1. हे परमेश्वरका शक्तिशाली सन्तान हो, परमप्रभुलाई श्रेय देओ, परमप्रभुलाई महिमा र सामर्थ्य देओ।
2. परमप्रभुलाई उहाँको नाउँको सुहाउँदो महिमा देओ, पवित्रताको सुन्दरतामा परमप्रभुलाई दण्डवत् गर।
3. परमप्रभुको आवाज पानीमाथि छ, महिमाको परमेश्वर गर्जनुहुन्छ, परमप्रभु समुद्रमाथि हुनुहुन्छ।
4. परमप्रभुको आवाज सामर्थी छ, परमप्रभुको आवाज प्रतापी छ।
5. परमप्रभुको आवाजले देवदारुहरू भाँचिन्छन्, अँ परमप्रभुले लेबनानका देवदारुहरू भाँचिदिनुहुन्छ।
6. उहाँले लेबनानलाई बाछाझैँ र सिरिओनलाई जवान जङ्गली साँढेझैँ उफार्नुहुन्छ।
7. परमप्रभुको आवाजले आगोका ज्वाला चिर्दछ।
8. परमप्रभुको आवाजले मरुभूमिलाई हल्लाउँछ, परमप्रभुले कादेशको मरुभूमिलाई हल्लाउनुहुन्छ।
9. परमप्रभुको आवाजले हरिणीलाई ब्याउने तुल्याउँछ र जङ्गललाई उजाड पार्दछ, अनि उहाँको मन्दिरमा सबैले उहाँको महिमाको वर्णन गर्छन्।
10. परमप्रभु बाढीमाथि विराजमान हुनुहुन्छ, परमप्रभु सदासर्वदा राजाझैँ विराजमान हुनुहुन्छ।
11. परमप्रभुले आफ्ना मानिसहरूलाई शक्ति दिनुहुन्छ, परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिका साथ आशिष् दिनुहुन्छ।
|