1. मैले आफ्नो सोर उचालेर परमेश्वरलाई पुकारेँ, अँ, आफ्नो सोर उचालेर परमेश्वरलाई पुकारेँ, अनि उहाँले मतिर ध्यान दिनुभयो।
2. मेरो सङ्कष्टको दिनमा मैले परमप्रभुलाई खोजेँ, रातभरि नथाकी मैले मेरो हात पसारेँ, अनि मेरो प्राणले सान्त्वना ग्रहण गर्न मानेन।
3. मैले परमेश्वरलाई सम्झेँ र विचलित भएँ, मैले दु:ख पोखेँ र मेरो आत्मा व्याकुल भयो। सेला
4. तपाईंले मेरा आँखालाई जागै राख्नुभयो, म यति विचलित भएँ कि म बोल्नै सकिनँ।
5. मैले बितेका दिन र प्राचीनकालका वर्षहरूको बारेमा विचार गरेको छु।
6. राती म आफ्नो गीत सम्झन्छु, म मेरो हृदयसित बात गर्दछु, र मेरो आत्माले प्रयत्नसाथ खोज्यो।
7. के प्रभुले सधैँका निम्ति त्याग्नुहुनेछ? अनि के उहाँले फेरि कहिल्यै कृपा गर्नुहुनेछैन?
8. के उहाँको कृपा सदाको निम्ति मेटिएको छ? के उहाँको प्रतिज्ञा सदाका निम्ति भङ्ग हुन्छ?
9. के परमेश्वरले अनुग्रही हुन बिर्सनुभएको छ? के रिसाएर उहाँले आफ्नो कृपादृष्टि बन्द गर्नुभएको छ? सेला
10. अनि मैले भनेँ, ‘‘यो मेरो कमजोरी हो, तर म सर्वोच्चको दाहिने बाहुलीका वर्षहरू सम्झना गर्नेछु।
11. म परमप्रभुका कामहरू सम्झना गर्नेछु, साँच्चै म प्राचीनकालका तपाईंका अचम्मका कामहरू सम्झना गर्नेछु।
12. म तपाईंका सबै कामको मनन गर्नेछु, र तपाईंका कार्यहरूको विषयमा बताउनेछु।’’
13. हे परमेश्वर, तपाईंको मार्ग पवित्र छन्, हाम्रा परमेश्वरझैँ महान् ईश्वर अरू को छ र?
14. तपाईं अचम्मका कामहरू गर्नुहुने परमेश्वर हुनुहुन्छ, जाति-जातिका मानिसहरूको बीचमा तपाईंले आफ्नो सामर्थ्य प्रकट गर्नुभएको छ।
15. तपाईंले आफ्नै बाहुबलले आफ्ना जनलाई, याकूब र यूसुफका सन्तानलाई मोल तिरेर छुटकारा दिनुभएको छ। सेला
16. समुद्रले तपाईंलाई देखे, हे परमेश्वर, समुद्रले तपाईंलाई देखे र ती डराए, गहिरा सागर कम्पायमान भयो।
17. बादलले पानी बर्सायो, आकाश गर्ज्यो, तपाईंका काँडहरू चम्कँदै चारैतिर गए।
18. तपाईंको गर्जनको आवाज आँधीबेहरीसहित सुनियो,बिजुली चम्केर संसारलाई उज्यालोपार्यो, पृथ्वी काम्यो र हल्लियो।
19. तपाईंको मार्ग समुद्र र महासागरमा थियो, तर तपाईंका पाइलाका पदचिन्हहरू थाहा पाईंदैन।
20. मोशा र हारूनका हातद्वारा तपाईंले आफ्ना जनलाई भेडाको बगाललाई जस्तै अगुवाइ गर्नुभयो।
|