1. हे परमेश्वर, राजालाई तपाईंको न्याय र राजकुमारलाई तपाईंको धार्मिकता दिनुहोस्।
2. उनले तपाईंको प्रजालाई धार्मिकतासाथ र तपाईंका पीडित जनलाई न्यायपूर्वक इन्साफ गर्नेछन्।
3. पहाडहरूले मानिसहरूका निम्ति शान्ति र डाँडाहरूले धार्मिकता ल्याउनेछन्।
4. उनले मानिसहरूमध्येका गरिबलाई रक्षा गर्नेछन्, उनले दरिद्रहरूका सन्तानलाई बचाउनेछन् र थिचोमिचो गर्नेहरूलाई टुक्रा-टुक्रा पार्नेछन्।
5. पुस्ता-पुस्तासम्म, सूर्य र चन्द्रमा रहुन्जेल तिनीहरूले तपाईंको भय मान्नेछन्।
6. काटेको घाँसमाथि पर्ने बर्सात र पृथ्वीलाई भिजाउने झरीझैँ उनी ओर्लेर आउनेछन्।
7. उनको राज्यकालमा धर्मीहरूको फलिफाप हुनेछ, र चन्द्रमा रहुन्जेल प्रशस्त शान्ति हुनेछ।
8. उनले समुद्रदेखि समुद्रसम्म र नदीदेखि पृथ्वीको अन्तसम्म राज्य गर्नेछन्।
9. उजाडस्थानमा बस्नेहरू उनको अघि झुक्नेछन् र उनका शत्रुहरूले धुलो चाट्नेछन्।
10. तर्शीश र टाढाका सामुद्रिक किनारका राजाहरूले उपहार ल्याउनेछन्, शेबा र सेबाका राजाहरूले भेटी चढाउनेछन्।
11. अँ, सबै राजाहरूले उनलाई दण्डवत् गर्नेछन्, समस्त जातिले उनको सेवा गर्नेछन्।
12. किनकि दरिद्र मानिसले पुकार गर्दा उनले त्यसलाई छुटाउनेछन्, साथै असहाय गरिबलाई पनि छुटकारा दिनेछन्।
13. उनले कमजोर र दरिद्रलाई टिठयाउनेछन् र दरिद्रहरूका प्राण बचाउनेछन्।
14. उनले तिनीहरूका प्राणलाई छल र हिंसाबाट उद्धार गर्नेछन् र उनको दृष्टिमा तिनीहरूको रगत बहुमूल्य हुनेछ।
15. उनी जीवित रहनेछन् र उनलाई शेबाको सुन दिइनेछ, उनका निम्ति निरन्तर प्रार्थना पनि गरिनेछ र दिनहुँ उनको प्रशंसा गरिनेछ।
16. पृथ्वीमा, पहाडहरूको टाकुरामा प्रशस्त गरी अन्न हुनेछ, त्यसको फल लेबनानको देउदारुझैँ लहलह हुनेछ, अनि शहरकाहरू पृथ्वीका घाँसझैँ मौलाउनेछन्।
17. उनको नाउँ सदासर्वदा रहिरहनेछ, सूर्य रहुन्जेल उनको नाउँ निरन्तर रहनेछ, अनि मानिसहरू उनमा आशिषित हुनेछन्,सबै जातिले उनलाई धन्यको भन्नेछन्।
18. परमप्रभु परमेश्वर, इस्राएलका परमेश्वर धन्यका होऊन्, उहाँले मात्र अचम्मका काम गर्नुहुन्छ,
19. उहाँको महिमापूर्ण नाम सदासर्वदा धन्यको होस् र सम्पूर्ण पृथ्वी उहाँको महिमाले भरियोस्, आमेन, आमेन।
20. यिशैका छोरा दाऊदका प्रार्थना यहाँ समाप्त भयो। तेस्रो खण्ड (73-89)
|