लुक्न सक्दैन।
7. परमप्रभुको व्यवस्था सिद्ध छ, जसले प्राणलाई पुनर्जीवित पार्दछ, परमप्रभुका नियमहरू विश्वसनीय छन्, जसले सोझो मानिसलाई बुद्धिमान् तुल्याउँछ।
8. परमप्रभुका आदेशहरू न्यायसङ्गत छन्, त्यसले हृदयलाई आनन्दित गराउँछ। परमप्रभुको आज्ञा स्पष्ट छ, त्यसले आँखालाई प्रकाश दिन्छ।
9. परमप्रभुको भय पवित्र छ, सदासर्वदा स्थिर रहनेछ, परमप्रभुका न्यायहरू सत्य छन् र पूर्ण रूपमा धार्मिक छन्।
10. सुनभन्दा बढी, अँ, निखुर सुनभन्दा बढी चाह गर्ने किसिमका छन्, महभन्दा बढी, महको चाकाभन्दा पनि मीठा छन्।
11. तीद्वारा नै तपाईंको दासले चेताउनी पाउँछ, अनि ती पालन गर्दा ठूलो इनाम मिल्दछ।
12. कसले आफ्ना भूल थाहा पाउन सक्छ र? तपाईंले मलाई गुप्त पापबाट शुद्ध पार्नुहोस्।
13. आफ्नो दासलाई जानीबुझी पाप गर्नदेखि रोक्नुहोस्, तिनीहरूले ममाथि राज्य गर्न नपाऊन्, तब म सोझो हुनेछु र ठूलो अपराधदेखि निर्दोष हुनेछु।
14. हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक ! मेरो मुखका शब्दहरू र मेरो हृदयको ध्यान तपाईंको दृष्टिमा ग्रहणयोग्य होऊन्।
|