1. हे परमेश्वर, तपाईंले हामीलाई किन सधैँको निम्ति त्याग्नुभयो? तपाईंको खर्कका भेडाहरूको विरुद्धमा तपाईंको क्रोध किन दन्किन्छ?
2. तपाईंका मानिसहरूलाई सम्झनुहोस्, तपाईंले प्राचीनकालमा किन्नुभएका आफ्ना मानिसहरूको सम्झना गर्नुहोस्, जसलाई तपाईंले आफ्नो उत्तराधिकारको कुल हुनको निम्ति मोल तिरेर छुटाउनुभएको छ, त्यही सियोन पर्वत, जहाँ तपाईं वास गर्नुभएको छ।
3. आफ्ना पाइला यी अनन्त भग्नावशेषतिर बढाउनुहोस्, शत्रुहरूले पवित्रस्थानभित्र भएका सबै थोक नष्ट पारेका छन्।
4. तपाईंका मानिसहरूका बीचमा तपाईंका शत्रुहरू गर्जन्छन्, तिनीहरूले चिन्हको रूपमा आफ्ना झन्डाहरू खडा गरेका छन्।
5. मानिसले घना जङ्गल बन्चरोले नष्ट पारेझैँ, तिनीहरूले व्यवहार गरे।
6. तिनीहरूले आफ्नो बन्चरो र घनले बुट्टा काटेका सबै खापालाई चकनाचुर पारे।
7. तिनीहरूले तपाईंको पवित्रस्थानमा आगो लगाएका छन्, तिनीहरूले तपाईंको नाउँको वासस्थान अपवित्र पारेका छन्।
8. तिनीहरूले आफ्ना हृदयमा भनेँ, ‘‘हामी तिनीहरूलाई पूर्णरूपमा नष्ट गरौं।’’ तिनीहरूले देशमा भएका परमेश्वरका सबै सभाघर जलाइदिएका छन्।
9. हामी कुनै चिन्हहरू देख्दैनौं, अब कुनै अगमवक्ता बाँकी छैन र यस्तो अवस्थाकहिलेसम्म रहन्छ,त्यो हामीमध्ये कसैलाई थाहा छैन।
10. हे परमेश्वर, कहिलेसम्म विरोधीहरूले अपमान गर्लान्? के शत्रुले सदासर्वदा तपाईंको नामको निन्दा गर्नेछन्?
11. तपाईं किन आफ्नो बाहुली, आफ्नो दाहिने बाहुली खोकिलामा थामिराख्नुहुन्छ? त्यसलाई बाहिर निकाल्नुहोस् र तिनीहरूलाई नाश गर्नुहोस्।
12. किनकि प्राचीनकालदेखि नै परमेश्वर मेरा राजा हुनुहुन्छ, जसले पृथ्वीमा उद्धारका काम गर्नुहुन्छ।
13. तपाईंले आफ्नो सामर्थ्यले समुद्रलाई दुई भाग गर्नुभयो, तपाईंले समुद्रमा हुने अजिङ्गरको शिर कुच्च्याउनुभयो।
14. तपाईंले लिव्यातन् जलचरका शिरहरू टुक्रा-टुक्रा पार्नुभयो, तपाईंले त्यसलाई उजाडस्थानमा बस्ने जातिको निम्ति भोजन तुल्याउनुभयो।
15. तपाईंले पानीको मूल फुटाएर बाढ चलाउनुभयो, तपाईंले निरन्तर बगिरहने शक्तिशाली नदीहरू सुकाउनुभयो।
16. दिन तपाईंको हो, रात पनि तपाईंकै हो, तपाईंले सूर्य र चन्द्र स्थापित गर्नुभएको छ।
17. पृथ्वीका सबै साँधसिमाना तपाईंले लगाउनुभएको हो, ग्रीष्म र शिशिर ऋतु तपाईंले बनाउनुभएको हो।
18. हे परमप्रभु, सम्झिनुहोस्, शत्रुले तपाईंको अपमान गरेको छ, र मूर्ख मानिसहरूले तपाईंको नाउँको निन्दा गरेका छन्।
19. तपाईंको कुर्ले ढुकुरको प्राण दुष्टहरूको समूहलाई नसुम्पिनुहोस्, तपाईंले आफ्ना दु:खीहरूको समूहलाई कहिल्यै नबिर्सनुहोस्।
20. तपाईंका करारको मर्यादा कायम राख्नुहोस्, किनकि पृथ्वीका अँध्यारा ठाउँहरू हिंसाले भरिएका छन्।
21. थिचोमिचोमा परेकाहरू सर्ममा परेर नफर्कून्, दु:खी र दरिद्रहरूले तपाईंको नाउँको प्रशंसा गरून्।
22. हे परमेश्वर, उठ्नुहोस्, आफ्नो मुद्दाको आफै वकालत गर्नुहोस्, मूर्ख मानिसहरूले कसरी तपाईंलाई दिनहुँ अपमान गर्दछन्, सो सम्झनुहोस्।
23. तपाईंका विरोधीहरूको होहल्ला र तपाईंका शत्रुहरूको निरन्तर हुने खैलाबैला नभुल्नुहोस्।
|