1. हे इस्राएलका गोठाला, तपाईं जसले यूसुफलाई भेडाबाख्राको बगाललाई झैँ अगुवाइ गर्नुहुन्छ, ध्यान दिनुहोस्, तपाईं, जो करूबहरूको बीचमा बस्नुहुन्छ, प्रकाशमान हुनुहोस्।
2. एफ्राइम, बेन्यामीन र मनश्शेको सामुन्ने आफ्नो सामर्थ्य जगाउनुहोस्, अनि आउनुहोस् र हामीलाईबचाउनुहोस्।
3. हे परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस्, अनि आफ्नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बाँच्नेछौं।
4. हे सेनाहरूका परमप्रभु परमेश्वर, आफ्नो जनको प्रार्थनाको विरुद्धमा तपाईं कहिलेसम्म रिसाउनुहुनेछ?
5. तपाईंले तिनीहरूलाई आँसुको रोटी खुवाउनुहुन्छ र तिनीहरूलाई प्रशस्त मात्रामा आँसु पिउन दिनुहुन्छ।
6. तपाईंले हामीलाई हाम्रा छरछिमेकको निम्ति झगडाको कारण तुल्याउनुहुन्छ, अनि हाम्रा शत्रुहरू हामीलाई खिसी गरेर हाँस्छन्।
7. हे सेनाहरूका परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस्, अनि आफ्नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बाँच्नेछौं।
8. तपाईंले मिश्रदेशबाट एउटा अङ्गुरको बोट ल्याउनुभयो, तपाईंले जातिजातिलाई लखेट्नुभयो र यसलाई रोप्नुभयो।
9. तपाईंले यसको सामु ठाउँ तयार पार्नुभयो र यसलाई गहिरो जरा हाल्न दिनुभयो, अनि यो देशभरि फैलियो।
10. यसको छायाँले पहाडहरू ढाकिए र यसका हाँगाहरू ठूल्ठूला देवदारुझैँ भए।
11. त्यसका हाँगाहरू समुद्रसम्म गए, अनि त्यसका मुनाहरू नदीसम्मै फैलिए।
12. के त्यहाँबाट भएर जाने सबैले यसलाई टिपून् भनेर तपाईंले यसका पर्खालहरू भत्काइदिनुभएको हो?
13. जङ्गलको बँदेलले यसलाई उजाड पार्छ, र वनको जङ्गली पशुले यसलाई निल्छ।
14. हे सेनाहरूका परमेश्वर, हामी तपाईंलाई विन्ती गर्छौं, फर्कनुहोस्, स्वर्गबाट तल हेर्नुहोस्, अनि यस अङ्गुरको बोटको हेरचाह गर्नुहोस्,
15. तपाईंको आफ्नो दाहिने बाहुलीले रोप्नुभएको त्यस बिरुवाको, त्यस छोराको, जसलाई तपाईंले आफ्नो लागि हुर्काउनुभएको छ, त्यसलाई बलियो पार्नुहोस्।
16. यो आगोले जल्यो, यो काटियो, तपाईंको मुहारको हप्कीले ती नष्ट हुँदै छन्।
17. तपाईंको दाहिनेपट्टिको मानिसमाथि तपाईंको हात रहोस्, त्यो मानिसको पुत्रमाथि जसलाई तपाईंले आफ्नो निम्ति खडा गर्नुभएको छ।
18. तब हामी तपाईंबाट कहिल्यै पिठयुँ फर्काउनेछैनौं, हामीलाई पुनर्जागृत पार्नुहोस् र हामी तपाईंको नाउँ पुकार्नेछौं।
19. हे सेनाहरूका परमप्रभु परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस्, अनि आफ्नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बाँच्नेछौं।
|