1. हे परमेश्वर, जाति-जातिहरू तपाईंको उत्तराधिकारभित्र पसेका छन्, उनीहरूले तपाईंको पवित्र मन्दिरलाई अशुद्ध पारेका छन्, उनीहरूले यरूशलेमलाई संहार पारेका छन्।
2. तिनीहरूले तपाईंका दासहरूका शव आकाशका चराचुरुङ्गीलाई, र तपाईंका पवित्रजनको मासु पृथ्वीका पशुहरूलाई आहारको रूपमा दिएका छन्।
3. तिनीहरूले उनीहरूको रगत यरूशलेमको चारैतिर पानीझैँ बगाएका छन्, र उनीहरूलाई गाड्ने कोही छैन।
4. हाम्रा छरछिमेकका सामु हामी निन्दाको कारण भएका छौं, हाम्रा चारैतिर रहनेहरूका निम्ति हामी गिल्ला र ठट्टाका पात्रहरू भएका छौं।
5. हे परमप्रभु, कहिलेसम्म? के तपाईं सधैँभरि रिसाउनुहुन्छ? के तपाईंको डाह आगोझैँ दन्किरहनेछ?
6. ती जाति जसले तपाईंलाई स्वीकार गर्दैनन्, ती राज्य जसले तपाईंलाई पुकार्दैनन्, तिनीहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस्।
7. किनकि तिनीहरूले याकूबलाई निलेका छन् र उनको वासस्थान उजाड पारेका छन्।
8. हाम्रा पिता-पुर्खाका पापको लेखा हामीहरूसँग नलिनुहोस्, तपाईंको कृपा चाँडै हामीकहाँ आइपुगोस्, किनकि हामी साह्रै खाँचोमा छौं।
9. हे हाम्रा उद्धारका परमेश्वर, आफ्नो नामको महिमाको खातिर हामीलाई सहायता गर्नुहोस् र आफ्नो नामको खातिर हामीलाई छुटाउनुहोस्, र हाम्रा पाप क्षमा गरिदिनुहोस्।
10. जाति-जातिले किन यसो भनून्, ‘‘तिमीहरूको परमेश्वर कहाँ छ?’’ तपाईंका सेवकहरूको रक्तपात गर्ने हाम्रा वरिपरिका जाति-जातिलाई बदला लिएको हामी देख्न पाऊँ।
11. कैदीको सुस्केरा तपाईंको सामु पुगोस्, तपाईंको सामर्थ्यको महानताअनुसार मारिनका निम्ति नियुक्त भएकाहरूलाई जोगाउनुहोस्,
12. हे परमप्रभु, जुन निन्दाले हाम्रा छरछिमेकले तपाईंको निन्दा गरेका छन्, त्यही निन्दाको सात गुणा धेरै तिनीहरूका छातीमा हालिदिनुहोस्।
13. यसकारण हामी, तपाईंका जन र तपाईंका खर्कका भेडाहरू सदासर्वदा तपाईंलाई धन्यवाद चढाउनेछौं, पुस्ता-पुस्तासम्म हामी तपाईंको प्रशंसाको घोषणा गर्नेछौं।
|