1. हे परमेश्वर, मलाई बचाउनुहोस्, किनकि पानी मेरो गर्दनसम्मै आएको छ।
2. म गहिरो दलदलमा डुब्दै छु, जहाँ उभिने ठाउँ छैन, म गहिरो पानीमा आएको छु, जहाँ बाढ ममाथि उर्लंदै छन्।
3. चिच्च्याउँदा चिच्च्याउँदा म थाकिसकेँ, मेरो घाँटी सुकिसक्यो, मेरा परमेश्वरको बाटो हेर्दा हेर्दा मेरा आँखा धमिला भइसके।
4. बिनाकारण मलाई घृणा गर्नेहरू मेरा शिरका केशभन्दा धेरै छन्। मलाई नष्ट गर्न खोज्नेहरू, बिनाकारण मेरा शत्रु हुनेहरू शक्तिशाली छन्, तब मैले नलगेका चीज फिर्ता गर्न म बाध्य भएको छु।
5. हे परमेश्वर, तपाईं नै मेरो मूर्खता जान्नुहुन्छ, अनि मेरा पाप तपाईंबाट छिपेका छैनन्।
6. हे सेनाहरूका परमप्रभु परमेश्वर, जसले तपाईंको बाटो हेर्दछन्, उनीहरू मेरो खातिर सर्ममा नपरून्, हे इस्राएलका परमेश्वर, जसले तपाईंलाई खोज्दछन्, उनीहरू मेरो खातिर लज्जित नहोऊन्।
7. किनभने तपाईंकै निम्ति मैले निन्दा सहेको छु, सर्मले मेरो मुहार ढाकेको छ।
8. मेरा दाजुभाइका निम्ति म पराई र मेरा साक्खे भाइ-बहिनीका निम्ति परदेशी भएको छु।
9. किनकि तपाईंको भवनको जोशले मलाई खाएको छ, अनि तपाईंलाई निन्दा गर्नेहरूका निन्दा ममाथि आइपरेका छन्।
10. जब म रोएँ र उपवास बसेर मेरो प्राणलाई ताडना दिएँ, त्यो पनि मेरो निम्ति निन्दाको कारण बन्यो।
11. मैले भाङ्ग्राको लुगालाई आफ्नो वस्त्र बनाएँ, अनि म तिनीहरूका निम्ति दृष्टान्त बनेँ।
12. मूलढोकामा बस्नेहरू मेरो विरुद्धमा बोल्छन्, अनि म मतवालाहरूको गीत बनेँ।
13. तर म भने हे परमप्रभु, ग्रहणयोग्य समयमा तपाईंलाई प्रार्थना चढाउँछु, हे परमेश्वर, तपाईं कृपाको प्रशस्ततामा, तपाईंको उद्धारको सत्यतामा मेरो विन्ती सुन्नुहोस्।
14. मलाई दलदलमा डुब्नदेखि बचाउनुहोस्, मलाई घृणा गर्नेहरू र गहिरो पानीबाट छुटाउनुहोस्।
15. पानीको बाढ ममाथि नउर्लोस्, न त गहिरो पानीले मलाई निलोस्, अनि खाडलले आफ्नो मुख ममाथि बन्द नगरोस्।
16. हे परमप्रभु, मेरो विन्ती सुन्नुहोस्, किनकि तपाईंको करुणा महान् छ, तपाईंका कोमल कृपाको प्रशस्तताअनुसार मतिर फर्कनुहोस्,
17. तपाईंको मुहार आफ्नो दासदेखि नलुकाउनुहोस्, किनकि म कष्टमा छु, मलाई झट्टै जवाफ दिनुहोस्।
18. मेरो प्राणको नजिक आउनुहोस् र मेरो उद्धार गर्नुहोस्, मेरा शत्रुहरूको कारण मलाई छुटकारा दिनुहोस्।
19. तपाईंले मेरो निन्दा, मेरो सर्म र मेरो अनादर जान्नुभएको छ, मेरा विरोधीहरू सबै तपाईंकै सामु छन्।
20. निन्दाले मेरो मन भाँचेको छ र म धेरै खिन्न भएको छु, अनि मैले सहानुभूति देखाउने मानिसहरू खोजेँ, तर कोही थिएन, अनि मैले सान्त्वना दिने मानिसहरू खोजेँ, तर मैले कोही पाइनँ।
21. खानको निम्ति तिनीहरूले मलाई पित्त दिए र तिर्खा लाग्दा पिउनलाई तिनीहरूले मलाई सिर्का दिए।
22. तिनीहरूको भोजन तिनीहरूको सामु पासो बनोस् र तिनीहरूको सुख-विलास तिनीहरूको सामु धराप बनोस्।
23. तिनीहरूका आँखा धमिला होऊन् र तिनीहरूले नदेखून्, अनि तिनीहरूका कम्मर सधैँभरि कामिरहने बनाउनुहोस्।
24. तिनीहरूमाथि तपाईंले आफ्नो रिस खन्याउनुहोस् र तपाईंको क्रोधको ज्वालाले तिनीहरूलाई पक्रोस्।
25. तिनीहरूको वासस्थान उजाड होस् र तिनीहरूका तम्बुहरूमा कोही नबसोस्।
26. किनकि जसलाई तपाईंले हिर्काउनुभएको छ, उसैलाई तिनीहरू सताउँछन्, अनि जसलाई तपाईंले घायल पार्नुभएको छ, उनीहरूको पीडाका बारेमा तिनीहरू कुरा गर्छन्।
27. तिनीहरूको अधर्ममाथि अधर्म थपिदिनुहोस्, अनि तिनीहरूलाई तपाईंको धार्मिकतामा आउन नदिनुहोस्।
28. जीवनको पुस्तकबाट तिनीहरूको नाम मेटियोस् र धर्मीजनसँग तिनीहरूको नाम नलेखियोस्।
29. तर म त दु:खी र शोकित छु, हे परमेश्वर, तपाईंको उद्धारले मलाई सुरक्षित राख्नुहोस्।
30. भजन गाएर म परमेश्वरको नाउँको प्रशंसा गर्नेछु, र धन्यवाद दिँदै उहाँको बढाइँ गर्नेछु।
31. यस कुराले सिङ र खुर भएको साँढेले भन्दा परमप्रभुलाई बढी प्रसन्न गराउनेछ।
32. नम्रहरूले यो देख्नेछन् र रमाउनेछन्, अनि परमेश्वरको खोजी गर्नेहरू हो, तिमीहरूको हृदय बाँच्नेछ।
33. किनकि परमप्रभुले गरिबहरूको विन्ती सुन्नुहुन्छ र आफ्ना कैदीहरूलाई तुच्छ ठान्नुहुन्न।
34. आकाश र पृथ्वी, समुद्र र तिनमा चलहल गर्ने सबैले उहाँको प्रशंसा गरून्।
35. किनकि परमेश्वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका शहरहरू निर्माण गर्नुहुनेछ, यसैले कि उनीहरू त्यहाँ बसून् र त्यसमाथि आफ्नो अधिकार गरून्।
36. उहाँका दासहरूका सन्तानले पनि यसलाई अधिकारमा पार्नेछन्, अनि उहाँको नामलाई प्रेम गर्नेहरू पनि यसमा बसोबास गर्नेछन्।
|