1. दुष्ट मानिस अति नै विद्रोही हुन्छ, उसले परमेश्वरको डर मान्दैन।
2. किनकि त्यसको अधर्म घृणित नभेट्टाइन्जेलसम्म त्यसले आफ्नो नजरमा आफैलाई सर्काउँछ।
3. त्यसका मुखका वचन दुष्ट र छली छन्, त्यसले बुद्धिमानी हुन र भलाइ गर्न छोडेको छ।
4. त्यसले आफ्नो ओछयानमा दुष्ट युक्ति रच्छ, त्यसले आफूलाई ठीक बाटोमा लगाउँदैन, त्यसले खराबीलाई घृणा गर्दैन।
5. हे परमप्रभु, तपाईंको कृपा स्वर्गसम्मै र तपाईंको विश्वसनीयता आकाशसम्मै फैलिएको छ।
6. तपाईंको धार्मिकता विशाल पहाडहरूजस्तै छ, तपाईंका न्यायहरू गहिरो समुद्रझैँ छन्, हे परमप्रभु, तपाईंले मानिस र पशुलाई जोगाइराख्नुहुन्छ।
7. हे परमेश्वर, तपाईंको दया कति उत्तम छ ! यसैकारण, मानिसका सन्तानले तपाईंका पखेटाको छायाँमुनि आफ्नो भरोसा राख्दछन्।
8. उनीहरू तपाईंको भवनको प्रशस्तताबाट तृप्त हुनेछन् र तपाईंले उनीहरूलाई तपाईंको सुख-चैनको नदीबाट पिउन दिनुहुनेछ।
9. किनकि जीवनको मूल तपाईंसँग छ, तपाईंको ज्योतिमा हामीले ज्योति देख्नेछौं।
10. तपाईंलाई चिन्नेहरूमाथि आफ्नो करुणा र सोझो हृदय हुनेहरूमाथि आफ्नो धार्मिकता जारी राख्नुहोस्।
11. घमण्डको लात मेरो विरुद्धमा नआओस्, न त दुष्टहरूको हातले मलाई हटाओस्।
12. दुष्ट काम गर्नेहरू पतन भएका छन्, तिनीहरू तल फ्याँकिएका छन् र उठ्न सक्नेछैनन्।
|