1. हे परमेश्वर, तपाईं चुप नरहनुहोस्, हे परमेश्वर, चुपचाप नबस्नुहोस्, र शान्त नरहनुहोस्।
2. किनकि हेर्नुहोस्, तपाईंका शत्रुहरू हुलदङ्गा मच्चाउँछन्, अनि तपाईंलाई घृणा गर्नेहरूले आफ्नो शिर ठाडो पारेका छन्।
3. तिनीहरूले तपाईंको प्रजाको विरुद्धमा छलपूर्ण सल्लाह गरेका छन् र तपाईंले कदर गरेका विरुद्धमा षडयन्त्र रचेका छन्।
4. तिनीहरूले भनेका छन्, ‘‘आओ, हामी उनीहरूको जातिलाई नाश गरौं, जसले गर्दा इस्राएल भन्ने नाउँको सम्झना नै नरहोस्।’’
5. किनकि तिनीहरूले एउटै मनको भएर षडयन्त्र रचेका छन्, तिनीहरू तपाईंको विरुद्धमा एक भएका छन्,
6. एदोम र इश्माएलका निवासीहरू, मोआबीहरू र हग्री,
7. गबाली, अम्मोनी, अमालेकी, पलिश्ती र टुरोसका निवासीहरू,
8. अश्शूर पनि तिनीहरूसँग मिलेको छ। तिनीहरूले लूतका सन्तानलाई सहायता गरेका छन्। सेला
9. किशोनको खोलामा मिद्यानी, सीसरा र याबीनलाई गरेजस्तै तिनीहरूसित व्यवहार गर्नुहोस्,
10. तिनीहरू एन्दोरमा नष्ट भए र जमिनका फोहोरसरि भए।
11. तिनीहरूका भारादारहरूलाई ओरेब र जएबझैँ अनि तिनीहरूका सबै राजकुमारलाई जेबह र सल्मुन्नाझैँ बनाउनुहोस्,
12. जसले भनेका थिए, ‘‘परमेश्वरका खर्कमा हामी आफ्नो अधिकार जमाऔं।’’
13. हे मेरा परमेश्वर, तिनीहरूलाई भुमरीको धुलोजस्तो र बतासले उडाएको भुसझैँ तुल्याउनुहोस्।
14. जसरी आगोले जङ्गल भस्म पार्छ, र ज्वालाले पहाडहरू जलाइदिन्छ,
15. त्यसरी नै तपाईंको आँधीले खेद्नुहोस्, र तपाईंको आँधीबेहरीले तिनीहरूलाई भयभीत पार्नुहोस्।
16. तिनीहरूका मुहार सर्मले भरिदिनुहोस्, जसले गर्दा हे परमप्रभु, तिनीहरूले तपाईंको नाउँको खोजी गरून्।
17. तिनीहरू सदासर्वदा अन्योल र सङ्कष्टमा परून्, तिनीहरू सर्ममा परून् र नष्ट होऊन्,
18. जसले गर्दा तपाईंको नाउँ मात्र परमप्रभु हो र तपाईं सम्पूर्ण पृथ्वीमाथि सर्वोच्च हुनुहुन्छ भनी मानिसहरूले जानून्।
|