1. परमप्रभुले सङ्कष्टको दिनमा तिम्रो विन्ती सुनून्, याकूबका परमेश्वरको नाउँले तिमीलाई सुरक्षा गरून्।
2. उहाँले तिमीलाई पवित्रस्थानबाट सहायता पठाऊन् र सियोनबाट सहारा दिऊन्।
3. उहाँले तिम्रो सबै बलिदानको सम्झना गरून् र तिम्रो होमबलि ग्रहण गरून्। सेला
4. उहाँले तिम्रो हृदयको मनोरथ पूरा गरून् र तिम्रा सबै योजना सफल गराऊन्।
5. हामी तिम्रो उद्धारमा रमाउनेछौं र हाम्रा परमेश्वरको नाउँमा हामी आफ्ना झण्डा फरफराउनेछौं, परमप्रभुले तिम्रा सबै विन्ती पूरा गरिदिऊन्।
6. परमप्रभुले आफ्ना अभिषिक्तजनलाई बचाउनुहुन्छ भनी अब म जान्दछु, उहाँले आफ्नो दाहिने बाहुलीको उद्धार गर्ने शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट तिनलाई उत्तर दिनुहुनेछ।
7. कसैले रथ र कसैले घोडाहरूमाथि भरोसा राख्छन् तर हामी त परमप्रभु हाम्रा परमेश्वरको नाउँको भरोसा गर्छौं।
8. तिनीहरू ढलेर घुँडा टेक्नेछन्, तर हामीहरू त खडा हुनेछौं, र स्थिर रहनेछौं।
9. हे परमप्रभु, बचाउनुहोस्, जब हामी पुकार्छौं, तब राजाले हाम्रो विन्ती सुनून्।
|