1. हे परमप्रभु, मलाई तपाईंको क्रोधमा नहप्काउनुहोस्, न त तपाईंको तातो रिसमा मलाई ताडना दिनुहोस्।
2. किनकि तपाईंका काँडहरू ममा गाडिएका छन् र तपाईंको हातले मलाई जोडले थिचेको छ।
3. तपाईंको रिसको कारण मेरो शरीर स्वस्थ छैन, न त मेरो पापको कारण मेरा हड्डीहरू नै स्वस्थ छन्।
4. किनकि मेरा अधर्मले म थिचिएको छु, मेरो निम्ति ती बोक्नै नसक्ने गह्रौं भारीझैँ भएका छन्।
5. मेरो मूर्खताको कारण मेरा घाउहरू गन्हाउँछन् र सडेका छन्।
6. म कष्टमा परेको छु, म धेरै झुकेको छु, म दिनभरि विलाप गर्छु।
7. किनभने मेरो कम्मर घिनलाग्दो रोगले ग्रस्त छ, मेरो शरीर स्वस्थ छैन।
8. म कमजोर र साह्रै तोडिएको छु, मेरो हृदयको बेचैनीले गर्दा मैले सुस्केरा हालेको छु।
9. हे परमप्रभु, मेरो सम्पूर्ण चाहना तपाईंको सामुन्ने प्रकट छ र मेरो आर्तनाद तपाईंबाट लुकेको छैन।
10. मेरो मुटु धड्कन्छ, मेरो बलले भ्याउँदैन, मेरो आँखाको ज्योति पनि मबाट गइसकेको छ।
11. मेरा प्रेमी र मेरा मित्रहरू मेरो घाउदेखि अलग्गै बस्छन् अनि मेरा आफन्तहरू टाढै उभिन्छन्।
12. मेरो प्राण लिन खोज्नेहरू पनि मेरा निम्ति पासो थाप्छन्, अनि मेरो हानि गर्न खोज्नेहरू विनाशकाकुरा गर्छन्,र दिनभरि छली कुरा सोच्दछन्।
13. तर बहिरो मानिसले झैँ मैले सुनिनँ, अनि म आफ्नो मुख नखोल्ने एउटा गुँगो मानिसजस्तो भएँ।
14. यसरी म सुन्दै नसुन्ने मानिसजस्तो थिएँ, अनि जसको मुखमा कुनै विवादका कुरा छैनन्।
15. हे परमप्रभु, म तपाईंमा नै आशा गर्दछु, हे परमप्रभु, मेरा परमेश्वर, तपाईंले नै सुन्नुहुनेछ।
16. किनकि मैले भनेँ, ‘‘मेरो विन्ती सुन्नुहोस्, नत्र त तिनीहरू ममाथि रमाउनेछन्, मेरो पाउ चिप्लँदातिनीहरूले मेरो विरुद्धमा आफ्नै बढाइँगर्नेछन्।’’
17. किनकि म ढल्नै लागेको छु, र मेरो वेदना सधैँभरि मेरो सामुन्ने छ।
18. किनकि म मेरो अधर्म स्वीकार गर्नेछु, मेरो पापको निम्ति म दु:खित हुनेछु।
19. तर मेरा शत्रुहरू फुर्तिला र बलिया छन्, अनि मलाई बिनाकारण घृणा गर्नेहरू धेरै भएका छन्।
20. भलाइको सट्टामा खराबी गर्नेहरू पनि मेरा विरोधी भएका छन्, किनभने म भलाइको पछि लाग्दछु।
21. हे परमप्रभु, मलाई नत्याग्नुहोस्, हे मेरा परमेश्वर, मदेखि टाढा नहुनुहोस्।
22. हे परमप्रभु, मेरा उद्धारक, मलाई छिट्टै सहायता गर्न आउनुहोस्।
|