1. हे मेरा मानिसहरू, मेरो व्यवस्थातिर ध्यान देऊ, मेरो मुखका वचनतिर आफ्नो ध्यान देऊ।
2. म मेरो मुख दृष्टान्तमा खोल्नेछु, प्राचीनकालका पहेलीहरू म बताउनेछु,
3. जो हामीले सुनेका र जानेका छौं, अनि हाम्रा पिता-पुर्खाले हामीलाई बताएका छन्।
4. हामी यी कुरा उनीहरूका सन्तानबाट लुकाउनेछैनौं, आउँदो पुस्तालाई परमप्रभुका स्तुतिगान, उहाँको सामर्थ्य र उहाँले गर्नुभएका अचम्मका कामहरूको वर्णन गर्नेछौं।
5. किनकि उहाँले याकूबमा एउटा साक्षी खडा गर्नुभयो र इस्राएलमा एउटा व्यवस्था स्थापित गर्नुभयो, हाम्रा पिता-पुर्खाले यी कुरा आफ्ना सन्तानलाई जनाऊन् भनेर उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो,
6. जसले गर्दा आउँदो पुस्ता अर्थात् भविष्यमा जन्मने सन्तानले यी कुरा जानून् र खडा भएर तिनीहरूका सन्तानलाई बताऊन्,
7. तिनीहरूले परमेश्वरमाथि आफ्नो भरोसा राखून् र परमेश्वरका कामहरू नबिर्सून्, तर उहाँका आज्ञाहरू पालन गरून्,
8. तिनीहरू आफ्ना पिता-पुर्खाझैँ हठी र विद्रोही पुस्ता नबनून्, जो यस्तो पुस्ता थियो, जसले आफ्नो हृदय ठीक राखेन, र जसको आत्मा परमेश्वरप्रति विश्वासयोग्य रहेन।
9. एफ्राइमका सन्तान हतियार भिर्ने र धनु बोक्नेहरू थिए, तापनि युद्धको दिनमा पछि हटे।
10. तिनीहरूले परमेश्वरको करार पालन गरेनन् र उहाँको व्यवस्थाअनुसार हिँड्न इन्कार गरे,
11. तिनीहरूले उहाँका काम र उहाँले तिनीहरूलाई देखाउनुभएका उहाँका अचम्मका कामहरू बिर्से।
12. तिनीहरूका पिता-पुर्खाका नजरको सामुन्ने उहाँले मिश्रदेश र सोअनको मैदानमा अचम्मका कामहरू गर्नुभयो।
13. उहाँले समुद्रलाई दुई भाग पार्नुभयो, र उनीहरूलाई पारि लैजानुभयो, अनि उहाँले पानीलाई पर्खालझैँ खडा गर्नुभयो।
14. दिनमा उहाँले उनीहरूलाई बादल र रातभरि आगोको प्रकाशले डोर्याउनुभयो।
15. उहाँले उजाडस्थानमा चट्टानलाई दुई फ्याक पार्नुभयो र समुद्रबाट दिएजस्तै गरी उनीहरूलाई प्रशस्त पानी पिउन दिनुभयो।
16. अनि उहाँले चट्टानबाट खोला निकाल्नुभयो र नदीझैँ पानी बगाउनुभयो।
17. तापनि उजाडस्थानमा सर्वोच्चलाई रिस उठाएर उनीहरूले उहाँको विरुद्धमा झन् धेरै पाप गरे।
18. आफ्नो अभिलाषाको निम्ति खानेकुरा मागेर उनीहरूले आफ्नो हृदयमा परमेश्वरलाई परीक्षा गरे।
19. अँ, उनीहरूले परमेश्वरको विरुद्धमा यस्तो वचन बोले, ‘‘के परमेश्वरले उजाडभूमिमा खानेकुरा दिन सक्नुहुन्छ र?
20. हेर, उहाँले चट्टानलाई हिर्काउनुभयो र पानी फुटेर निस्क्यो, अनि खोलाहरू बढेर आए, के उहाँले रोटी पनि दिन सक्नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूका निम्ति मासु जुटाउन सक्नुहुन्छ?’’
21. यसैकारण जब परमप्रभुले यो सुन्नुभयो, तब उहाँ रिसाउनुभयो र याकूबको विरुद्धमा आगो सल्क्यो, अनि इस्राएलको विरुद्धमा क्रोध पनि दन्क्यो,
22. किनकि उनीहरूले परमेश्वरमा विश्वास गरेनन् र उहाँको उद्धारमा भरोसा राखेनन्,
23. तापनि उहाँले आकाशलाई हुकुम गर्नुभयो र स्वर्गका ढोकाहरू खोलिदिनुभयो,
24. खानको निम्ति उनीहरूमाथि मन्न बर्साउनुभयो र उनीहरूलाई स्वर्गको अन्न दिनुभयो।
25. मानिसहरूले स्वर्गदूतहरूको भोजन खाए, उहाँले उनीहरूलाई प्रशस्त खानेकुरा पठाउनुभयो।
26. आकाशमा उहाँले पूर्वीय बतास छोड्नुभयो, अनि आफ्नो शक्तिद्वारा उहाँले दक्षिणी बतास ल्याउनुभयो।
27. उहाँले उनीहरूमाथि धुलोसरह मासु र समुद्रको बालुवासरह उड्ने पक्षीहरू बर्साउनुभयो,
28. अनि उहाँले यी पक्षीलाई उनीहरूका छाउनीको बीचमा र उनीहरूका वासस्थानहरूको वरिपरि झार्नुभयो।
29. तब उनीहरूले खाए र तृप्त भए, किनकि उहाँले उनीहरूलाई उनीहरूको इच्छाबमोजिम दिनुभयो।
30. उनीहरू आफ्नो इच्छाबाट अलग भएनन्, उनीहरूको खाना अझै पनि उनीहरूकै मुखमा थियो,
31. परमेश्वरको क्रोध उनीहरूमाथि दन्क्यो, र उहाँले उनीहरूमध्ये बलवानहरूलाई मार्नुभयो अनि इस्राएलका चुनिएका मानिसहरूलाई प्रहार गर्नुभयो।
32. यति हुँदा पनि उनीहरूले अझै पाप गरिरहे र उहाँका अचम्मका कामहरूमा विश्वास गरेनन्।
33. यसकारण उहाँले उनीहरूका दिनहरू व्यर्थतामा र उनीहरूका वर्षहरू कष्टमय तुल्याउनुभयो।
34. जब उहाँले उनीहरूलाई प्रहार गर्नुभयो, तब उनीहरूले उहाँको खोजी गरे, तब उनीहरू फर्के र परमेश्वरको खोजी गरे।
35. अनि परमेश्वर हाम्रा चट्टान हुनुहुँदो रहेछ र सर्वोच्च परमेश्वर हाम्रा उद्धारक हुनुहुँदो रहेछ भनी उनीहरूले सम्झे।
36. तैपनि उनीहरूले आफ्ना मुखले उहाँलाई चापलुसी गरे र जिब्रोले उहाँसित झुट बोले,
37. किनकि उनीहरूको हृदय उहाँप्रति ठीक थिएन, न त उनीहरू उहाँको करारप्रति विश्वासयोग्य थिए।
38. तर उहाँले दयाले भरपुर भएर उनीहरूको अधर्म क्षमा गर्नुभयो, र उनीहरूलाई नष्ट गर्नुभएन, उहाँले धेरैपटक आफ्नो रिस थाम्नुभयो, र आफ्नो सबै क्रोध दन्कन दिनुभएन।
39. किनकि उनीहरू त मानिस मात्र हुन्, बहेर जाने र फेरि नफर्कने हावाजस्तै हुन् भनी उहाँले सम्झनुभयो।
40. कतिपल्ट उनीहरूले उहाँलाई उजाडस्थानमा रिस उठाए र मरुभूमिमा उहाँलाई शोकित तुल्याए !
41. तिनीहरूले बारम्बार परमेश्वरको परीक्षा गरे र इस्राएलका परमपवित्रलाई तिनीहरूले सीमित तुल्याए।
42. उनीहरूले उहाँको शक्तिको सम्झना गरेनन्, न त त्यो दिन सम्झे, जुन दिन उहाँले उनीहरूलाई शत्रुबाट छुटाउनुभएको थियो,
43. उहाँले मिश्रदेशमा आफ्ना चिन्ह र सोअनको मैदानमा आफ्ना अचम्मका कामहरू देखाउनुभएको थियो,
44. अनि उहाँले उनीहरूका नदी र खोलाहरूलाई रगतमा परिवर्तन गर्नुभयो र उनीहरूले त्यो पिउन सकेनन्।
45. उहाँले उनीहरूका बीचमा झिँगाहरूको हुल पठाउनुभयो, जसले उनीहरूलाई टोके र उहाँले भ्यागुताहरू पठाउनुभयो, जसले उनीहरूलाई उजाड पारे।
46. उहाँले उनीहरूका फसल फटेङ्ग्राहरूलाई दिनुभयो र उनीहरूका परिश्रमको फल सलहलाई दिनुभयो।
47. उहाँले उनीहरूका अङ्गुरका बोटहरू असिना र उनीहरूका नेभाराका रूखहरू तुसारोले नष्ट पार्नुभयो।
48. उहाँले उनीहरूका गाईवस्तुको बथानलाई असिना र उनीहरूका भेडाबाख्राका बगाललाई चटयाङ्गले प्रहार गर्नुभयो।
49. उहाँले उनीहरूको बीचमा दुष्ट दूतहरू पठाएर उनीहरूमाथि आफ्नो क्रोध, रिस, रोष र सङ्कष्ट खन्याउनुभयो।
50. उहाँले आफ्नो क्रोधको मार्ग तयार गर्नुभयो, उहाँले उनीहरूको प्राणलाई मृत्युबाट बचाउनुभएन, तर उनीहरूका प्राण महामारीलाई सुम्पनुभयो,
51. र मिश्रदेशका सबै ज्येष्ठ सन्तानलाई, हामका तम्बुमा उनीहरूको पुरुषार्थको पहिलो फललाई मार्नुभयो।
52. तर आफ्ना जनलाई उहाँले भेडाहरूलाई झैँ निकालेर लैजानुभयो र उजाडस्थानमा उनीहरूलाई भेडाबाख्राको बगाललाई झैँ अगुवाइ गर्नुभयो।
53. उनीहरू नडराऊन् भनी उहाँले उनीहरूलाई सुरक्षासाथ डोर्याउनुभयो, तर उनीहरूका शत्रुहरूलाई समुद्रले निल्यो।
54. उहाँले उनीहरूलाई आफ्नो पवित्रस्थानको सिमानामा ल्याउनुभयो, त्यही पहाडमा, जुन उहाँले आफ्नो दाहिने बाहुलीले जित्नुभएको थियो।
55. उहाँले जाति-जातिलाई उनीहरूकै सामु लखेट्नुभयो र भाग-भाग गरेर उनीहरूको अधिकारको भाग बाँडिदिनुभयो, अनि इस्राएलका कुलहरूलाई उनीहरूको तम्बुहरूमा बसाल्नुभयो।
56. तापनि उनीहरूले सर्वोच्च परमेश्वरलाई परीक्षा गरेर रिस उठाए, अनि उहाँका करारको साक्षी पालन गरेनन्,
57. तर उनीहरूका पिता-पुर्खाझैँ पछि हटेर विश्वासघात गरे, उनीहरू धोका दिने धनुझैँ अर्कातिर लागे।
58. किनकि उनीहरूले आफ्ना डाँडाका थानहरूद्वारा उहाँलाई रिस उठाए, र आफ्ना कुँदिएका आकृतिहरूद्वारा उहाँलाई ईर्ष्यालु बनाए।
59. जब परमेश्वरले यो सुन्नुभयो, तब उहाँ रिसाउनुभयो र इस्राएललाई साह्रै घृणा गर्नुभयो।
60. यसकारण उहाँले शीलोमा भएको पवित्र वासस्थानलाई त्याग्नुभयो, त्यो पाल, जो उहाँले मानिसहरूका बीचमा राख्नुभएको थियो,
61. र आफ्नो सामर्थ्य कैदमा र आफ्नो महिमा शत्रुको हातमा सुम्पिदिनुभयो।
62. उहाँले आफ्ना मानिसहरू तरवारलाई सुम्पनुभयो र आफ्नो हकको उत्तराधिकारसित क्रोधित हुनुभयो।
63. आगोले उनीहरूका जवानहरूलाई भस्म पार्यो, अनि उनीहरूका कन्याहरूले विवाहको दिन देख्न पाएनन्।
64. उनीहरूका पूजाहारीहरू तरवारले मारिए, अनि उनीहरूका विधवाहरूले विलाप गर्न पाएनन्।
65. तब परमप्रभु निद्राबाट बिउँझनेझैँ, मद्यको कारण कराउने शक्तिशाली मानिसझैँ बिउँझनुभयो।
66. तब उहाँले आफ्ना शत्रुहरूलाई पिठयुँमा प्रहार गर्नुभयो, उहाँले उनीहरूलाई सदासर्वदा निन्दामा पार्नुभयो।
67. यसबाहेक उहाँले योसेफको तम्बुलाई इन्कार गर्नुभयो, र एफ्राइमको कुललाई छान्नुभएन,
68. तर उहाँले यहूदाको कुललाई छान्नुभयो, जो सियोन पर्वत हो, त्यसलाई उहाँले प्रेम गर्नुभयो।
69. उहाँले आफ्नो पवित्रस्थान उच्चस्थानमा झैँ बनाउनुभयो, र पृथ्वीजस्तै, जो उहाँले सदाको लागि स्थापित गर्नुभएको छ।
70. उहाँले आफ्नो दास दाऊदलाई पनि चुन्नुभयो, र भेडाहरूका गोठबाट उनलाई निकाल्नुभयो,
71. भेडाहरूको देखरेख गर्ने कामबाट उहाँले दाऊदलाई याकूबका सन्तान र आफ्नो उत्तराधिकार इस्राएलको गोठालो हुन ल्याउनुभयो।
72. यसकारण उनले उनीहरूलाई आफ्नो हृदयको इमानदारिसाथ देखरेख गरे र आफ्ना हातको निपुणताले उनीहरूलाई अगुवाइ गरे।
|