1. दुष्टहरूको कारण झर्को नमान, न त कुकर्मीहरूको विरुद्धमा डाह गर,
2. किनकि तिनीहरू चाँडै घाँसझैँ सुकिजानेछन् र हरियो बिरुवाझैँ ओइलाउनेछन्।
3. परमप्रभुमाथि भरोसा राख र भलाइ गर अनि तिमी देशमा बस्न पाउनेछौ र सुरक्षित खर्कमा रमाउन पाउनेछौ।
4. परमप्रभुमा रमाहट गर अनि उहाँले तिम्रा हृदयका इच्छा पूरा गरिदिनुहुनेछ।
5. परमप्रभुलाई आफ्नो मार्ग सुम्प, उहाँमाथि भरोसा राख अनि उहाँले त्यो पूरा गरिदिनुहुनेछ।
6. अनि उहाँले तिम्रो धार्मिकता ज्योतिझैँ र तिम्रो न्याय मध्यदिनझैँ प्रकट गरिदिनुहुनेछ।
7. परमप्रभुमा विश्राम गर र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर, आफ्नो मार्गमा उन्नति गर्ने र दुष्ट युक्ति पूरा गर्ने मानिसको कारण झर्को नमान।
8. रिस गर्न छोड र क्रोधलाई त्याग, झर्को नमान, यसले खराबी गर्नतिर मात्र डोर्याउँदछ।
9. किनकि दुष्टहरू नाश हुनेछन्, तर परमप्रभुको बाटो हेर्नेहरू पृथ्वीको उत्तराधिकारी हुनेछन्।
10. किनकि थोरै समयपछि दुष्ट रहनेछैन, अँ, तिमीले त्यसलाई ध्यानपूर्वक खोजे तापनि त्यो त्यहाँ हुनेछैन।
11. तर नम्रहरू पृथ्वीका उत्तराधिकारी हुनेछन् र शान्तिको प्रशस्ततामा आनन्दित हुनेछन्।
12. दुष्टले धर्मीजनको विरुद्धमा युक्ति रच्छ र उसको विरुद्धमा दाह्रा किट्छ।
13. परमप्रभुले त्यसलाई हाँसोमा उडाउनुहुनेछ किनकि त्यसको दिन नजिक आइरहेको उहाँ जान्नुहुन्छ।
14. गरिब र दरिद्रलाई ढाल्न र सीधा चाल भएकाहरूलाई मार्न दुष्टहरूले तरवार थुतेका छन् र धनुमा ताँदो चढाएका छन्।
15. तर तिनीहरूका तरवारले तिनीहरूकै मुटु छेड्नेछन्, र तिनीहरूका धनु भाँचिनेछन्।
16. धेरै दुष्ट मानिसको धनसम्पत्तिभन्दा एक जना धर्मी मानिससित भएको थोरै कुरा उत्तम हो।
17. किनकि दुष्टहरूका पाखुरा भाँचिनेछन्, तर परमप्रभुले धर्मीजनलाई सम्हाल्नुहुनेछ।
18. परमप्रभुले सोझाहरूका दिनहरू जान्नुहुन्छ र उनीहरूका उत्तराधिकार सदासर्वदा रहिरहनेछ।
19. खराब समयमा उनीहरू सर्ममा पर्नेछैनन् अनि अनिकालका समयमा पनि उनीहरूसित प्रशस्त हुनेछ।
20. तर दुष्टहरू नाश हुनेछन् र परमप्रभुका शत्रुहरू पाठाहरूका बोसोझैँ हुनेछन्, ती भस्म हुनेछन्, ती धुवाँजस्तै बिलाउनेछन्।
21. दुष्टले ऋण लिन्छ र तिर्दैन, तर धर्मीजन दयालु हुन्छ र तिर्छ।
22. किनकि उहाँबाट आशिष् पाउनेहरू पृथ्वीका उत्तराधिकारी हुनेछन्, तर उहाँद्वारा श्राप पाउनेहरू नाश हुनेछन्।
23. असल मानिसका पाइला परमप्रभुद्वारा नै स्थापित हुन्छन्, अनि उहाँ उसको मार्गमा प्रसन्न रहनुहुन्छ।
24. उसलाई ठेस लाग्यो भने पनि ऊ लड्नेछैन किनकि परमप्रभुले आफ्नो हातले समातेर उसलाई थाम्नुहुन्छ।
25. म जवान थिएँ र अहिले बूढो भएको छु, तापनि मैले धर्मीजनलाई त्यागिएको देखेको छैनँ, न त उसको सन्तानले रोटीको भीख माग्दै गरेको देखेको छु।
26. ऊ सधैँभरि कृपालु हुन्छ र ऋण दिन्छ, अनि उसको सन्तानले आशिष् पाउनेछ।
27. खराबीदेखि अलग बस र भलाइ गर, अनि तिमी सदासर्वदा सुरक्षित रहनेछौ।
28. किनकि परमप्रभुले न्यायलाई प्रेम गर्नुहुन्छ र आफ्ना पवित्रजनलाई त्याग्नुहुन्न, उनीहरू सदासर्वदा सुरक्षित रहन्छन्, तर दुष्टहरूका सन्तान नाश हुनेछन्।
29. धर्मीजन देशका उत्तराधिकारी हुनेछन्, र सधैँभरि त्यहाँ बसोबास गर्नेछन्।
30. धर्मीजनको मुखले बुद्धिको कुरा गर्छ, र उसको जिब्रोले न्यायको कुरा गर्छ।
31. परमेश्वरको व्यवस्था उसको हृदयमा हुन्छ, उसका पाइला चिप्लनेछैनन्।
32. दुष्टले धर्मीजनलाई ढुकिबस्छ, र उसलाई मार्न खोज्छ।
33. परमप्रभुले उसलाई त्यसको हातमा छोड्नुहुनेछैन, न त उसको न्याय हुँदा उसलाई दोषी ठहर्याउनुहुनेछ।
34. परमप्रभुको बाटो हेर र उहाँको मार्गमा हिँड, अनि उहाँले तिमीलाई देशको उत्तराधिकारी बनाउनको निम्ति उच्च पार्नुहुनेछ, जब दुष्टहरू नाश हुन्छन्, तब तिमीले त्यो देख्नेछौ।
35. मैले दुष्टलाई अति नै सामर्थी भएको र हराभरा देवदारुको रूखझैँ सप्रेको देखेको छु।
36. तापनि त्यो मर्यो, हेर, अब त्यो रहेनँ, अँ, मैले त्यसको खोजी गरेँ तर त्यो भेट्टाइएन।
37. निर्दोष मानिसलाई चिन र सोझो मानिसलाई हेर, किनकि यस्तो मानिसको अन्त शान्तमय हुन्छ।
38. तर अपराधीहरू एकसाथ नष्ट हुनेछन्, दुष्टहरूको अन्त विनाश हुनेछ।
39. तर धर्मीजनको उद्धार परमप्रभुबाट हुन्छ, उहाँ नै सङ्कष्टको समयमा उनीहरूको बल हुनुहुन्छ।
40. अनि परमप्रभुले उनीहरूलाई सहायता गर्नुहुनेछ र छुटकारा दिनुहुनेछ, उहाँले उनीहरूलाई दुष्टहरूबाट छुटकारा दिनुहुनेछ र बचाउनुहुनेछ, किनभने उनीहरूले उहाँमाथि भरोसा राख्छन्।
|