1. त्यो मानिस धन्यको हो, जसले गरिबको वास्ता गर्दछ, सङ्कष्टको समयमा परमप्रभुले उसलाई छुटकारा दिनुहुनेछ।
2. परमप्रभुले उसको रक्षा गर्नुहुनेछ, र उसलाई जीवित राख्नुहुनेछ अनि उसलाई पृथ्वीमा आशिष् दिइनेछ, तपाईंले उसलाई शत्रुहरूको इच्छामा सुम्पनुहुनेछैन।
3. परमप्रभुले उसलाई रोगी अवस्थामा सहायता गर्नुहुनेछ, तपाईंले उसको रोग निको पार्नुहुनेछ।
4. मैले भनेँ, ‘‘हे परमप्रभु, मप्रति कृपालु हुनुहोस्, मलाई निको पार्नुहोस्, किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।’’
5. मेरा शत्रुहरूले मेरो विषयमा खराब कुरा बोल्दछन्, ‘‘कहिले त्यो मर्ला, र त्यसको नाम मेटिएला?’’
6. अनि त्यो मलाई भेट्न आयो भने त्यसले व्यर्थको कुरा गर्दछ, त्यसले आफ्नो हृदयमा अधर्म बटुल्छ, बाहिर निस्कँदा त्यसले त्यही कुरा बोल्दछ।
7. मलाई घृणा गर्नेहरू सबै एकसाथ मेरो विरुद्धमा कानेखुसी गर्छन्, तिनीहरूले मेरो विरुद्धमा मेरो हानि गर्ने युक्ति रच्दछन्।
8. तिनीहरू भन्छन्, ‘‘खराब रोगले त्यसलाई पक्रेको छ र अब उठ्न नसक्नेगरी ऊ ओछयानमा परेको छ।’’
9. अँ, मैले भरोसा गरेको र मेरो रोटी खाएको, मेरो आफ्नै हितैषी मित्रले मेरो विरुद्धमा लात उठाएको छ।
10. तर हे परमप्रभु, तपाईं मप्रति कृपालु हुनुहोस् र मलाई उठाउनुहोस्, जसले गर्दा मैले तिनीहरूलाई बदला लिन सकूँ।
11. यसैले म जान्दछु कि , तपाईंले ममाथि निगाह राख्नुहुन्छ, किनभने मेरो शत्रु ममाथि विजयी हुँदैन।
12. अनि तपाईंले मलाई मेरो इमानदारिताको कारण सम्हाल्नुहुन्छ र मलाई सधैँभरि आफ्नो उपस्थितिमा राख्नुहुन्छ।
13. इस्राएलका परमप्रभु परमेश्वर, युगानुयुग धन्यका होऊन्। आमेन, अनि आमेन। दोस्रो भाग (42-72)
|