1. हे परमेश्वर, हामीले आफ्नै कानले सुनेका छौं, हाम्रा पिता-पुर्खाले हामीलाई भनेका छन् कि, प्राचीनकालमा उनीहरूका समयमा तपाईंले के कस्तो काम गर्नुभयो।
2. तपाईंले आफ्नै हातले जाति-जातिलाई कसरी धपाउनुभयो, र उनीहरूलाई बसाल्नुभयो, तपाईंले ती जाति-जातिलाई कसरी सताउनुभयो र निकाल्नुभयो।
3. किनकि उनीहरूले आफ्नै तरवारले त्यस देशमाथि अधिकार गरेनन्, न त उनीहरूकै बाहुबलले उनीहरूलाई बचायो, तर तपाईंको दाहिने हात र बाहुबल अनि तपाईंको मुहारको ज्योतिले बचायो, किनभने तपाईंले उनीहरूमाथि निगाह राख्नुभयो।
4. हे परमेश्वर, तपाईं नै मेरो राजा हुनुहुन्छ, याकूबका निम्ति छुटकाराको आज्ञा गर्नुहोस्।
5. तपाईंद्वारा नै हामी आफ्ना शत्रुहरूलाई दबाउनेछौं, तपाईंको नामद्वारा हाम्रो विरुद्धमा उठ्नेहरूलाई हामी कुल्चनेछौं।
6. किनकि म आफ्नो धनुमा भरोसा राख्नेछैनँ, न त मेरो तरवारले नै मलाई बचाउनेछ।
7. तर तपाईंले हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुभएको छ र हामीलाई घृणा गर्नेहरूलाई सर्ममा पार्नुभएको छ।
8. हामी दिनभरि परमेश्वरमा नै गर्व गर्दछौं र सदासर्वदा तपाईंको नामको प्रशंसा गर्दछौं। सेला
9. तर तपाईंले हामीलाई त्याग्नुभएको छ, र सर्ममा पार्नुभएको छ, अनि तपाईं हाम्रा सेनाहरूका साथमा जानुहुन्न।
10. तपाईंले हामीलाई शत्रुदेखि पिठयुँ फर्काएर भाग्ने तुल्याउनुहुन्छ, हामीलाई घृणा गर्नेहरूले आफ्नो निम्ति मनपरी लुट्छन्।
11. तपाईंले हामीलाई काट्न लगिएका भेडाहरूजस्ता तुल्याउनुभएको छ, अनि हामीलाई जाति-जातिको बीचमा तितरबितर पार्नुभएको छ।
12. तपाईंले आफ्ना जनलाई सित्तैँमा बेच्नुहुन्छ र तिनीहरूको बिक्रीबाट तपाईंले लाभ उठाउनुहुन्न।
13. तपाईंले हामीलाई हाम्रा छरछिमेकका सामु निन्दाको पात्र र हाम्रा वरिपरि हुनेहरूका सामु हाँसो र खिसीको पात्र तुल्याउनुहुन्छ।
14. तपाईंले हामीलाई जाति-जातिको बीचमा उपहास र मानिसहरूको बीचमा मुन्टो हल्लाउने तुल्याउनुहुन्छ।
15. मेरो अपमान निरन्तर मेरो सामुन्ने छ, र मेरो अनुहार सर्मले ढाकेको छ
16. बदनाम र निन्दा गर्नेहरूको वचन अनि शत्रु र प्रतिशोध लिनेहरूको कारण मलाई यस्तो भएको छ।
17. यी सबै कुरा हामीमाथि आइपरेका छन्, तापनि हामीले तपाईंलाई बिर्सेका छैनौं, न त तपाईंको करार उल्लङ्घन गरेका छौं।
18. हाम्रो हृदय तपाईंबाट विमुख भएका छैनन्, न त हाम्रा पाइला तपाईंको मार्गबाट हटेका छन्
19. तापनि तपाईंले हामीलाई स्याल बस्ने ओडारमा कोच्नुभएको छ, र मृत्युको छायाँले ढाक्नुभएको छ।
20. हामीले हाम्रा परमेश्वरको नाम बिर्स्यौं, अथवा हाम्रा हात बिरानो देवतातिर फैलाएका छौं भने,
21. के परमेश्वरले थाहा पाउनुहुनेछैन र? किनकि उहाँले हृदयका गुप्त कुरा जान्नुहुन्छ।
22. अँ, तपाईंको खातिर हामी दिनभरि मारिएका छौं,हामी काटिने भेडाझैँ गनिएका छौं।
23. हे परमप्रभु, बिउँझनुहोस्, तपाईं किन सुत्नुहुन्छ? उठ्नुहोस्, हामीलाई सधैँको निम्ति नत्याग्नुहोस्।
24. किन तपाईं आफ्नो मुहार लुकाउनुहुन्छ? किन हाम्रो कष्ट र हामीमाथिको थिचोमिचो बिर्सनुहुन्छ?
25. किनकि हाम्रो प्राण धुलोमा मिलेको छ, हाम्रो पेट भुइँमा टाँसिएको छ।
26. हाम्रो सहायताको निम्ति उठ्नुहोस्, र आफ्नो कृपाको खातिर हामीलाई छुटकारा दिनुहोस्।
|