1. परमेश्वरको निम्ति आनन्दले गाओ, उहाँ हाम्रो शक्ति हुनुहुन्छ, उच्च सोरले याकूबका परमेश्वरको जयजयकार गर।
2. भजन गाओ र खैँजडी बजाओ, सारङ्गीको साथ मीठो बज्ने वीणा बजाओ।
3. औंसीको दिन र पूर्णिमा अनि हाम्रो ठूलो चाडको दिनमा तुरही बजाओ।
4. किनकि यो इस्राएलको निम्ति एउटा विधि र याकूबका परमेश्वरको यो एउटा व्यवस्था हो।
5. मिश्रदेशबाट भएर जानुहुँदा उहाँले यो योसेफमा साक्षी ठहराउनुभयो, जहाँ मैले एउटा भाषा सुनेँ, त्यो मैले बुझिनँ।
6. मैले तिनीहरूका काँधबाट भारी हटाएँ, उसका हातहरू टोकरीहरूबाट छुटाएँ।
7. सङ्कष्टमा तिमीले पुकार्यौ र मैले तिमीलाई छुटाएँ, गर्जनको गुप्त स्थानबाट मैले तिमीलाई जवाफ दिएँ, मेरीबाको पानीमा मैले तिम्रो जाँच गरेँ। सेला
8. ‘‘हे मेरो प्रजा, सुन, तिम्रो विषयमा म साक्षी दिनेछु, हे इस्राएल, तिमीले मेरो कुरा सुन्यौं भने,
9. तिमीहरूको बीचमा कुनै पराई देउता नहोस्, न त तिमीले कुनै पराई देउतालाई दण्डवत् गर्नू।
10. म परमप्रभु, तिम्रो परमेश्वर हुँ, जसले तिमीलाई मिश्रदेशबाट निकालेर ल्याएको छ, आफ्नो मुख पूरा खोल र म त्यो भरिदिनेछु।
11. ‘‘तर मेरो प्रजाले मैले भनेको सुनेन, र इस्राएलले मेरो अधीनमा रहन मानेन।
12. यसकारण मैले उनीहरूलाई उनीहरूकै हृदयको अभिलाषामा छोडिदिएँ, र उनीहरू आफ्नै सल्लाहअनुसार हिँडे।
13. ‘‘मेरो प्रजाले मेरो कुरा सुनेको भए त ! इस्राएलले मेरो मार्गमा हिँडेको भए त,
14. चाँडै म उनीहरूका शत्रुहरूलाई दबाउने थिएँ र उनीहरूका विरोधीहरूको विरुद्धमा मेरो हात उठाउने थिएँ !
15. परमप्रभुलाई घृणा गर्नेहरूले आफूलाई उहाँकै अधीनतामा सुम्पिने थिए, तर उनीहरूको दण्डको समय सदासर्वदा रहिरहनेथियो।
16. अनि उहाँले उनीहरूलाई सबैभन्दा उत्तम गहुँ खुवाउनुहुनेथ्यो, अनि चट्टानबाटको महले म तिमीलाई तृप्त पार्ने थिएँ।’’
|