1. हे परमप्रभु, म तपाईंमाथि भरोसा राख्छु, मलाई कहिल्यै सर्ममा पर्न नदिनुहोस्।
2. तपाईंको धार्मिकतामा मलाई छुटकारा दिनुहोस् र मलाई बचाउनुहोस्, आफ्नो ध्यान मतिर लगाउनुहोस् र मलाई उद्धार गर्नुहोस्।
3. मेरो बलियो शरणस्थान बन्नुहोस्, जहाँ म निरन्तर रहन पाऊँ, तपाईंले मलाई बचाउने आज्ञा दिनुभएको छ, किनकि तपाईं मेरो चट्टान र किल्ला हुनुहुन्छ।
4. हे मेरा परमेश्वर, दुष्ट, अधर्मी र निर्दयी मानिसको हातबाट मलाई बचाउनुहोस्।
5. किनभने हे परमप्रभु परमेश्वर, तपाईं नै मरो आशा हुनुहुन्छ, मेरो युवावस्थादेखि नै तपाईं मेरो भरोसा हुनुहुन्छ।
6. गर्भदेखि नै तपाईंले मलाई सम्हाल्नुभएको छ, तपाईंले नै मलाई मेरी आमाको पेटबाट निकाल्नुभएको हो, म निरन्तर तपाईंको स्तुति गरिरहनेछु।
7. धरैका निम्ति म तमासाजस्तै भएको छु, तर तपाईं नै मेरो बलियो शरणस्थान हुनुहुन्छ।
8. मेरो मुख दिनभरि तपाईंकै स्तुति र तपाईंकै महिमाले भरिएको होस्।
9. बूढेसकालमा मलाई नफाल्नुहोस्, मेरो बल घटेको बेलामा मलाई नत्याग्नुहोस्।
10. किनकि मेरा शत्रुहरू मेरो विरुद्धमा बोल्छन्, नि मेरो प्राण लिन ढुकेर बस्नेहरू ापसमा यसो भन्दै सल्लाह गर्छन्,
11. ‘‘परमेश्वरले त्यसलाई त्याग्नुभएको छ, त्यसलाई खेदेर समात, किनकि त्यसलाई छुटाउने कोही छैन।’’
12. हे परमेश्वर, मदेखि टाढा नहुनुहोस्, हे मेरा परमेश्वर, मेरा सहायताको निम्ति छिटो गर्नुहोस्।
13. तिनीहरू सर्ममा परून्, मेरो प्राणका विरोधीहरू भस्म होऊन्, मेरो हानि गर्न खोज्नेहरू निन्दा र अपमानले भरिऊन्।
14. तर म त निरन्तर आशा गर्नेछु, र झन् धेरै तपाईंको प्रशंसा गर्नेछु।
15. दिनभरि मेरो मुखले तपाईंको धार्मिकता र तपाईंको उद्धारको विषयमा बयान गर्नेछ, किनकि यसको परिमाण मलाई थाहा छैन।
16. म परमप्रभु परमेश्वरको बलमा जानेछु, म तपाईंको, अँ, केवल तपाईंको धार्मिकताको बारेमा बताउनेछु।
17. हे परमेश्वर, मेरो युवावस्थादेखि नै तपाईंले मलाई सिकाउनुभएको छ, अनि अहिलेसम्म नै मैले तपाईंका अचम्मका कार्यको घोषणा गरेको छु।
18. हे परमेश्वर, म वृद्ध हुँदा र कपाल फुले तापनि मलाई नत्याग्नुहोस्, जबसम्म यस पुस्ता र पछि आउने सबैलाई मैले तपाईंको शक्ति र सामर्थ्यको घोषणा गर्दिनँ।
19. हे परमेश्वर, तपाईंको धार्मिकता अति नै उच्च छ, जसले महान् काम गर्नुभएको छ, हे परमेश्वर, तपाईंजस्तो अरू को छ र !
20. तपाईं, जसले मलाई धेरै दु:ख र कष्ट देखाउनुभएको छ, मलाई पुनर्जीवित पार्नुहोस् र पृथ्वीका गहिराइदेखि फेरि माथि ल्याउनुहोस्।
21. तपाईंले मेरो महानता बढाउनुहुनेछ र चारैतिरबाट मलाई सान्त्वना दिनुहुनेछ।
22. हे मेरा परमेश्वर, म पनि सितार-बाजा बजाएर तपाईंको सत्यताको निम्ति तपाईंको प्रशंसा गर्नेछु, हे इस्राएलका पवित्र परमेश्वर, वीणा बजाएर म तपाईंको स्तुति गाउनेछु।
23. जब म तपाईंको स्तुुति गाउँछु, तब मेरा ओठ र मेरो प्राण, जसलाई तपाईंले उद्धार गर्नुभएको छ, ती अतिआनन्दित हुनेछन्।
24. दिनभरि नै मेरो जिब्रोले तपाईंको धार्मिकताको वर्णन गर्नेछ, किनकि मेरो हानि गर्न खोज्नेहरू लाज र अन्योलमा परेका छन्।
|