1. साँच्चै इस्राएलको निम्ति परमेश्वर भलो हुनुहुन्छ, र उनीहरूको निम्ति जसको हृदय शुद्ध छ।
2. तर मेरा खुट्टा चिप्लनै आँटेका थिए, मेरा पाइलाले झन्डै बाटो बिराए।
3. किनकि जब मैले दुष्टहरूको उन्नति देखेँ, तब मैले ती मूर्खहरूलाई डाहा गरेँ।
4. किनकि तिनीहरूको मृत्युमा पीडा छैन, तिनीहरूका शरीर स्वस्थ र बलिया छन्।
5. अरू मानिसहरूझैँ तिनीहरू कष्टमा हुँदैनन्, न त अरू मानिसहरूमाथि झैँ तिनीहरूमाथि विपत्ति आइपर्छ।
6. यसैकारण अहङ्कार तिनीहरूको गलाको सिक्रीझैँ हुन्छ, वस्त्रले ढाकेझैँ तिनीहरूलाई हिंसाले ढाक्छ।
7. तिनीहरूका आँखा अहङ्कारले फुलेका छन्, तिनीहरूले आफ्नो हृदयमा षडयन्त्रका कुरा रच्छन्।
8. तिनीहरू ठट्टा गर्छन् र द्वेषपूर्ण कुरा गर्छन्, अनि तिनीहरू आफ्नो अहङ्कारमा अत्याचार गर्ने धम्की दिन्छन्।
9. तिनीहरूको मुखले स्वर्गको दाबी गर्छन्, र तिनीहरूको जिब्रोले पृथ्वीलाई अधिकार गर्छन्।
10. यसकारण तिनीहरूका मानिसहरू तिनीहरूतर्फ फर्कन्छन् र प्रशस्त पानी पिउँछन्।
11. तिनीहरू भन्छन्, ‘‘परमेश्वरले कसरी जान्नुहुन्छ र? अनि के सर्वोच्चमा ज्ञान छ र ?’’
12. हेर, दुष्टहरूले संसारमा उन्नति गर्छन् र धनसम्पत्ति बढाउँछन्।
13. साँच्चै मैले व्यर्थमा आफ्नो हृदय शुद्ध राखेको छु र निर्दोषतामा आफ्नो हात धोएको छु।
14. मैले दिनभरि नै विपत्ति भोगेको छु, हरेक बिहान मैले ताडना भोगेको छु।
15. म ‘‘यसरी बोल्नेछु’’ भनि मैले भनेको भए त, मैले तपाईंको सन्तानको पुस्तालाई विश्वासघात गरेको हुन्थेँ।
16. जब मैले यो कुरा जान्ने विचार गरेँ, तब यो मेरो दृष्टिमा धेरै गाह्रो काम थियो,
17. जबसम्म म परमेश्वरको पवित्रस्थानभित्र पसिनँ, तब मात्र मैले तिनीहरूको अन्त बुझेँ।
18. साँच्चै तपाईंले तिनीहरूलाई चिप्लने ठाउँहरूमा राख्नुभयो, तपाईंले तिनीहरूलाई विनाशमा फाल्नुभयो।
19. तिनीहरू कसरी क्षणभरमै विनाश भए ! आतङ्कित भएर तिनीहरू पूर्णरूपमा नष्ट भए।
20. जसरी बिउँझनेले सपनालाई तुच्छ ठान्छ, त्यसरी नै हे परमप्रभु, तपाईं बिउँझेपछि तिनीहरूको रूपलाई तुच्छ ठान्नुहुनेछ।
21. यसरी मेरो हृदय दु:खित भएको थियो, र म मेरो अन्तस्करणमा घोँचिएको थिएँ।
22. म कति मूर्ख र अन्जान थिएँ, म त तपाईंको सामु पशुसरह थिएँ।
23. तापनि म निरन्तर तपाईंसँग छु, तपाईंले मेरो दाहिने हात समात्नुभएको छ।
24. तपाईंले आफ्नो सल्लाहले मलाई अगुवाइ गर्नुहुनेछ र पछि मलाई हिमामा ग्रहण गर्नुहुनेछ।
25. स्वर्गमा तपाईंबाहेक मेरो अरू को छ र? अनि पृथ्वीमा पनि तपाईंबाहेक म अरू कसैलाई चाहँदिनँ।
26. मेरो शरीर र मेरो हृदय विफल हुन्छन्, तर परमेश्वर सदाकालको निम्ति मेरो हृदयको बल र मेरो भाग हुनुहुन्छ।
27. किनकि हेर्नुहोस्, तपाईंदेखि टाढा हुनेहरू नष्ट हुनेछन्, तपाईंप्रति विश्वासयोग्य नहुने सबैलाई तपाईंले नष्ट गर्नुभएको छ।
28. तर परमेश्वरको नजिक जानु नै मेरो निम्ति असल छ, तपाईंका सबै कामको घोषणा गरूँ भनी मैले परमप्रभु परमेश्वरमाथि आफ्नो भरोसा राखेको छु।
|