1. हे परमप्रभु, मसित झगडा गर्नेहरूसित झगडा गर्नुहोस्, मसित युद्ध गर्नेहरूको विरुद्धमा युद्ध गर्नुहोस्।
2. कवच पहिरनुहोस् र ढाल लिनुहोस्, अनि मेरो सहायताको निम्ति खडा हुनुहोस्।
3. भाला पनि थुत्नुहोस् र मलाई खेद्नेहरूको विरुद्धमा बाटो छेक्नुहोस्, मेरो प्राणलाई भन्नुहोस्, ‘‘तेरो उद्धार म नै हुँ।’’
4. मेरो प्राण लिन खोज्नेहरू लज्जित होऊन् र सर्ममा परून्, मेरो हानि रच्नेहरू पछि हटून् र सर्ममा परून्।
5. तिनीहरू बतासको सामु भुसजस्ता होऊन्, अनि परमप्रभुको दूतले तिनीहरूलाई खेदून्।
6. किनकि बिनाकारण तिनीहरूले मेरो निम्ति खाडलभित्र जाल लुकाए, जुन खाडल बिनाकारण तिनीहरूले मेरो निम्ति खनेका थिए।
7. एक्कासि तिनीहरूमाथि विनाश आइपरोस् र तिनीहरूले लुकाएको जालमा तिनीहरू आफै परून्, त्यही विनाशमा तिनीहरू आफै नष्ट होऊन्।
8. एक्कासि तिनीहरूमाथि विनाश आइपरोस् र तिनीहरूले लुकाएको जालमा तिनीहरू आफै परून्, त्यही विनाशमा तिनीहरू आफै नष्ट होऊन्।
9. तर मेरो प्राण परमप्रभुमा आनन्दित हुनेछ र उहाँको उद्धारमा रमाउनेछ।
10. मेरा सबै हड्डीहरूले भन्नेछन्, ‘‘हे परमप्रभु, तपाईंजस्तो को छ र? तपाईंले दु:खमा परेकालाई ऊभन्दा बलिया मानिसहरूबाट छुटाउनुहुन्छ, अँ, गरिब र दरिद्रलाई, उसलाई लुट्नेहरूबाट छुटाउनुहुन्छ।’’
11. झुटा साक्षीहरू खडा भए, तिनीहरूले मलाई थाहै नभएका कुरामा दोष लगाए।
12. तिनीहरूले मलाई शोकित होउन्जेल भलाइको सट्टामा खराबी गरे।
13. तर मैले त तिनीहरू बिरामी हुँदा भाङ्ग्राको वस्त्र लगाएँ, उपवास बसेर मैले आफैँलाई नम्र तुल्याएँ, अनि मेरो प्रार्थना मतिरै फर्क्यो।
14. आफ्नै साथी वा भाइलाई झैँ मैले व्यवहार गरेँ, आफ्नै आमाको निम्ति विलाप गर्नेले झैँ मैले धेरै शोक गरेँ।
15. तर मेरो विपत्तिमा तिनीहरू रमाए, र एकसाथ भेला भए, अँ, ती आक्रमणकारीहरू मेरो विरुद्धमा एकसाथ भेला भए, अनि तिनीहरूले लगातार मेरो निन्दा गरे।
16. भोजमा उपहास गर्ने कपटीहरूसँगै तिनीहरूले मेरो विरुद्धमा दाह्रा किटे।
17. हे परमप्रभु, तपाईं कहिलेसम्म हेरिरहनुहुन्छ? मेरो प्राणलाई तिनीहरूको आक्रमणबाट, मेरो जीवनलाई ती सिंहहरूबाट बचाउनुहोस्।
18. ठूलो सभामा म तपाईंलाई धन्यवाद चढाउनेछु, धेरै मानिसको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।
19. बिनाकारण मेरा शत्रुहरू मेरो विरुद्धमा रमाउन नपाऊन्, न त बिनाकारण मलाई घृणा गर्नेहरूले आँखा सर्काउन पाऊन्।
20. किनकि तिनीहरू शान्तिका कुरा गर्दैनन्, तर देशमा शान्तिसित बस्नेहरूका विरुद्धमा छलकपटका युक्ति रच्छन्।
21. अँ, तिनीहरूले मेरो विरुद्धमा आफ्नो मुख बाएर भनेँ, ‘‘आहा ! आहा ! हामीले आफ्नै आँखाले यो देख्न पायौं।’’
22. हे परमप्रभु, तपाईंले यो कुरा देख्नुभएको छ, चुप नलाग्नुहोस्, हे परमप्रभु, मदेखि टाढा नहुनुहोस्।
23. जाग्नुहोस्, मेरो न्यायको निम्ति उठ्नुहोस्, हे मेरा परमेश्वर, मेरा परमप्रभु, मेरो रक्षाको निम्ति खडा हुनुहोस्।
24. हे परमप्रभु, मेरा परमेश्वर, तपाईंको धार्मिकताअनुसार मेरो न्याय गर्नुहोस्, अनि तिनीहरू मेरो विरुद्धमा रमाउन नपाऊन्।
25. तिनीहरूले आफ्नो हृदयमा ‘‘आहा ! हामीले चिताएको पुग्यो भन्न नपाऊन्,’’ न त तिनीहरूले ‘‘हामीले त्यसलाई निल्यौं’’ नै भन्न पाऊन्।
26. मेरो विपत्तिमा रमाउनेहरू लाज र अन्योलमा परून्, मेरो विरुद्धमा आफैलाई उच्च पार्नेहरू लाजमा परून् र अपमानित होऊन्।
27. मेरो न्यायको पक्ष लिनेहरू आनन्दले कराऊन् र हर्षित होऊन्, अँ, उनीहरूले निरन्तर रूपमा यसो भनिरहून्, ‘‘आफ्नो दासको उन्नतिमा प्रसन्न हुनुहुने परमप्रभुको बढाइँ होस्।’’
28. अनि मेरो जिब्रोले दिनभरि नै तपाईंको धार्मिकता र प्रशंसाको बयान गरिरहनेछ।
|